News 24 Television
के कान्तिपुरका शासक महिन्द्रसिंह दोलखाका थिए ?

कान्तिपुरका शासक महिन्द्रसिंह दोलखाका थिए या कान्तिपुरका नै थिए ? भन्ने कुरामा इतिहासकारहरुको बिचमा ठुलो बिवाद पाइँन्छ । अहिले इतिहासकार मोहनप्रसाद खनालको तर्क लाई सबैले मानेको देखिन्छ । यहाँ तिनै बिवादलाई प्रस्तुत गरिएको छ । इतिहास शिरोमणी बाबुराम आचार्यका अनुसार कान्तिपुरका राजा भास्कर मल्ल र महिन्द्र सिंह भिन्नभिन्नै व्यक्ति हुन । उहाँले श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी भाग १ मा यस्तो लेख्नुभएकोछ “त्याहाँपछि झगल ठकुलले गुप्त सन्देश पठाएर दोलखाली महीन्द्र सिंहलाई कान्तिपुरमा बोलाएर स्वागत सरकार गरी राखे । कान्तिपुरमा रहेका जगज्जय ठाकुर पनि झगल ठाकुलका मित्र थिए । भास्कर मल्ललाई पदच्युत गरी जगज्जय ठाकुरलाई उत्तराधिकारी बनाएर महीन्द्र सिलाई कान्तिपुरको मुकुट पहिराई यिनको लेखपछि दोलखाको ठकुराई कान्तिपुरका ठकुराईमा सम्मेलन गराउने योजना झगल ठाकुलले तयार गरी समयको प्रतीक्षा गरिरहेका थिए ।" 

“अचानक २१ जनवरी १७१५ का दिन बिफरका व्यथाले ललितपुरका राजा महिन्द्र मल्लको देहान्त हुँदा र यिनका उत्तरधिकारी कोही नहुँदा पाँचौ दिन ललितपुरका प्रमानहरू कन्तिपुरमा पुगेर भास्कर मल्ललाई ललितपुरमा राजा थाप्न माग्दा भुवनलक्ष्मी पनि छोरालाई लिएर जान तयार हुनु स्वाभाविकै थियो । तर झगल ठाकुलले यसैदिन भास्कर मल्ल र भुवनलक्ष्मीलाई समेत कैद गरी जगज्जयलाई पनि उत्तराधिकारी बनाउने शर्त मन्जुर गराएर महिन्द्र सिंहलाई कान्तिपुरको मुकुट पहिराइदिए (२५ जनवरी) र जगज्जय पनि मल्ल कहलाए ।’
  
तर बाबुराम आचार्यज्यूका बिचारको बिपरित इतिहासकार शंकरमान राजवंशीले भने भास्कर मल्ल तथा महीन्द्र सिंह एउटै व्यक्ति भन्ने देखाउनु भएको छ “ऐतिहासिक सार तथा संशोधन मण्डलद्वारा प्रकाशित पूर्णिमामा प्रकाशित महीन्द्र सिंह (भास्कर मल्ल) को ताम्रपत्र र त्यसको ऐतिहासिक व्याख्या भन्ने निबगामा श्री शंकरमान राजवंशीले कान्तिपुरका राजा भास्कर मल्लले हात्ती खेदा गरी ल्याएपछि’ स्वविक्रमोपार्जित गजपति पद महीन्द्र सिंहू कहलाएका हुन । त्यसकारण भास्कर मल्ल तथा महीन्द्र सिंह एउटै व्यक्ति हो ।’
   
नेपालका प्रशिद्ध इतिहासकारहरूमा यस्तो भिन्नता इतिहासकार मोहनप्रसाद खनालले प्रमाणहरुको आधारमा यी विवाद हटाउने प्रयत्न गर्नु भएको छ । उहाँ लेख्नुहुन्छ – “इतिहास भनेको सत्य र वास्तविक प्रमाणद्वारा वितेका घटनाहरूको चित्रण गर्ने विषय हो । प्रमाणका आधारमा राजा भास्कर मल्ल र  महिन्द्र सिंह एउतै व्यक्ति हुन । उहाँको बिचारमा भास्कर मल्लको हात्ती खेदा गर्न नजांदा पनि महीन्द्रसिंह भन्ने नाम थियो । त्यसैले इतिहास संशोधनका संपादकहरूले व्याख्या गरेका – “भास्कर मल्ललाई खेदा (हात्ती पक्रने काम) मा विशेष शोख थियो । 

उनले तराईबाट स्वयं हात्ती पक्रेर ल्याएपछि आफ्नो प्रशस्तिमा समेत ‘स्वविक्रमोपार्जित गजपति पद विराजमान श्री श्री महिन्द्रसिंह देवू भन्ने पदले सुहाएका श्री जय महीन्द्रसिंह देव भनी लेख्न थालेका थिए, पहिले त यिनको नाम भास्कर मल्ल थियो’ भन्ने कुरा बिल्कुलै अशुद्ध हो ।  

उहाँले श्री बाबुराम आचार्यज्यूको श्री ५ बडा महाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीमा यस्तो टिप्पणी गर्नु भएको छ – ‘कान्तिपुरका राजा शिवसिंहले ललितपुर लिएर त्यहाँ आफ्ना छोरा हरिहर सिंहलाई राखे झैं दोलखा ठकुराईलाई पनि लिएर त्यहाँ आफ्ना भाई रणजित्सिंह लाई प्रतिनिधि गराई पठाएका र यिनै रणजिसिंहका छोरा इन्द्रसिंह थिए । अगिल्ला वंशका राजाकी छोरी विजयलक्ष्मीसंग यिनले विवाह गरेका थिए । शिवसिंहले यस तरहसंग दोलखाका ठकुराईमा आधिपत्य जमाए तापति इन्द्र सिंहका वंशमा ठकुराई चलिरहन दिए । यस वंशमा पैदा भएका महीन्द्र सिंह देखिन्छन्। यसकारणले  कान्तिपुरमा आएपछि पनि महीन्द्र सिंहने दोलखाका ठकुराईको अस्तित्व बचाइराखेको देखिनाले यिनी दोलखाका ठाकुर हुनमा सन्देह छैन ।’

इतिहासकार मोहनप्रशाद खनालले यो भनाई सर्वथा अशुद्ध छ भन्नु भएको छ । यस सम्बन्धमा उहाँले यस्तो तर्क  दिनु भएको छ ।  
“कान्तिपुरका राजा शिवसिहले दोलखामा आक्रमण गर्नुभन्दा अगाडि सम्म दोलखा राज्य स्वतन्त्र रूपमा खडा थियो । तर वि.स. १६६५ ताका शिवसिंहले दोलखामा आक्रमण गरी अधिकार जमाएपछि उहाँ उनले आफ्नो प्रतिनिधि बनाएर कसैलाई पनि पठाएका थिएनन । त्यसकारण त्यहाँको राज्य प्रशासन शिवसिंहपछि कान्तिपुरका शासकहरू द्वारा सञ्चालन गरिन्थ्यो । 

शिवसिंहले जसरी ललितपुर, विजय पश्चात आफ्ना छोरा हरिहरसिंहलाई प्रतिनिधि बनाई पठाएका थिए, त्यसै गरीनै अभयपुर (दोलखा)मा पनि आफ्ना भाइ रणजित्सिंह लाई प्रतिनिधि बनाएर पठाउनु संभव पनि थिएन । किनकि ललितपुर विजय भएको १० वर्ष जति पछि मात्र अभयपुर विजय भएको थियो र ललितपुरमा प्रतिनिधि भएर गएका छोरा हरिहरसिंहले आफू प्रति कस्तो व्यवहार गरेका थिए भन्ने पनि शिवसिहले देखिसकेका थिए । यसो भएर नै शिवसिहले दोलखा विजय भएपछि त्यहाँ आफ्ना कुनै प्रतिनिधि नपठाई कान्तिपुर बाट नै आफूले त्यहाँको राज्य प्रशासनको काम गरेका थिए” ।

आफ्नो यो भनाइ लाई प्रमाणित गर्न उहाँले दोलखा भीमेश्वरको स्थानको शिवसिंहको पालाको शुवर्णपत्र प्रस्तुत गर्नु भएको छ – ‘उहाँले सप्रमाण कान्तिपुरका राजा शिवसिंहका भाइ रणजित्सिंहका छोरा  इन्द्रसिंह तथा यसै वंशमा पैदा भएका महिन्द्रसिंह हुन्  भन्ने भनाइ सर्वथा अशुद्ध छ भन्नु भएको छ । किनकि कान्तिपुरका राजा शिवसिंह महीन्द्र मल्लका छोरा तथा सदाशिव मल्लका भाइ हुन् । महिन्द्रसिंह मल्ललको मृत्युपछि उनका जेठा छोरा सदाशिव मल्ल कान्तिपुरका राजा भए । पछि आफ्ना दाजु सदाशिव मल्ललाई पदच्युत गरी केंद गराई यिनले कान्तिपुरको मुकुट पहिरेका थिए । कान्तिपुरमा यस प्रकारको यस्तो घटना घट्दा दोलखा ठकुराईमा इन्द्रसिहका नातिको राज्यप्रशासन चलिरहेको थियो ।’
 
“यसकारण कान्तिपुरका राजा शिवसिंहको जन्म हुनुभन्दा पूर्वनै दोलखा ठकुराईमा स्यहांका राजा इन्द्रसिंहको शासन चलेको थियो, तथापि जय इन्द्रसिंहका उत्तराधिकारी (छोरा) जयनारायण कान्तिपुरका राजा शिवसिंहका पिता महीन्द्र मल्लका समकालीन थिए । यी जयइन्द्रसिंह वि.सं १६०५ ताका मरेका हुंदा यिनका जेठा छोरा जयनारायण दोलखाका राजा भए, यी कान्तिपुरका राजा महीन्द्र मल्लका समकालीन थिए । दोलखाका राजा जय इन्द्रसिंहका दुइ छोराहरू मध्ये अर्का छोराको नाम वासुदेव थियो ।

बाबुराम आचार्यज्यूको भनाइ “भास्कर मल्ल र भुवनलक्ष्मीलाई समेत कैद गरेर  महिन्द्रसिंहलाई मुकुट पहिराएको स्पष्ट देखिन आएको छ” लाई मोहनप्रसाद खनालले  अशुद्ध भनि यसरी खण्डन गर्नु भएको छ – “कान्तिपुरका एकजना काजी झगल ठाकुरले दोलखाका राजालाई आमन्त्रित गरी सजिलैसंग कान्तिपुरका राजा भास्कर मल्ललाई र राजमाता भुवनलक्ष्मी दुवैलाई कैद गरी परचक्री राजा महीन्द्र सिंहलाई राजा बनाउन सक्नु संभव छैन । किनकि एक त कान्तिपुरका प्रजाहरूले यस कुकृत्यलाई सहन गर्न सक्नु साधारण कुरा थिएन । यस कार्यको निमित्त कान्तिपुरका प्रजाहरूले यहां रक्तपात पनि शुरू गरिदिन्थे भने अर्कोतिर यताका छिमेकी राजाहरू पनि यो दृश्यलाई हेरेर बस्ने खालका थिएनन । यसकारण एकजना काजीबाट कान्तिपुर राज्यमा यति ठूलो घटना घट्नु संभव भन्दा धेरै टाढाको कुरा थियो ।" 

मोहनप्रशाद खनालले चाबहिलको धनजु चैत्यमा रहेको शिलालेख, कान्तिपुरका राजा भएर महिन्द्रसिंहले गरिदिएको सदनपत्र जस्ता प्रमाणहरूका आधारमा भास्कर मल्ल तथा महिन्द्रसिंह एउटै व्यक्ति हुनमा केही सन्देह छैन भन्नु भएको छ । 
मल्ल बाबुराम आचार्यले लेख्नु भए अनुसार ‘महिन्द्रसिंहले दोलखाको ठकुराईका उत्तराधिकारी आफ्ना छोरा नीरनारायण मल्ललाई थामेर कान्तिपुरको मुकुट पहिरेका थिए । महिन्द्रसिंह दोलखा तिर गएका समयमा जगज्जय मल्ल पनि साथमा गएर त्यहांको जमीन एक ब्राह्मणलाई नीरनारायण मल्लका अनुपस्थितिमा बिक्री गराएको हुनाले (इ.स. १७२१) महिन्द्रसिंहका देहान्तपछि दोलखाका ठकुराईमा कान्तिपुरको भोग भइसकेको भनी जगज्जय मल्लले नीरनारायण मल्ललाई भुस्याए । ‘मोहनप्रशाद खनालका अनुसार (राजा भास्कर मल्लका विषयमा संशोधन र निर्णय,  मोहनप्रसाद खनाल, प्राचीन नेपाल, संख्या ९, २०२६० यो कुरा पनि अशुद्ध छ ।  

उहाँको तर्कछ – “दोलखाका राजा महिन्द्रसिंह भएका भए आफूले कान्तिपुरमा आई मुकुट पहिरिदा आफ्ना छोरा नीरनारायण मल्ललाई दोलखाका उत्तराधिकारी बनाएका भए न.सं ८३६ जेष्ठ शुदि ५ मा सुनखानीका ब्राह्मण आदिलाई गरी दिएको सनदपत्रमा आफू शासककै रूपमा रहेर दृष्ट साक्षीमा दोलखाका उत्तराधिकारी भएर रहेका नीरनारायण मल्ललाई राख्नु उचित हुँदैनथियो । फेरि दोखलाका शासक तथा उत्तराधिकारीहरू कुनै पनि मल्ल नकहिएका हुंदा नीरनारायण मात्र आएर कसरी मल्ल कहलाए ?”  

इतिहासकार धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठ (दोलखाको एतिहासिक रुपरेखा)  ले यी बिबाद लाई   इतिहासकार खनालको  प्रमाणयुक्त तर्कको आधारमा सल्टायको देखिन्छ ।  उहाँहरुको   निश्कर्ष छ – “तीर्थ यात्रा गर्न जाँदा भारतमै भूपालेन्द्र मल्लको मृत्यु भएपछी कान्तिपुरको गद्दीमा बालक भास्कर मल्ल राखे । उनी अलि लहडी थिए । तराइको मैदानमा गई आफैले प्रशस्त हाती पक्रेर ल्याउन सफल भए पछि  उनले आफ्नो नाम नै बदलेका थिए ।

अब उनको नाम ‘महिन्द्रसिंहदेव’ रहन लागेको थियो । आफ्नो शोंख पूरा गर्न उनले दोलखाबाट प्रसस्त मात्रामा बाज झिकाएका थिए । यसै गरी बीच चिचमा पैसा खाचो हुँदा  दोलखा भेकका जग्गा स्थानीय भारदार आदि लाई बेचेको कागजपत्र पाइएको छ । महिन्द्रसिंहका पालामा केही भारदारहरु  मिलि भीमेश्वरको चूलिका फेरेको ताम्रपत्र भीमेश्वर भण्डारमा रहेकोछ । महिन्द्रसिंहको पालामा कान्तिपुर राजदरबारमा दोलखाका केही भारदारले स्थान पाएका थिए ।’ उनलाई कतै भास्कर मल्ल र कतै महीन्द्रसिंंह देव भनेर उल्लेख गरिएको पाइन्छ । यसरी भास्कर मल्ल र महिन्द्रसिंंह एउटै व्यक्ति हुन् । 


 

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update