News 24 Television
अझैसम्म भएन हिमाली जिल्लामा हिमपात, किसान चिन्तित

मुगु । यो बर्ष लामो समयसम्म हिमपात नहुँदा मुगु लगायत कर्णाली प्रदेशका हिमाली जिल्लाका किसानहरु चिन्तित भएका छन् । समयमै हिमपात हुँदा अन्नबालीहरु राम्रो हुन्थ्यो । तर माघ लागि सक्दा पनि हिमपात नहुँदा हिउदे अन्न बाली तथा फलफुलका बिरुवाहरु सुकेर जान थालेका छन् । 

बिगतका बर्षहरुमा मंसिर, पुस महिनामै हिमपात भई डाडाकाडा सेताम्मे हुनुका साथै अन्न बालीहरुमा पनि राम्रो उत्पादन हुने गर्दथ्यो । तर यो वर्ष भने माघको पहिलो सातासम्म पनि हिमपात भएको छैन । जसले गर्दा हिउदे अन्न बाली, तरकारी तथा फलफुलका बोट बिरुवा सुक्न थालेका छन् । 

माघसम्म पनि हिमपात नभएपछि वर्षाका समयमा पनि खडेरी पर्ने चिन्ता किसानहरुलाई छ । ‘पुसको हिउँ सिला, माघको हिउँ बिला’ भन्ने गरिन्छ । तर अहिले माघ लागिसक्दा पनि हिमपात तथा हिउँदे वर्षा नहुँदा अन्न बालीहरु सुक्न थालेका छन् । यतिबेला सेताम्य हुने हिमालहरु पनि कलापत्थर जस्तो देखिएको छ । 

पुस महिनामै हिमपात हुँदा माटो भिजेर बाली सप्रिन्छ । तर जमिन तातिएपछि हिउँ पदाृ हिउँको पानी तल जमिन मुनि नपुग्दै सुक्ने भएकाले चिस्यान नहुँदा खेतीबालीलाई असर भर्ने कृषि विज्ञहरु बताउँछन् । 

मुगुको ३ लाख १० हजार ३ सय १० हेक्टर जमिन मध्य १६ हजार ७ सय ६३ हेक्टर जमीन खेतियोग्य छ । ती मध्ये १९ सय ३२ हेक्टर जमिनमा हिउदे खेती गर्ने गरिन्छ ।

हिउँदे वाली अन्तर्गत नै आलु र हिउँदे तरकारी ४ सय ७० हेक्टरमा लगाउने गरिन्छ भने १२ सय हेक्टरमा हिउँदे फलफुल लगाउने गरिएको कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ । सिंचाईको ब्यवस्था नहुँदा यहाँका अधिकांश क्षेत्रका अन्नबालीहरु आकाशे पानीमा निर्भर छ । हिमपात तथा हिउँदे वर्षा नहुँदा ‘यहाँको मुख्य बाली जौँ, गहुँ र उवा तथा स्याउ, नासपति, ओखर, आरु लगायतका फलफूल उत्पादनमा ह्रास आउने देखिएको छ । 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update