News 24 Television
लम्बियो बालेनको पर्खाइ, कहिले बन्दैछन् प्रधानमन्त्री ?

काठमाडौँ । नयाँ प्रधानमन्त्री नियुक्ति प्रकृया अझै लम्बिने भएको छ । फागुन २१ गते अन्तरिम सरकारले आम निर्वाचन सम्पन्न गराएको थियो । यसपछिका प्रकृया तीव्र रुपमा अघि बढ्ने अपेक्षा गरिएपनि त्यो हुन नसक्दा चैतको पहिलो साताभित्रै नयाँ प्रधानमन्त्री नियुक्त हुने संभावना टरेको हो । तसर्थ अब चैतको दोस्रो साता मात्रै मुलुकले नयाँ प्रधानमन्त्री पाउने देखिएको हो । 

अहिलेसम्म के–के भए ?

अहिलेसम्म निर्वाचन आयोगले प्रत्यक्षतर्फ निर्वाचित सबै दलको उम्मेदवारहरुलाई प्रमाणपत्र दिइसकेको छ । उता समानुपातिकतर्फको सांसदहरुको नामावाली प्राप्त भएपनि आयोगले उनीहरुलाई प्रमाणपत्र वितरण गर्न सकेको छैन । निर्वाचन आयोगले चैत ५ गते अर्थात बिहीबारसम्ममा निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नेछ ।

यसपछि राष्ट्रपतिले संसद अधिवेशन बोलाउने बाटो खुल्नेछ । त्यसलगत्तै सांसदहरुको शपथग्रहण हुनेछ । यसपछिका बैठकहरुबाटै नयाँ प्रधानमन्त्री नियुक्त नियुक्तिको प्रकृया अघि बढ्नेछ । यहीबीचमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुले संसदीय दलको नेता पनि चयन गर्नेछन् । तर अलिहेसम्म संसदमा बहुमत प्राप्त गरेको रास्वपाले संसदीय दलको नेता चयन गर्न सकेको छैन । यो आधारले पनि नयाँ प्रधानमन्त्रीको नियुक्ति चैत दोस्रो साताको अन्त्यतिर मात्रै हुने देखिन्छ । 

पहिलो पटक संविधानको धारा ७६ (१) प्रयोग हुँदै

संविधानमा निर्वाचनको अन्तिम मत परिणाम घोषणा भएको ३० दिनभित्र नयाँ प्रधानमन्त्री नियुक्त हुने व्यवस्था उल्लेख गरिएको छ । यो पटक राष्ट्रपतिले सरकारको निर्माणको आह्वान गर्दा संविधानको धारा ७६ को उपधारा १ प्रयोग गर्नेछन् । जुन धारामा भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ ।’

संविधानको यही धारा अनुसार रास्वपाका संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नेछन् । यो धारा नेपालको संविधान २०७२ जारी भएपश्चात पहिलो पटक प्रयोगसमेत हुने देखिएको छ । यसअघि कुनै पनि दलले संसदमा एकल बहुमत ल्याउन नसक्दा धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन हुँदै आएको थियो । 

रवि–बालेनको अनुपस्थितिले जन्माएको प्रश्न 

रास्वपाले नवनिर्वाचित सांसदहरुलाई मंगलबारदेखि संसदीय अभ्यास, आचारण र अनुशासनका विषयमा प्रशिक्षण दिएको छ । 

यो अभिमुखीकरणको पहिलो दिन सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह उपस्थित भएनन् । यस्तै दोस्रो दिन पनि सभापति रवि लामिछानेले मात्रै सम्बोधन गरेका छन् । 

रास्वपाको यो महत्वपूर्ण अभिमुखीकरण कार्यक्रममा बालेनको अनुपस्थितीको विषयलाई लिएर धेरैले रास्वपा र बालनेबीचको सम्बन्धमा दरार आएको त होइन ? बालेनले अझै रास्वपालाई भित्रिदेखि स्वीकार नगरेको त होइनन् ? भन्ने प्रश्न र आशंका प्रशस्तै उब्जिएका छन् । यद्यपि रास्वपाकै केही नेताले बालेन अस्वस्थ रहेको भन्दै अभिमुखीकरणमा उपस्थित नभएको प्रतिकृया दिएका छन् । तर बालेन निकट श्रोतका अनुसार उनी अहिले सरकार निर्माण र मन्त्री छनौँटका विषयमा आन्तरिक परामर्शमै व्यस्त छन् । 

मुख्यतः बालेन सक्षम र सुढृढ सरकार निर्माणका लागि मन्त्रिमण्डलको आकार घटाउने र विज्ञताका आधारमा मन्त्रीहरु नियुक्त गर्ने तयारीमा रहेको बताइन्छ । यीनै तयारीमा व्यस्त रहँदा बालेन अभिमुखीकरणमा सहभागी हुन नभ्याएको उनी निकट श्रोतको दावी छ ।
 

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update