News 24 Television
'उथलपुथल' लिएर आए कर्ण दयाल, काठमाडौँमा विमोचित

काठमाडौँ । बैतडीका साहित्यकार कर्ण दयाल 'सोराडी’को मुक्तकसङ्ग्रह ‘उथलपुथल’ शनिबार एक कार्यक्रममा विमाेचन भएकाे छ । बालुवाटारस्थित लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहलमा राजनीतिक विश्लेषक, इतिहासविद् तथा वरिष्ठ समालोचक प्रा.डा. गोविन्द मानसिंह कार्कीकाे प्रमुख आतिथ्यमा विमाेचन गरिएकाे हाे ।

हामी र हाम्रो कृति समाजको २४औँ  प्रकाशनका रूपमा दयालकाे उक्त मुक्तकसंग्रह प्रकाशित भएकाे हाे । कविता, गलल, लघुकथा, मुक्तक, सांस्कृतिक लेख तथा अनुसन्धानमूलक लेखमा कलम चलाउँदै आएका दयालकाे उथलपुथल १० औँ एकल कृति हो । उनका ४ वटा संयुक्त कृति समेत प्रकाशित छन् । 

दीपोज्वलन साथै राष्ट्रिय गानसहित सुरु गरिएको विमाेचन कार्यक्रमको सञ्चालन हामी र हाम्रो कृति समाजकी संस्थापक सदस्य सुभद्रा अधिकारीले उत्कृष्ट तरिकाले गरिन् । स्वागत मन्तव्य  हामी र हाम्रो कृति समाजका विशिष्ट आजीवन सदस्य गोविन्द पौडेलले दिएका थिए ।

प्रमुख अतिथि प्रा.डा. गोविन्द मानसिंह कार्कीले विमोचित कृतिलाई १८ बुँदामा वर्गीकरण गरेर उत्कृष्ट तरिकाले समीक्षा गरेका थिए । शुभकामना मन्तव्य तथा विमोचित कृतिमाथि सटिक टिप्पणी गर्ने अतिथिहरूले कर्ण दयालद्वारा लिखित उथलपुथल  मुक्तकसङ्ग्रह एक उत्कृष्ट कृतिको रूपमा रहने टिप्पणी गरे । 

संस्थाका अध्यक्ष मदन प्रसाद नेपालले संस्थाले आगामी दिनमा १२ जना स्रष्टाका कृतिहरू हरेक महिनाको तेस्रो हप्ता पालैपालो गर्दै जाने बताए । उक्त संस्थालाई विश्वास गर्ने देशका जुनसुकै कुनामा रहेका  सर्जकहरूको कृति विमोचनका लागि पनि संस्था सदैव तयार रहेको विश्वास दिलाए । संस्थाका सचिव बद्री उप्रेतीको कुशल व्यवस्थापनमा  सञ्चालन भएको कार्यक्रम हामी र हाम्रो कृति समाजका आजीवन सदस्य  मीरा न्यौपाने गजुरेलको अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

त्यसैगरी विशिष्ट अतिथिको आसनमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार विजयध्वज थापा रहनुका साथै विमोचित कृतिमाथि टिप्पणी गर्ने अतिथिहरूमा प्रलेस केन्द्रीय अध्यक्ष डा. श्री देवी क्षेत्री दुलाल, मधुपर्कका प्रधान सम्पादक श्री त्रिभुवनचन्द वाग्ले, जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष श्री शेरबहादुर विश्वकर्मा, जनसांस्कृतिक महासंघका केन्द्रीय महासचिव कुशल बोगटी तथा प्रलेस केन्द्रीय सचिवालय सदस्य गोविन्द आर्याल श्रृखंला रहेका थिए । 

02aac5f1-fe3d-4ad9-892e-89b2a1aa6b67-1765637084.jpg
 

कार्यक्रमा लगभग ५७ जना उपस्थित साहित्यकारहरू मध्येबाट राजेशमान केसी, प्रमुना पौडेल, मन भुजेल, नानु राना थापा, शिवहरि थापा, बद्री थापा, बृन्दा ढुङ्गना, शशीश्री अर्याल, कुमार नेपाल, प्रधुम्न अधिकारी, निरा श्रेष्ठ लगायतका स्रष्टाहरुले विमोचित कृतिबाट मुक्तक वाचन गरेका थिए । 

कृतिकार कर्ण दयाल सोराडीले छोटो समयमा पुस्तक तयार पारेर लोकार्पण गरिदिएकोमा हामी र हाम्रो कृति समाजका सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गरे । विभिन्न खाले विभेद, शोषण, दमन, थिचोमिचो, भ्रष्टाचार, बेथिति, बेरोजगारी, भोकमरी र असमानता विरुद्धमा तथा न्याय, समानता, स्वाधिनता र स्वतन्त्रताको पक्षमा आवाज उठाउँदा राणाकालदेखि हालसम्म राज्यबाट हत्या गरिएका, घाइते-अपाङ्ग र बेपत्ता पारिएका, याताना हिरासत तथा जेलजीवन बिताइरहेका युवा एवं जेनजीहरुप्रति सर्मपण गरी लेखिएको उक्त संग्रहमा भुइमान्छेको जीवनलाई आधार बनाएर वर्ग, समाज, राष्ट्र-राष्ट्रियता, न्याय-समानता र समाजवादको सवाललाई उठाउन खोजिएको दयालले बताए । 

अन्त्यमा कार्यक्रमका सभाध्यक्ष मीरा न्यौपाने गजुरेलले उक्त कार्यक्रम ऐतिहासिक भएको र विमोचित कृति नेपाली साहित्यको भण्डारमा उदाहरणीय दस्तावेजको रूपमा रहने कुरामा आफू विश्वस्त रहेको बताइन् । 

विमोचित कृतिभित्र ३०० वटा मुक्तकहरू संग्रहीत छन् । रु ३५० मुल्य रहेको यस कृतिमा अग्रज मुक्तककार उषा शेरचन, प्रलेस केन्द्रीय अध्यक्ष डा. देवी क्षेत्री दुलाल, जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष माइला सी, पत्रकार तथा सामाजिक अभियन्ता नवराज पहाडी, हामी र हाम्रो कृति समाजका अध्यक्ष मदन नेपाल तथा सचिव बद्री उप्रेतीले शुभकामना मन्तव्य लेखेका छन् ।

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update