काठमाडौँ । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा लगायत तडकभडक नगर्न चेतावनी दिएका छन् ।
सञ्चारकर्मीहरुसँग सोमवार आयोगमा कुराकानी गर्दै उनले उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक नगर्न चेतावनी दिएका हुन् । तडकभडकलाई कानूनले पूर्ण रुपमा निषेध गरेको र आचारसंहीताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरु नगर्न सचेत गराए ।
आचारसंहिता उल्लंघन गर्नेविरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी पनि उनले दिए । निष्ठापूर्वक आचारसंहितालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न आग्रह गरे ।
प्रमुख कार्यवाहक निर्वाचन आयुक्त भण्डारीले अब हुने निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुने दाबी गरे । निर्वाचन हुँदैन कि भन्ने शंका नगर्न पनि आग्रह गरे ।
उनले भने, ‘उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा लगायतका तडकभडक हुन्छ । यो पूर्ण रुपमा कानूनले निषेध गरेको छ । आचारसंहीताले निषेध गरेको छ । आचारसंहीताले निषेध गरेका कामहरु प्रयोग नगरीकन निष्ठापूर्वक आचारसंहीतालाई परिपालन गर्दै मनोनयन पत्र दाखिल गर्न जानुभयो भने सबै सरोकारवाला लगायत मतदाताहरुको र त्यसलाई टड्कारो रुपमा हेरिरहनुभएका विदेशमा रहेका, नेपालको निर्वाचनप्रति चासो र सरोकार राख्ने व्यक्तिहरुको बीचमा पनि अब हुने निर्वाचन, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा निर्वाचन हुँदैछ । यो निर्वाचनमा कुनै शंका, उपशंका गर्नुपर्दैन ।’
