News 24 Television
गुमनाम बने पूर्व शीर्ष नेतृत्व, देउवा पलायन हुँदा प्रचण्ड र ओली कता ?

काठमाडौँ । २०४८ सालयता नै राजनीतिमा जमेका नेपालका ३ शीर्ष नेतृत्वहरु रास्वपा सरकार आएपछि गुमनामजस्तै बनेका छन् । समकालीन नेतामा सबैभन्दा धेरै पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवा, नेपाली राजनीतिमा चतुर खेलाडी मानिने एमाले अध्यक्ष केपी शर्मा ओली र १० वर्षे जनयुद्ध हुँदै आफूलाई डाइनामिक नेताको रुपमा परिचय बनाएका प्रचण्ड फागुन २१ को निर्वाचनपछि प्रभावहीन बनेका छन् । 

काँग्रेका पूर्वसभापति शेरबहादुर देउवा २०४९ सालमा नै गृहमन्त्री बनेका पात्र हुन् । त्यसपछि उनी २०५२ सालमा नै प्रधानमन्त्री बनेका थिए । त्यसयता पनि बारम्बार सत्ताकै वरिपरि रहेका देउवा ५ पटक त प्रधानमन्त्री नै बने । धेरै पटक सत्ता साझेदार बनेर निर्णायक दलको नेतृत्वमा रहेका देउवा जेनजी आन्दोलनपछि राजनीतिमा गुमनाम नै छन् । पार्टीको नेतृत्वबाट बाहिरिएपछि भएको निर्वाचनमा नेपाली काँग्रेस जम्मा ३८ सिटसहित दोस्रो दलमा खुम्चिएको छ । त्यसयता काँग्रेस नै आन्तरिक विवादमा रुमलिदा देउवा देशै छाडेर विदेश पलायन भएका छन् । उनी अब नेपाली राजनीतिमा फेरि पुनरागमन गर्ने संभावना न्यून छ । 

उता एमाले अध्यक्ष केपी शर्मा ओली पनि निर्वाचनपछि गुमनाम नै छन् । बालेन शाहसँगै झापा – ५ मा प्रतिस्पर्धी बनेका ओली नराम्रोसँग पराजित भए । यसपछि ओली केन्द्रीय राजनीतिमा प्रभावहिन बनेका छन् । जबकी उनी निर्वाचनकै दिनसम्म पनि एमाले पहिलो दल बन्ने भन्दै आफू प्रधानमन्त्री बन्ने दावी गरिरहेका थिए । 

सरकारले संवैधानिक परिषद र सहकारी सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै अहिले प्रधानमन्त्री बालेनको चौतर्फी आलोचना भइरहेको छ । यस्तोमा सबै विपक्षी दलका नेताहरु विरोधमा उत्रिएका छन् । तर यो मामलामा अध्यक्ष ओलीले कुनै प्रतिकृया दिएका छैनन् । उता नेकपा संयोजक रहेका प्रचण्ड निर्वाचनमा विजयी भएपनि पार्टी पराजित हुँदा उनको राजनीतिक निरर्थक बनिरहकको छ । १७ सिट जितेर चौँथो ठूलो दल बनेको नेकपा अहिले आफ्नो अस्थित्व रक्षाको लागि भौतारिएको छ ।

के गर्दैछन् प्रचण्ड, ओली र देउवा ? 

नेकपा संयोजक प्रचण्ड अहिले कम्युनिष्ट एकताको अभियान चलाउने तैयारीमा छन्  । पार्टी र राजनीति नै संकटमा पर्ने त्रासका कारण उनले पार्टी बैठकमार्फत नै अब कम्युनिष्ट एकता गर्नुपर्ने भन्दै एमाले तथा अन्य कम्युनिष्ट दलहरुसँग एकताकका लागि आह्वान गरिरहेका छन् । प्रचण्ड एमालेसहितका दलहरुलाई एकाबद्ध गरेर वृहत्त कम्युनिष्ट एकता गर्ने तैयारीमा रहेपनि एमालेको सबै पङ्तिले एकता स्वीकारिहेका छैनन् । 

उता एमाले अध्यक्ष केपी शर्मा ओली पनि नयाँ सरकार बनेपछि पक्राउ परे । यसपछि पत्थरीको शल्यक्रिया गरेका ओली अहिले स्वास्थ्य लाभ गरिरहेका छन् । केही दिनअघिको कम्युनिष्ट स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्ने भनेका ओलीले कार्यक्रमा नै उपस्थित जनाएनन् । ओली एक महिनायता कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन् भने, उनी पछिल्लो समय राजनीतिक रुपमा निश्कृयजस्तै भएका छन् । 

उता काँग्रेसका पूर्वसभापति शेरबहादु देउवा त अझ जेनजी आन्दोलनपछि राजनीतिक रुपमा निश्कृय छन् । फागुन २१ को निर्वाचन अघि उपचारका लागि भन्दै दोस्रो पटक सिंगापुर उडेका उनी अझै स्वदेश फर्किएका छैनन् । सम्पत्ति सुद्धिकरणको मुद्धामा पक्राउ पुर्जी नै जारी भएका उनी सिंगापुरबाट परिवारसहित हङ्कङ पुगेका बताइन्छ । यद्यपि उनी अझैसम्म सम्पर्कमा छैनन् । यो अवस्थामा देउवा गुमनाम मात्रै छैनन् । उनी अब सक्रिय राजनीतिमा फर्किने संभावना न्यूनजस्तै छ । 

३० वर्ष बढी शीर्ष भूमिकामा सक्रिय राजनीति गरेका यी पात्रहरु राजनीतिको अग्र मोर्चामा नहुनुले नयाँ अनुभूति दिएको छ । बेला बखत राजनीतिमा अनुभव र परिवक्वताको अभाव रहेपनि यो परिवर्तनलाई आम जनताले सकारात्मक परिस्थितिको रुपमा स्वीकार गरेका छन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १६, २०८३  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update