News 24 Television
कमल सङ्घर्षद्वारा लिखित खस भाषाको गजलकृति ‘हियाका कुडा’ सार्वजनिक

काठमाडौँ । गजलकार कमल सङ्घर्षद्वारा लिखित खस भाषाको गजलसङ्ग्रह ‘हियाका कुडा’ सार्वजनिक गरिएको छ। लोकप्रिय युवा गजलकार सङ्घर्षको यो तेस्रो कृति हो। यसअघि उनका ‘सडक’ र ‘खुँडी’ शीर्षकका गजलसङ्ग्रह प्रकाशित भइसकेका छन्।

शनिबार एक समाराेहमा मदन पुरस्कार विजेता विवेक ओझा, साहित्यकार पूर्ण रावल तथा गजलकार/गीतकार शीतल कादम्बिनी, प्रकाशक शिखा बुक्सका प्रमुख पुष्पराज पौडेल र कृतिकार स्वयंले उक्त कृति सार्वजनिक गरका हुन् । वक्ताहरूले कृतिको भाषिक सौन्दर्य, भावनात्मक गहिराइ तथा खस भाषाको मौलिक अभिव्यक्तिको खुलेर प्रशंसा गरे।

गजलकार शीतल कादम्बिनीले कृति पढ्दा आफू अत्यन्त भावुक बनेको उल्लेख गर्दै मनपर्ने गजललाई तरन्नुम शैलीमा प्रस्तुत गरिन्। साहित्यकार पूर्ण रावलले खस भाषाको लयात्मकता र शब्द–सम्पदाले नयाँ पुस्तालाई सिर्जनशील मार्गतर्फ आकर्षित गर्ने धारणा राखे। त्यसैगरी विवेक ओझाले कमल सङ्घर्षका गजलहरूले आफूलाई सधैं प्रभावित पार्दै आएको बताउँदै ‘हियाका कुडा’ मा पश्चिम नेपालको इतिहास र जनजीवनसँग गजललाई जोड्ने सफल प्रयास भएको टिप्पणी गरे।

Kamal-2-1771230833.jpeg
समीक्षकहरूले काली–कर्नाली क्षेत्रको सामाजिक यथार्थ, प्रेम, संघर्ष, विद्रोह र चेतनाका स्वरहरू गजलमा जीवन्त रूपमा अभिव्यक्त भएको उल्लेख गरे। खस भाषाको मौलिकता र स्थानीय परिवेशसँगको निकट सम्बन्धले पाठकलाई आफ्नै संस्कृति र पहिचानप्रति जोड्ने विश्वास व्यक्त गरिएको छ।

समारोहमा चार वर्षीय बालक अग्रिम भण्डारीले शीर्ष गजल वाचन गर्दै उपस्थित सबैलाई भावुक बनाएका थिए। कार्यक्रमको सञ्चालन कवि तपेन्द्र घोडासैनीले गरेका थिए भने सभापतित्व शिखा बुक्सका पुष्पराज पौडेलले गरेका थिए। कार्यक्रममा कवि न्याथन रायन, गजलकार लक्ष्मण संगम, महेश जैसी र मदन बुढा ले समेत गजल वाचन गर्दै वातावरणलाई साहित्यिक बनाएका थिए।

कार्यक्रमको अन्त्यमा लेखक कमल सङ्घर्षले करिब एक दर्जन खस गजल प्रस्तुत गर्दै उपस्थित स्रोताबाट प्रशंसा प्राप्त गरे। शिखा बुक्स द्वारा प्रकाशित उक्त कृति बजारमा रु. ३५० मूल्यमा उपलब्ध रहेको छ।

उपस्थित साहित्यप्रेमीहरूले ‘हियाका कुडा’ ले खस भाषाको साहित्यिक विकासमा नयाँ आयाम थप्ने र आगामी पुस्तालाई मातृभाषामा सिर्जना गर्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update