
प्रिय बालेन,
त्यो दिनको साँझ
देश जलिरहेको थियो—
केवल भवन होइन, जनताको भरोसा पनि।
सिंहदरबारको पर्खालभित्र इतिहास चिच्याइरहेको थियो,
र सडकमा, नयाँ पुस्ताको रगत उम्लिरहेको थियो।
तिमीलाई तिनीहरूले विश्वास गरेका थिए—
जेन-जीका छातीमा तिम्रो नाम लेखिएको थियो,
अन्तरिम सरकारका प्रधानमन्त्रीका रूपमा
पहिलो सिफारिस तिम्रो थियो।
आगामी प्रत्यक्ष कार्यकारी नेतृत्वका लागि पनि
उनीहरूले तिमीमै आशा राखेका छन्।
तर त्यो क्षण—
तिमी मौन थियौ।
“सिंहदरबार नजलाऊ,
यो हाम्रै सम्पत्ति हो”
यत्ति एउटा वाक्यले नै आगो निभ्थ्यो
न कि दमकलले,
तर तिमीले त्यो लेखेनौ,
या सायद, लेख्नै चाहेनौ।
नेतृत्व केवल निर्णयमा होइन
समाज निर्माणमा नापिन्छ
संकटमा बोलेको शब्दमा नापिन्छ।
चाहे तिम्रो सवारी ट्राफिकले रोक्दा होस्,
या पोशाकधारी विद्यार्थीका—
छाती र टाउकामा गोली चल्दा।
तिमी अब्बल प्रशासक होलाऊ,
कुशल कार्यकारी होलाऊ,
सिपालु र ज्ञानी पनि होलाऊ
तर,
तिम्रो आत्मविश्वास र पाखण्डबिच,
फरक खुट्याउनै गाह्राे भो,
जसरी नेता र भ्रष्टाचारबिच,
झोले र भक्तबिच,
लोकतन्त्र र अराजकताबिच।
देशले खोजेको नेता—
जसले भीडको भावनामा दिशा दिन सकोस्,
र संकटमा विवेक बोल्ने आँट राखोस्—
त्यो रूप अझै तिम्रो अनुहारमा स्पष्ट छैन,
सायद त्यो कालो चस्माले छेकेको छ।
देश तिमीमाथि अझै नजर गाडेर बसेको छ,
आशा र आशंकाहरु एकसाथ छछल्किएका छन् ।
हर्क र निकोलसहरु— तिमिलाई 'र' र 'सिआइए' एजेन्ट् भन्दैछन्।
हेर, तिम्रो मौनताले—
खण्डनभन्दा बढी स्वीकारोक्ति बोलिरहेको छ।
सिंहदरबार त जल्यो
तर,
सँगै जनताको विश्वास पनि जल्यो।
फेरि उठ्न,
अब तिम्रा शब्द होइन, चरित्रले देखाउनुपर्नेछ।