काठमाडौं । अमेरिका र इजरायलले संयुक्त अपरेशन एपिक फ्युरी नाम दिदै इरानमा ९०० भन्दा बढी हवाई आक्रमण गर्दै शुरु भएको युद्ध झनझन चर्किदै गएको छ ।
इजरायल–अमेरिकाको आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनीसहित उच्च अधिकारी मारिएका छन् । इरानले पनि जवाफमा सयौं मिसाइल र ड्रोन प्रहार गर्दै इजरायल, अमेरिकी सैनिक बेस र खाडी राष्ट्रहरूमा ठूलो क्षति पु¥याएको छ । युद्ध तेस्रो हप्तामा प्रवेश गर्दै गर्दा क्षेत्रीय द्वन्द्व झन चर्किएको मात्रै छैन, विश्व नै प्रभावित बनेको छ ।
इरानविरुद्ध इजरायल र अमेरिकाले शुरु गरेको युद्धले युद्धमा प्रत्यक्ष सहभागि देशहरुले ठूलो जनधनको क्षति व्यहोरेका छन् । युद्ध शुरु भएसँगै इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेपछि विश्वको तेल आपुर्तिको २० प्रतिशत अवरुद्ध भएको छ । हर्मुज बन्द हुँदा तेल मूल्य आकासिदा ब्यारेलको ११४ डलरभन्दा माथि पुगेको छ ।
यो मार्गबाट एसियामा ८० प्रतिशतभन्दा बढि तेल आपूर्ति हुने गर्छ । त्यसैले अहिले एसियामा इन्धनको चरम अभाव सिर्जना भएको छ । त्यसैगरी मध्य एसिया हुँदै जाने उडानहरु पूर्णरुपमा रद्द भएका छन् । हजारौ यात्रीहरु फसेका छन् ।
इन्धन अभावका कारण एसियाली राष्ट्रहरुको व्यापार प्रभावित बनेको छ । वैश्विक इक्विटी ३.२ ट्रिलियन डलरभन्दा बढि घाटा भइसकेको छ । यो युद्धका कारण मुद्रास्फीति र मन्दीको खतरा बढेको छ । यो त्रिदेशीय युद्धले सबैभन्दा ठूलो क्षति इरानलाई भएको छ ।
- युद्धका कारण १४ सयदेखि ५ हजारसम्म इरानीको मृत्यु
- इरानको हवाई प्रतिरक्षा ८० प्रतिशतले नष्ट
- मिसाइल क्षमतामा ९० प्रतिशत ह्रास आएको अनुमान
- ड्रोन ९५ प्रतिशतले घटेको अनुमान
- तेल भण्डारहरुमा ठूलो क्षति
- कैयौ सांस्कृतिक स्थलहरु ध्वस्त
- सर्वोच्च नेता अली खोमेइनी सहित कैया उच्च पदाधिकारीको मृत्यु
- इरानको प्रत्याक्रमणका कारण इजरायलले पनि ठूलो क्षति व्यहोरेको छ ।
- १९ जना इजरायली मारिएका छन्
- धेरै इजरायली सहरहरुमा क्षति पुगेको छ
- हिजबुल्लाहसँग फेरि द्वन्द्व शुरु
- आक्रमणको नेत्तृत्व गरिरहेको अमेरिका पनि यो युद्धबाट प्रभावित छ ।
- अमेरिकाका १५ सैनिकको मृत्यु जसमा ६ जना विमान दुर्घटनामा मारिए
- २०० भन्दा बढि घाइते
- खाडी क्षेत्रका धेरै सैनिक आधारमा क्षतिग्रस्त
- दैनिक कम्तिमा ८९० मिलियन डलर खर्च
इरानमाथिको युद्ध करिब करिब जितिसकेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गर्दै आएका छन् । तर इरानको शक्तिशाली प्रत्याक्रमण देख्दा ट्रम्पको दाबी पुष्टि हुन सकिरहेको छैन । पछिल्लो अवस्था हेर्दा अमेरिका रक्षात्मक अवस्थामा पुगेको देखिन्छ । युद्ध सकिनै लाग्यो भन्दै आउने अमेरिकी राष्ट्रपतिको स्टेटमेन्ट आइरहदा इरानले झन शक्तिशाली प्रत्याक्रमण गरिरहेको छ ।
इरानको खार्ग टापुमा भएको अमेरिकी आक्रमणपछि इरानले युएइको व्यस्त बन्दरगाह फुजैराह इमिरेट्स टर्मिनलमा आक्रमण गरेको छ । अन्तराष्ट्रिय युद्ध विश्लेषकहरुका अनुसार युद्ध रोकेर पछि हट्न ट्रम्पलाई नैतिकरुपमा सहज छैन ।
उनले युद्ध रोक्ने बताएपछि युद्धविरामका लागि इरानले कडा ३ सर्त राखेको छ । इरानले आफ्नो अधिकारको मान्यता, युद्धमा भएको क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने अन्तराष्ट्रिय ग्यारेन्टी नभएसम्म युद्धबाट पछि नहट्ने अडान लिएको छ ।
ट्रम्पलाई चुनौति
अहिले पूर्ण पराजयबिना युद्धबीचैमा रोकेर पछि हट्दा ट्रम्प सबैभन्दा ठूलो नैतिक संकटमा फस्नेछन् । अमेरिकाभित्रै उनको ठूलो आलोचना हुनेछ । अहिले अमेरिकामा ५९ प्रतिशत जनता युद्धको विपक्षमा रहेको सीएनएन एसएसआरएस पोलले देखाएको छ ।
जनताको भरोसा घट्दै गएको अवस्थामा युद्धबाटपछि हट्दा विश्वमा रहेको अमेरिकी प्रभुत्वमाथि नै संकट आउने देखिएको छ । पूर्ण विजयविना अमेरिका पछि हट्दा इरानले आफुलाई विजयी ठान्नेछ भने इरानले प्रोक्सी वारहरुमार्फत् क्षेत्रीय अस्थिरता समेत मच्चाइ रहने छ ।
यस्तो हुँदा इजरायल झन धेरै संकटमा फस्नेछ । हिजबुल्लाह, हमास र हुथी जस्ता समूहले इजरायलमाथि पुन टाउको उठाउने छन् । इरानको सत्ता नै परिवर्तन गर्ने लक्ष्यसहित शुरु भएको युद्ध तेस्रो सातामा पुग्दा समेत त्यस्तो संकेत देखिएको छैन । अफगानिस्तानमै असफल भइसकेको अमेरिकालाई इरान युद्ध भियतनाम जस्तो अपमान हुने सम्भावना छ ।
भियतनाममा १९५५ देखि १९७५ सम्म भएको युद्धमा अमेरिकाले विश्वकै सबैभन्दा शक्तिशाली सेना, अर्बौ डलर खर्च र करिब ६० हजार अमेरिकी सैनिकले ज्यान गुमाउँदा पनि पुर्ण विजय पाउन सकेको थिएन । अहिले इरानमा अमेरिकाको त्यहि हविगत दोहोरिने त होइन भन्ने शसंय पैदा भएको छ ।
