काठमाडौँ । नेपालको वर्तमान राजनीतिमा पुराना दलप्रतिको आक्रोश र नयाँ शक्तिको उदय एउटा स्वाभाविक लोकतान्त्रिक प्रक्रिया हो । तापनि, यसमा गहिरो वैचारिक खडेरी देखिएको भन्दै राजनीतिक विश्लेषक लगायत पूर्व सुरक्षा प्रमुखहरुले चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय पुराना दल र नेताहरुलाई गाली गरेर, सत्तोसराप गरेर नयाँ नेता बन्ने होड वा लहर नै चलेको छ । केही पत्रकार, कलाकार, सेलिब्रेटी र अभियन्ताहरुले पुरानालाई गाली गरेर चर्चामा आउने र केही प्रशंसक बटुल्दै नयाँ दलमा लाग्ने परिपाटी बसेको छ । तर पुरानाले कहाँ कमजोरी गरे र नयाँले कहाँबाट सुधार गर्ने हो ? देश बनाउने ठोस एजेन्डा के हो ? यसबारे नयाँ दल र नेताहरुसँग सैद्धान्तिक आधार र जवाफ छैन ।
यस धारको प्रतिनिधित्व पछिल्लो समय रास्वपा र बालेन लगायतले गरिरहेका छन् । हालै मात्र रास्वपासँग बालेन र कुलमानहरुको एकता सहमति भएको छ । सामाजिक सञ्जाल, मिडिया लगायत अन्य प्लेटफर्मबाट पुराना दल र नेताहरुलाई गाली गर्दै, आलोचना गर्दै चर्चामा आएका युवाहरु पनि रास्वपामा गोलबन्द हुने क्रम बढेको छ । पुराना दलहरू (कांग्रेस, एमाले, नेकपा आदि) को मुख्य कमजोरी नीतिमा भन्दा पनि नियत र कार्यशैलीमा देखिन्छ । राज्यका हरेक अंगमा दलीय भागबण्डा र भ्रष्टाचारलाई संस्थागत गरिनु, दलभित्र सिन्डिकेट कायम हुनु र दोस्रो तहका नेताहरूले नेतृत्व पाउन नसक्नु, व्यवस्था फेरिए पनि जनताको अवस्था (शिक्षा, स्वास्थ्य, रोजगारी)मा सुधार दिन नसक्नु, नीति निर्माणमा व्यापारी र बिचौलियाहरूको अस्वाभाविक प्रभाव कायम राख्नु उनीहरुको कमजोरी हो ।
नेपाल प्रहरीका पूर्व महानिरीक्षिक एवं हाल समुन्नत पार्टीका अध्यक्ष रहेका सर्वेन्द्र खनालले नेपालको राजनीतिक संस्कार अराजनीतिक दिशातर्फ गएकोमा चिन्ता व्यक्त गरे । नयाँले पुरानालाई र पुरानाले नयाँलाई गालीगलौज गर्ने, प्रतिशोध साँध्ने परिपाटी मौलाएको भन्दै उनले यसको अन्त्य गर्नुपर्नेमा जोड दिए । गाली–गलौजको राजनीतिभन्दा नीति, सिद्धान्त र एजेन्डामा आधारित बहस गर्न आवश्यक रहेको उनको भनाई छ । उनले गाली गर्ने प्रवृत्तिभन्दा माथि उठेर आफू कसरी सही बन्ने भन्ने कुरामा आफ्नो पार्टी केन्द्रित रहेको दाबी समेत गरे । विगतका नेतृत्वहरूले गरेका राम्रा कामलाई निरन्तरता दिनुपर्ने र नराम्रा कामको कानूनी तथा व्यावहारिक रूपमा मूल्याङ्कन हुनुपर्नेमा उनको जोड छ ।
नयाँ शक्ति : लहड कि विकल्प ?
नयाँ दल र नेताहरूले पुरानाको आलोचना गरेर जनमत त बटुलेका छन्, तर उनीहरूमा एजेण्डा, विचारधारा, सिद्धान्त तथा कार्यदिशाको समस्या वा चुनौती देखिन्छन् । उनीहरू कुनै वाद वा सैद्धान्तिक आधारभन्दा पनि ‘पपुलिज्म’मा बढी केन्द्रित छन् । देशको अर्थतन्त्रको मोडेल कस्तो हुने (समाजवाद कि पूँजीवाद ?) भन्नेमा स्पष्ट मार्गचित्र छैन । भावनाको लहरमा बनेका दलहरूमा सांगठनिक अनुशासन र तल्लो तहसम्मको संरचना समेत छैन । साथै कर्मचारीतन्त्र कसरी सुधार्ने, वैदेशिक ऋणको व्यवस्थापन कसरी गर्ने र उत्पादन वृद्धि कसरी गर्ने भन्ने ठोस प्राविधिक योजना पनि छैन, केवल चर्को भाषण र गालीको भाषामा जोडबल देखिन्छ ।
रास्वा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेनबीच सात बुँदे समझदारी हुँदा ती बुँदामा मुलुकलाई दीर्घकालीन निकास दिने कुनै ठोस एजेन्डा नभएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ । उनीहरुले यो सहमति मुख्यतः पपुलिज्ममा आधारित रहेको र यसले देशलाई वास्तविक निकास दिन नसक्ने तर्क गरेका छन् । विज्ञहरुका अनुसार रवि, बालेन र कुलमानहरुको पछिल्लो सहमति देखाउनका लागि मात्र हो, यसमा देश चलाउने स्पष्ट योजना र भिजन छैन । यो जनताको रिस र निराशालाई प्रयोग गरेर छोटो समयमा लोकप्रिय बन्ने शैलीको राजनीति हो, जसले अन्ततः देशलाई फाइदा भन्दा बढी हानि गर्छ । नेपालको राजनीतिमा पपुलिज्मको बढ्दो प्रभाव र संस्थागत कमजोरी छ ।
अतः पुरानाको असफलता नै नयाँको जन्मको कारण हो । तर, ‘तिमी खराब छौ’ भन्नु मात्रै पर्याप्त छैन, ‘म यसरी राम्रो गर्छु’ भन्ने ठोस आधार नयाँदे दिन सक्नुपर्छ ।
