काठमाडौं । अमेरिकाले नेपालप्रतिको चासो बढाउन थालेको छ। नेपालको निर्वाचन सम्पन्न हुँदा होस वा नयाँ सरकार बन्ने बाटो प्रष्ट हुँदा नै किन नहोस्, अमेरिकाले नजिकबाट नेपालमाथि नजर लगाएको देखिन्छ। यस्तोमा अमेरिकाले नयाँ सरकार गठनको १ महिना केहिदिन बित्दा दुई विशेष दूत पठाएर नेपालप्रतिको चासो थप प्रष्ट पारेको छ ।
अमेरिका विश्वका धेरै देशमा आफ्ना एजेण्डा लागू गर्ने मामलामा अघि देखिन्छ। प्राकृतिक स्रोत साधनमाथिको नजरदेखि आफ्नो संलग्नता खोज्ने अमेरिकाले पछिल्लो समय विश्व राजनीतिमाथि नै नयाँ मानक स्थापित गरिदिएको छ। शक्तिशालीले जे गर्दा पनि कानूनी र वैध हुन्छ भन्ने भाष्य निर्माणमा सक्रिय अमेरिकाले नेपालप्रतिको सदासयता भने रोचक ढंगले राख्ने गरेको देखिन्छ।
केहि समय पहिले राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले अमेरिकी सहायतामा ठूलो कटौती गरे। अमेरिकी जनताको कर अमेरिकी जनताको पक्षमा छ कि छैन भन्ने थाहा पाएर मात्रै अघि बढ्ने भन्दै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) केहि समय रोकियो । यस्तो कार्यक्रम धेरै देशमा बन्द हुँदा अमेरिकाले नेपालमा गरेको सम्झौता भने नियमित ग¥यो।
यसरी नेपालप्रति छुट्टै लगाव राखेको अमेरिकाले नेपालीलाई अमेरिका प्रवेशमा कडाई भने तीब्र पार्दै लगेको छ। भिसा बण्ड अर्थात भिसा आवेदन दिदा निश्चित शुल्क बुझाउनुपर्ने राष्ट्रको सूचीमा राख्नेदेखि विमानस्थल पनि तोकेरबाहेकमा अवतरण गर्न नपाइने राष्ट्रको सूचीमा राख्दा अमेरिकी अधिकारीहरुको दौडधुप भने रोचक देखिन्छ। जसमा नेपाल सरकारले कसरी व्यवस्थापन गर्छ भन्ने चासो समेत बढिरहेको देखिन्छ।
केहिदिन पहिले अमेरिकी दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरले नेपालको भ्रमण गरे। उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि भेटे। तर, प्रधानमन्त्री वालेन्द्र शाहले भने भेटको समय दिएनन्।
कपुर नेपाल भ्रमणबाट फर्किएको केहिदिनमै फेरि अमेरिकी राष्ट्रपतिका विश्वासपात्रको रुपमा मानिने अमेरिकाका लागि भारतीय राजदूत सर्जियो गोर नेपाल आएका छन्। गोरले नेपालमा परराष्ट्रमन्त्री, अर्थमन्त्रीलाई भेट्ने निश्वित भइसकेको छ भने प्रधानमन्त्री वालेन्द्र शाहसंग समय मागेपनि पाइसकेका छैनन् । यसरी अमेरिकी चासो बढ्न थालेपछि अमेरिकाले नेपालबाट के चाहन्छ? प्रश्नहरु उठेका छन्।
प्रधानमन्त्री शाहको कदम
प्रधानमन्त्री वालेन्द्र शाहले कुटनीतिज्ञलाई सिंहदरबारमा सामूहिक ढंगले भेटेकोबाहेक अन्य भेट गरेको सार्वजनिक जानकारी पाइदैन्। वालेन्द्रले कुटनीतिज्ञहरुसंग भेट्नलाई परराष्ट्रमन्त्रालयलाई नै सक्रिय पार्ने जिकिर गर्दै आएका छन्। शाहले आफ्नो स्तरको पदाधिकारीबाहेकलाई सहज एक्सेस नदिने संकेत दिएका छन्। तर, उनी कति समय टिक्छन भन्ने चासो देखिन्छ।
यता, प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्ति दिनका लागि भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने कार्यतालिका छ। यसमा पनि वालेन्द्रले कुटनीतिक प्रोटोकल पछ्याउलान? धेरैले यता चासोका साथ हेरिरहेका छन्। यसअघि नेताहरुले सहजै राजदूतलाई पनि बेडरुमसम्मै पहुँच दिने गर्नाले आलोचना हुने गथ्र्यो।
कतिसम्म भने तत्कालीन प्रधानमन्त्री केपी ओलीले भारतीय खुफिया एजेन्सी रअका प्रमुखलाई बालुवाटारमै मध्यरातमा भेटेको विषय चर्चा र आलोचनाको विषय बन्न पुगेको थियो । यस्तोमा प्रधानमन्त्री शाहले कुटनीतिक मर्यादाको पालना कसरी गर्छन र बढ्दो विदेशी चासोमा आफूलाई कसरी उभ्याउछन भन्ने चासो बढ्न थालेको छ।
