News 24 Television
पार्टी सर्वनाश हुँदा पनि ढुक्क ओली, छैन नेतृत्व छाड्ने छाँट !

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो र पार्टीको ऐतिहासिक हारपछि पनि गलेका छैनन् । यो अवस्थामा ओली अझै पार्टी नेतृत्वमा रहिरहने मुडमा देखिएका छन् । फागुन २१ को निर्वाचनमा एमालेले जम्मा २५ सिट जितेको छ । जबकी एमाले अघिल्लो संसदमा ७८ सिटसहित संसदमा दोस्रो ठूलो दल थियो । एमालेको यो पटकको हार २०४८ सालको निर्वाचनपछिको सबैभन्दा ठूलो हार हो । २०६४ सालमा माओवादीको लहरको बेला पनि एमालेले यो तहसम्मको हार व्यहोरेको थिएन । सो सयम एमाले तत्कालीन ६०१ सिटको संसदमा झण्डै २० प्रतिशत मत प्राप्त गर्दै १०३ सिट जितेको थिो । तर हालको निर्वाचनमा भने एमालेलाई समग्रमा १३ प्रतिशत मत मात्रै प्राप्त भएको छ ।  

रास्वपा र काँग्रेसभन्दा एमाले कति सानो ? 

यो निर्वाचनमा एमाले तेस्रो दल बनेको छ, त्यो पनि फराकिलो मतान्तरले । निर्वाचन आयोगको अन्तिम मत परिणाम अनुसार रास्वपाले प्रत्यक्षतर्फ र समानुपातिक गरेर १८२ सिट जितेको छ । यो तथ्याङ्क अनुसार एमाले रास्वपाभन्दा संसदमा १५७ सिटले सानो भएको छ ।  उता ३८ सिट जितेको काँग्रेसभन्दा पनि एमाले १३ सिटले सानो बनेको छ । जबकी काँग्रेस आँफैले यो चुनावमा लज्जास्पद हार व्यहोरेको पार्टी हो । 

हारपछि एमाले नेताले के भने ?

निर्वाचन मत परिणामपछि एमाले अध्यक्ष केपी शर्मा ओली आँफैले निर्वाचनमा अपेक्षित मत प्राप्त नभएको स्वीकार गरेका छन् । तर उनले पार्टीको समीक्षा गर्नुपर्ने विषयलाई औँल्याएका छैनन् । पार्टी उपाध्यक्ष विष्णु पौडेलले भने बिगतका कमी कमजोरीका कारण पार्टी पराजित भएको टिप्पणी गरेका छन् । उनले यसमाथि गम्भीर समीक्षा गर्नुपर्ने भन्दैे पार्टीको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई आवश्यक पुनर्गठन गर्नुपर्ने उल्लेख गरेका छन् । उता पार्टी महासचिव शंकर पोखरेलले भने पार्टीको हारको प्रमुख कारण कारण परिवर्तनको लहर भएको उल्लेख गरेका छन् । रास्वपाप्रतिको लहरले एमाले बच्न नसकेको उनको विश्लेषण छ । यस्तै उपमहासचिव योगश भट्टराईले भने एमालेको हारलाई लिएर अब पार्टी नेतृत्वले मार्ग प्रशस्त गर्नुपर्ने भनेका छन् । ओलीलाई नै इंगित गरेर योगेशले नेतृत्व नछाडे अप्रिय निर्णय लिनुपर्ने  अवस्था आउने भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका छन् । 

नैतिक जिम्मेवारी लिन तयार छैनन् ओली 

पार्टीको विधान नै संशोधन गरेर लगातार तेस्रो पटक अध्यक्ष बनेका ओली ऐतिहासिक पराजय पछि पनि नैतिक जिम्मेवारी लिन तयार देखिएका छैनन् । विगतमा पार्टीले ठूला हार व्यहोरेमा नेतृत्वले नैतिक जिम्मेवारी लिने प्रचलन छ । २०६४ सालकै निर्वाचनमा पनि तत्कालीन पार्टी महासचिव माधवकुमार नेपालले काठमडौं – २ र रौतहट – ६ मा पराजय भोगेपछि नैतिकताका आधारमा पदबाट राजीनमा दिएका थिए । तर अहिलेको लज्जाजनक हारमा भने केपी ओलीले अध्यक्षबाट राजीनामा दिने छाँट देखिाएका छैनन् । ओली निर्वाचन भइरहँदा समेत एमालेले बहुमत ल्याएर वा सबैभन्दा ठूलो दल बनेर सरकार चलाउने धाक दिने पात्र हुन् । उनी मतदान गरिरहँदा पनि निर्वाचन पछि आफू नै प्रधानमन्त्री बन्ने दावी गरिरहेका थिए । 

तर ओली झापा – ५ मा रास्वपाका उम्मेदवार बालेन शाहसँग नै झण्डै ५० हजारमतान्तरमा हारेका छन् । यतिसम्मको व्यक्तिगत र पार्टीको लज्जास्पद हार हुँदा पनि ओलीले नैतिक जिम्मेवारी लिने संकेत गरेका छैनन् । हुनपनि उनले निर्वाचन अघि नै पार्टीको महाधिवेशन गरेर अध्यक्षमा विजयी प्राप्त गरेका थिए । भर्खरै पार्टी अध्यक्षमा विजयी भएकाले पनि आफूमाथि प्रश्न गर्ने नेतालाई प्रतिजवाफ दिन सहज मानेका ओलीले हारकाबीच नैतिक प्रश्नलाई टारेर नेतृत्वमै रहिरहने रणनीति अपनाइरहेको प्रष्ट छ । ओलीको यो रणनीति पार्टीका लागि घातक होला कि सफल सावित होला ? यो भने भविष्यले नै देखिाउने छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update