News 24 Television
रविको निर्देशन र बालेनको अस्वीकारोक्तिकाबीच रास्वपा : १८१ को नम्बर गेम !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसदलाई अभिमुखिकरणमा पुगेर सम्बोधन गरे । राइट टु रिकल भन्दै जथाभावी गरे फिर्ता बोलाउने चेतावनी दिएका रविले रास्वपालाई जिम्मेवार बनाउने बताइरहेका छन् । तर, यहि रास्वपाले प्रधानमन्त्रीका रुपमा अघि सारेका बालेन्द्र साह ’बालेन’ भने अभिमुखिकरणमा सहभागी नै भएनन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुरको एक होटेलमा नवनिर्वाचित सांसदहरुलाई अभिमुखिकरण प्रशिक्षण दिएको छ । प्रतिनिधिसभामा पुगेका अनुहार र उनीहरुको आचरणमा जानकार रास्वपा सभापति रवि लामिछानेले जिम्मेवारीपूर्वक कर्तव्यबाट बाहिर नआई कार्यसम्पादनमा अघि बढ्न कडा निर्देशन नै दिए ।

रविले यस्तो निर्देशन दिदा रास्वपाका वरिष्ठ नेता तथा आगामी प्रधानमन्त्री बालेन्द्र साह ’बालेन’ भने त्यहाँ उपस्थित भएनन् । अभिमुखिकरणमा नपुग्ने रास्वपाका एक्ला सांसद बनेका बालेन किन त्यहाँ पुगेनन ? रास्वपालाई आलटाल गर्नै हम्मे परिरहेको छ । 

रास्वपाले बालेनको स्वास्थ्य स्थितिका कारण बैठकमा उपस्थित नभएको जवाफ दिएपनि बालेन निकटका नेताहरुले सरकार निर्माणका निम्ति विज्ञहरुसंगको छलफलमा व्यस्त रहेको भन्ने गरेका छन् । यसले पनि रास्वपालाई बालेनबारेका प्रश्नले दिक्दारी दिएकोमा शंका छैन् । 

किन बालेन अनुपस्थित ?

बालेन पार्टी कार्यालयमा पनि खास पुग्ने गरेका छैनन् । रास्वपाको केन्द्रिय कार्यालयमा बालेनका लागि छुट्टै कार्यकक्ष निर्माण गरिएपनि उनी त्यहाँ नगई कुमार बेन र असिम साहको घरमा योजना निर्माण, भेटघाट र कामहरु गर्ने गरेको देखिन्छ । 

पार्टी कार्यालयदेखि पार्टीको औपचारिक फोरममा समेत अनुपस्थित हुने बालेनलाई पारदर्शीताको प्रश्नमा अब्बल सावित हुने रविको चाहना कसरी मिल्न जाला ? यो आम प्रश्न बन्न पुगेको छ । उसोतः बालेन सरकार निर्माणका निम्ति छलफलमा जुटेको र विषय विज्ञदेखि विभिन्न रणनीतिमा काम गरिरहेको उनको नजिकका नेताहरुले प्रतिक्रिया दिने गरेका छन् । 

चुनावको बेला समेत देश दौडाहाको क्रममा जम्मा २७ मिनेट सार्वजनिक अभिव्यक्ति दिएका बालेन किन सार्वजनिक प्रश्नबाट भागिरहेका छन् ? यो अहम प्रश्न बन्न पुगेको छ । 

उसोतः पार्टी सभापति रवि लामिछानेले नै प्रतिरक्षा गर्दै जनताका प्रश्नको जवाफ दिने र प्रश्न सोध्ने ठेक्का कसैलाई नपरेको भनिसकेका छन् । तर, पारदर्शीता र जवाफदेहीताको सवाललाई पन्छाउदै बालेनको लुकामारी कसरी जनताको मुद्दामा केन्द्रित हुन्छ त्यो भने हेर्न बाँकी छ । 

सरकार गठनको होमवर्क कि के ?

सरकार निर्माणमा रवि–बालेनले आपसी सल्लाहमा टुंगो लगाउने सार्वजनिक अभिव्यक्ति दिदै आएका छन् । रविले मिडिया ट्रायल गरेर यो, त्यो पद भन्दै सार्वजनिक रुपमा नबोल्न उर्दी नै दिइसकेको स्थितिमा बालेन भने मौनताभित्रै आन्तरिक तयारीमा जुटेको दाबी गरिन्छ ।

तर, उनै बालेनलाई प्रधानमन्त्रीका लागि निर्णायक बन्ने सांसदसंगको साक्षात्कार र अभिमुखिकरणमा सहभागीता अस्वीाकले भने प्रश्न उठाएको छ ।

के बालेनले १८१ सांसदलाई कम आँकेका हुन् ? सांसदको साथ र उनीहरुलाई आगामी सरकारको योजना र काम गर्ने रोडम्यापबारे जानकारी दिएर जनतालाई त्यहि अनुसारको सूचना दिन आवश्यक नठानेका हुन ? 

सानो घेराभित्रबाट बालेनले रास्वपाका सांसदको विवेकलाई बन्धक बनाउन खोजेका हुन् ? यस्ता प्रश्नको जवाफ रास्वपाले खोज्ला ? सरकार निर्माणसंगै चासो थप बढ्ने देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update