काठमाडौँ । प्रजातन्त्र पुनस्थापना अर्थात बि.स. २०४८ सालपछि सँधै सत्ताकै वरिपरि रहेका नेकपा एमाले र नेपाली काँग्रेस ऐतिहसिक रुपमै शक्तिविहनी भएका छन् । ३ दशकबढीको समय नेपालमा प्रमुखतः एमाले र काँग्रेस नै पालो पालो सत्ता सत्ताको नेतृत्व सम्हाल्दै आएका थिए । तर फागुन २१ को निर्वाचनको मत परिणामले भने अब काँग्रेस र एमालेलाई सत्ताको परिधिबाट टाढा धकेलिदिएको छ । प्राप्त निर्वाचन परिणामले अब रास्वपाको एकलौटी सरकार बन्न कसैले रोक्नसक्ने छैन । उसले संसदमा झण्डै दुई तिहाई मत प्राप्त गरेको छ । यो कारणले पनि अब रास्वपा नेतृत्वको सरकारलाई प्रतिनिधिसभामा कुनै कारवाही अघि बढाउन र सरकार निर्माण गर्न अन्य दलको सहयोग आवश्यकता पर्नेछैन ।
शक्तिविहिन काँग्रेस एमाले
यो निर्वाचनमा नेपाली काँग्रेसले प्रत्यक्षमा १८ सिट जितेको छ । त्यस्तै नेकपा एमालेले प्रत्यक्षमा ९ सिट जित्यो । यस्तैगरी काँग्रेसले प्रत्यक्षमा १८ लाख हारहारीमा मत प्राप्त गर्दा उसले समानुपातिकतर्फबाट करिब २० सिट प्राप्त गर्ने देखिन्छ । यो आधारले समग्रमा काँग्रेसले ३८ सिट प्राप्त गर्नेछ । त्यस्तै नेकपा एमालेले समानुपातिमा साढे १४ लाख हारहारीमा मत प्राप्त गरेको छ । यो अवस्थामा उसले पनि समानुपातिकमार्फत १६ सिटसम्म प्राप्त गर्नसक्छ । यो मतले समग्रमा एमालेको पनि संसदमा २५ सिटसम्म पुग्ने देखिन्छ । यी दुवैको संख्या जोड्दापनि संसदमा भने जम्मा ६३ सिट मात्रै पुग्छ । जुन सिटले सरकार निर्माण गर्न र भत्काउन कुनै भूमिका खेल्न सक्दैन । अर्कोतर्फ एमाले अध्यक्ष केपी शर्मा ओली र शेरबहादुर देउवा स्वयम पनि संसदमा नहुनुले उनीहरु अब शक्तिहीन बनेका छन् ।
के गर्दैछन् ओली–देउवा ?
यो निर्वाचनपछि काँग्रेस एमाले कमजोर हुनुमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नै भागेदार छन् । ओली देउवाको सत्ता सहकार्य, काँग्रेस एमाले नेतृत्वको सरकारको कुकर्म र जेनजी आन्दोलनप्रतिको असंवेदनशीलताका कारण काँग्रेस एमालेले यो निर्वाचनमा ठूलो क्षति व्यहोर्नु परेको हो ।
अहिले यी सबै परिस्थितको सृजना गर्ने ओली र देउवा अब के गर्छन् ? उनीहरुले यो क्षतिको जिम्मेवारी कसरी लिनेछन् ? भन्ने प्रश्न यत्रतत्र उठिरेहेको छ । यद्यपि ओली र देउवाले यसलाई खास गम्भीर रुपमा लिएका छैनन् । ओली झापा – ५ मा बालेन शाहसँग पराजित भएर अहिले आफ्नै निवास भक्तपुर बालकोटमा रहेको बताइन्छ । उनी अहिलेसम्म निर्वाचनको मत परिणामबारे केही बोलेका छैनन् । निर्वाचन मत परिणाम आइरहँदा उनले केही नेता कार्यकर्ताहरुसँग अब रास्वपा सरकारले जेनजी आन्दोलनकै विषयलाई लिएर आफूमाथि धरपकट गर्नसक्ने भनेर चिन्ता गरेको भने बुझिएको छ ।
यही अवस्थालाई मध्यनजर गर्दै उनले कार्यकर्तालाई जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन निर्देशन दिएका थिए । तर ओलीले लज्जास्पद हारलाई फेसबुकबाट स्टाटस लेखेर स्वीकार गरे पनि कुनै पश्चताव नगरेको बताइएको छ । उता जेनजी आन्दोलनको घटना छानविन गर्न गठिन आयोगले पनि तत्कालीन नेतृत्वलाई कारवाही गर्न सिफारिस गरेको छ । यस्तोमा ओलीलाई आफू पक्राउ पर्ने त्रास बढेको हो । यहीबीच निर्वाचनमा पराजयपछि ओलीले बालेनलाई जितको लागि बधाई र ५ वर्षे कार्यकालयको सुभकामना मात्रै दिए ।
उता शेरबहादुर देउवाले पनि निर्वाचन र मत परिणामलाई कुनै बाल दिएका छैनन् । निर्वाचनभन्दा एक साता अघि नै उपचारका लागि भन्दै सिंगापुर उडेका देउवा ४ दिनपछि फर्किने बताइएको थियो । तर देउवा निर्वाचनको मत परिणाम आइसक्दा पनि अझै स्वेदश फर्किएका छैनन् । सिंगापुरमै रहेर देउवाको सचिवालयले डडेलधुराका काँग्रेस उम्मेदवार हराउन भूमिका खेलेको पनि आरोप लागिरहेको छ । निर्वाचनामा काँग्रेसका कुनै उम्मेदवारलाई मत हाल्न आग्रह नगरेका देउवाले उनको सचिवालयमार्फत डडेलधुराकै काँग्रेस उम्मेदवारलाई मत नहाल्न निर्देशन दिइएको आरोप देउवामाथि लागिरेको हो । तर देउवाको यो भूमिका प्रमाणित भएमा पार्टी नेतृत्वले उनीमाथि कस्तो कारवाही गर्छ, वा उता एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पनि निर्वाचन पराजयको विषयलाई लिएर कस्तो दवाब सृजना गरिएला ? यो भने निर्क्यौल हुन सकेको छैन ।
