News 24 Television
चिसो सिरेटोमा खुल्ला चौरमै पठनपाठन गर्नुपर्ने बाध्यता

मुगु । राज्यका तीनै तहका सरकारले शिक्षा क्षेत्रमा ठूलो लगानी गरे पनि मुगु जिल्लाको सोरु गाँउपालिकामा रहेका सामुदायिक बिद्यालयका विद्यार्थी पर्याप्त भवन र कक्षाकोठा नहँुदा खुल्ला चौरमा बसेर पढ्न बाध्य छन् । जाडो मौसममा भुइमा बसेर पढ्नुपर्दा बिद्यार्थीहरु विरामी पर्न थालेका छन् । 

यो हो मुगु जिल्लाको सोरु गाँउपालिमा वडा नम्बर १० मा धौनमा रहेको जगतमाला माध्यामिक बिद्यालय । यो बिद्यालय २०३१ सालमा स्थापना भएको हो । यो वर्ष बिद्यालयमा छात्रा २३२ जना र छात्र २२२ जना गरी ४ सय ४५ जना विद्यार्थी अध्ययनरत छन् । 

५१ बर्ष पुरानो विद्यालयमा रहेका पुराना काठ, माटो, ढुङ्खाबाट बनेका जिर्ण भवनमा कक्षा सन्चालन हुदै आएको छ । बिद्यालयमा प्रर्याप्त भवन छैन भने कक्षा कोठामा टेबुल, डेक्सबेन्चको समेत अभाव छ । पढ्ने कक्षाकोठाको अभावका कारण फरक कक्षाका विद्यार्थीहरुलाई पनि एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता छ । 

कक्षाकोठा अभावका कारण अधिकांश समय विद्यार्थीलाई खुल्ला चौरमा बसाएर पढाउने गरिएको छ । अझ जाडोको समयमा खुला चौरमा भुइँमा बसेर पढ्दा बिद्यार्थीहरुको दैनिक पठन पाठन प्रभािवत हुनुका साथै स्वास्थ्यमा समस्या हुदै गएको छ  । 

हिजो आज सुख्खा समय भएकाले खुल्ला चौरमा तथा विद्यालय भवनको छतमा बसालेर पढाई सन्चालन गरिए पनि बर्खायाम तथा गर्मिको समयमा शिक्षण क्रियाकलापमा गर्न निकै समस्या हुने गरेको बिद्यालय प्रशासनको गुनासो छ । 

विगतका तुलनामा अहिले विद्यालयको अवस्था धेरै सुधार भएको छ । पुरानो जिर्ण भवनबाट पठनपाठन गर्नुपर्ने बाध्यताकाबीच स्थानीय तहको समन्वयमा २ तले ४ कोठे नयाँ भवन बनाउन सुरु गरिएको छ । बिगतका वर्षहरु भन्दा आफ्नो कार्यकालमा भौतिक पूर्वाधारका साथै शिक्षा क्षेत्रमा धेरै सुधार भएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र बहादुर मल्ल बताउँछन् ।  

सोरु गाँउपालिकामा रहेका सामुदायिक बिद्यालयका पूर्वाधारको समस्या हुदा ४ वटा बिद्यालयमा २ तले ४ कोठाको प्राबिधीक ईस्टीमेट अनुसार भवन निर्माणको काम सुरु गरिएको सोरु गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंगराज डाँगी बताउँछन् ।  

सोरु गाँउपालिकामा रहेका ९५ प्रतिशत सामुदायिक बिद्यालयमा भौतिक पूर्वाधारको अवस्था नाजुक छ । विद्यालयहरुमा शैक्षिक सामाग्रीहरुको समस्या पनि उस्तै छ  । सामुदायिक विद्यालयको भौतिक पूर्वाधारका साथै शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय तथा प्रदेश सरकार लगायत सरोकारवाला गम्भीर बन्न जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update