काठमाडौं । पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको आरोपमा पूर्वमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री कार्की सहित १४ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
भ्रष्टाचारमा को को मुछिए ?
- ज्ञानेन्द्रबहादुर कार्की, तत्कालिन अर्थमन्त्री
- शंकरप्रसाद अधिकारी अर्थसचिव,
- महेश्वर न्यौपाने, तत्कालीन पर्यटन सचिव
- सुरेश आचार्य, तत्कालीन सहसचिव
- दुण्डुराज घिमिरे, तत्कालीन सहसचिव
- केवल भण्डारी, पूर्वसचिव (तत्कालीन सहसचिव)
- सञ्जिव गौतम, तत्कालिन महानिर्देशक, नागरिक उड्डयन प्राधिकरण
- प्रदीप अधिकारी, निवर्तमान महानिर्देशक नागरिक उड्डयन प्राधिकरण
- युवराज पाण्डे, उपसचिव
- उर्मिला भण्डारी, शाखा अधिकृत
- योगेश अर्याल, इन्जिनियर
बिहीवार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सहज ढंगले संचालनमा ल्याउन माग उठेको थियो ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विना गुरुङले विमानस्थल सहज ढंगले संचालनमा ल्याउन माग गरेकी थिइन् । संसदीय समितिमा विमानस्थल सहज सञ्चालन गर्न आवाज उठिरहेकै बेला अख्तियारले तेस्रो पटक भ्रष्टाचार मुद्दा दायर गरेको हो । ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदारलाई राजश्व छुट दिएर भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले आरोपपत्र पेश गरेको छ ।
अख्तियारले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरेर मुद्दा दायर गरेको छ । अख्तियारले चिनियाँ कम्पनी सीएएमसी त्यसका अध्यक्ष र परियोजन व्यवस्थापक अनि कम्पनी म्यानेजरलाई समेत मुद्दा चलाएको छ ।
यसअघि गत २१ मंसिरमा पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियारले गत चैत ८ गते पनि दोस्रो मुद्दा दायर गरेको थियो ।
