News 24 Television
लघुकथाकार महेन्द्र नेउपानेको 'चुनावी सेरोफेरो' विमोचित

भक्तपुर । लघुकथाका स्रष्टा महेन्द्र नेउपानेको दोस्रो लघुकथासङ्ग्रह चुनावी सेरोफेरोको विमोचन कार्यक्रम सम्पन्न भएको छ । 

चैत्र २१ गते शनिवार भक्तपुरमा सिर्जना अभियान समाजद्वारा आयोजित विमोचन कार्यक्रमका सभाध्यक्ष ध्रुव मधिकर्मी, प्रमुख अतिथि डा. पुष्करराज भट्ट,  विशिष्ट अतिथिद्वय डा. हरिप्रसाद भण्डारी र लता के.सी. एवं कृतिकार नेउपानेले लघुकथा गान  बजाउँदै  कृतिको सामूहिक विमोचन गरेका हुन् । 

 कार्यक्रममा प्रमुख अतिथि भट्टले वर्तमान समयमा देखा परेका लघुकथाको प्रवत्तिबारे चर्चा गर्दै हिजोआज एकल विषयमा लघुकथाकृति लेखिने प्रचलन बढेको बताए । साथै यस्ता कृतिले वर्तमान समयको अभिव्यक्ति प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

कृतिको विमोचनपश्चात् विशिष्ट अतिथि डा. भण्डारीले कृतिकारलाई शुभकामना दिँदै विमोचित कृतिमाथि संक्षिप्त  समीक्षा गरे । चुनावी सेरोफेरो लघुकथाकृतिको नाम  सार्थक रहेको, निर्वाचन २०८२ को दौरानमा घटेका यावत् घटना र विषयलाई  कृतिकारले संक्षिप्तरुपमा रोचक र मिठासपूर्णरूपमा  लघुकथाहरू उनेको,  लघुकथाका शीर्षकहरू सन्दर्भिक रहेको,  आवश्यक पात्रहरूको सिर्जना गरिएको बताए । विमोचित कृतिमा समेटिएका लघुकथाहरूमा लघुकथाका  नवीतम् मान्यतामा  आधारित रहेर  व्यङ्यभाव , प्रतीक,  स्वैरकल्पना र संवादको प्रयोग , मीठो र सरल  भाषा ,राम्रो परिवेशमा लघुकथाहरू बुनिएको  भाव व्यक्त गरे ।

कार्यक्रममा विशिष्ट अतिथि केसीले कृतिकारको लेखनकला र शैलीलाई नजिकबाट हेरिरहेको बताउँदै  छोटो समयमा दुईवटा कृति प्रकाशन गर्नु महत्वपूर्ण कार्य रहेकाे बताइन् ।

 कृतिकारले कृतिको गर्भ र पृष्ठभूमिबारे औँल्याए । चुनाव घोषणा भएदेखि मतदानको दिनसम्म ५५ दिनमा लेखिएका   ५९ लघुकथाहरू भविष्यका लागि दस्तावेज बनुन् भन्ने अभिप्रायले  कृति प्रकाशन गरेको बताए र  पाठक प्रतिक्रियाको अपेक्षा राखे । साथै  लेखन , प्रकाशन र विमोचनसम्मको यात्रामा  साथ  र सहयोग दिने सबैलाई धन्यवादसहित्  मायाको चिनो प्रदान गरे । 

सो विमोचन कार्यमा विमोचित कृतिबाट शान्ता तिम्सिनाले मातृभूमि र प्रार्थना  खनालले वेदना शीर्षकको लघुकथा वाचन गरे ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष मधिकर्मीले कृतिभित्र समेटिएका लघुकथाहरू चुनावी माहौलसंग मात्र नजोडिएर आज र भोलिको समय पनि जोडेको विश्वास व्यक्त गरे । आयोजकका तर्फबाट सभाध्यक्षले कृतिकारलाई शुभकामना र बधाइपत्रले सम्मान गरे ।

आयोजक संस्थाका सदस्य  लक्ष्मी वैद्यले सञ्चालन गरेको छोटोमीठो सो कार्यक्रममा कृतिकारका आफन्तजन , साहित्यकार र लघुकथाप्रेमीहरूको उल्लासमय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update