News 24 Television
महेन्द्र चालिसेको लघुकथासङ्ग्रह 'रङगभेद' विमोचित

काठमाडौँ । नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिका 'कपन-बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिक'ले ६ सय अङ्क प्रकाशन गरेको सुअवसर पारेर फागुन ६ गते बुधबार साहित्य सदन रामहिटीमा पत्रिकाका संरक्षक सदस्य साहित्यकार महेन्द्र चालिसेको लघुकथासङ्ग्रह 'रङगभेद'को विमोचन गरियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, सभापति पत्रिकाका प्रबन्धक एवं साहित्यकार गङ्गा कर्माचार्य पौडेल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, बुनपा- ९ का वडाध्यक्ष राजिव थापा, लेखक महेन्द्र चालिसे, लेखकपत्नी इन्दिरा चालिसे, समीक्षकद्वय ठाकुर शर्मा, गोपि मैनाली र कपन-बानेश्वरका प्रकाशक/सम्पादक निबन्ध आचार्यले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन्  ।

लेखक महेन्द्र चालिसेले लेखकीयसहित स्वागत मन्तव्य दिएपछि लघुकथा गान बजाएर कार्यक्रम उद्घाटन गरिएको थियो ।  परम्परागत विमोचनभन्दा पृथक रुपमा समिक्षकहरु ठाकुर शर्मा र गोपि मैनालीले समिक्षात्मक टिप्पणी गरेपछि मात्र पुस्तक विमोचन गरिएको थियो । विमोचन पश्चात सभापति गङ्गा पौडेलले लेखकपत्नी इन्दिरा र प्रमुख अतिथि रोचक घिमिरेले लेखक महेन्द्र चालिसेलाई रुद्राक्षको माला लगाइदिएर सम्मान गरे ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल र गोनपा ९ का वडा अध्यक्ष राजिव थापाले साहित्य र साहित्यकारको लागि नगरपालिकाले काम गरिरहेको र गरिरहने बताए । युवराज मैनाली ,रमेश खनाल र शङ्कर भारतीले शुभकामना दिएको सो कार्यक्रममा एन बी जनकपुरेले महेन्द्र चालिसेको गीत गाएर सुनाएका थिए ।

प्रमुख अतिथि रोचक घिमिरेले साहित्यिक, त्यसमाथि पनि समाचारमूलक साप्ताहिक रुपमा निकालेर ६ सय अंकसम्म पुर्याउनु हिमाल चढ्नु बराबर हो भन्दै प्रशंसा गरे । साथै महेन्द्र चालिसेको पहिलो कथासङ्ग्रह भन्दा यो कृति परिमार्जन भएर आएको बताए ।

सभापति गङ्गा कर्माचार्य पौडेलले  पत्रिका प्रकाशन सामुहिक काम भएको र कबा समुहले मिलेर काम गरेको कारण नै ६ सय अङ्कसम्म पुग्न सफल भएको बताइन् । आलोक चालिसेले संचालन गरेको कार्यक्रममा प्रकाशक/सम्पादक निबन्ध आचार्यले धन्यवाद ज्ञापन् गरे । कपन-बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको प्रकाशन रहेको रङ्गभेद चालिसेको तेह्रौं प्रकाशित कृति हो । यसभित्र ६५ वटा लघुकथा सङ्ग्रहित छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update