News 24 Television
झापामा बालेनको चुनौती ओलीलाई, मतदाताको झुकाव कता ?

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढेसँगै नेता तथा उम्मेदवारहरु आ–आफ्नो निर्वाचन क्षेत्र फर्किन थालेका छन् । मतदातासँग भेटघाट, भलाकुसारी गर्दै आगामी चुनावी रणनीति तय गर्न नेताहरुको सक्रियता बढ्न थालेको छ । यसै क्रममा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जेन–जी आन्दोलनपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका छन् । स्थानहद तथा यात्रा प्रतिबन्धका कारण लामो समय काठमाडौँ उपत्यकामै सीमित रहेका ओली उक्त प्रतिबन्ध फुकुवा भएसँगै सोमबार झापा ओर्लिए । त्यहाँ उनले स्थानीय नेता–कार्यकर्ता र मतदाताहरूसँग आगामी निर्वाचन लक्षित भेटघाट गर्नुका साथै चुनावी रणनीतिबारे छलफल शुरु गरेका छन् । 

सो क्रममा ओलीले निर्वाचनका लागि शान्ति–सुरक्षा अझै कायम हुन नसकेको भन्दै निर्वाचन आयोग र सरकारको आलोचना गरे । ओलीका अनुसार निर्वाचन आयोगमाथि अहिले प्रश्न उठ्ने अवस्था आइरहेकाले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित हुनेमा आशंका छ । यद्यपि एमाले जस्तोसुकै अवस्थामा पनि निर्वाचनमा भाग लिने बताएका ओलीले झापा क्षेत्र नं. ५ कुनै पनि हिसाबले निर्वाचनको इपि सेन्टर नरहेको बताए । 

गत भदौमा भएको जेन–जी आन्दोलनपछि मुलुकको राजनीतिक चित्र बदलिने क्रममा छ । नयाँ तथा चर्चित अनुहारुहरुप्रति युवा मतदाताहरुको क्रेज बढ्दै जाँदा पुराना पार्टी अधिकांश नेताहरु ओझेलमा पर्ने खतरा बढेको छ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता मंगलबार सुरु हुँदैछ । झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराउन र कार्यकर्तालाई आवश्यक निर्देशन दिन ओली झापा पुगेका हुन् । यो क्षेत्र ओलीको परम्परागत गढ मानिन्छ । तर, यसपटक उक्त गढमा धावा बोल्न रास्वपाका वरिष्ठ नेता एवं काठमाडौँ महानगनरका निर्वतमान मेयर बालेन्द्र शाह (बालेन) अघि सरेका छन् । 

झापा क्षेत्र नं. ५ को आगामी चुनावी परिदृश्य निकै रोचक र चुनौतीपूर्ण हुनेमा दुईमत छैन । युवामाझ लोकप्रिय रहेका बालेनले ओलीलाई पराजित गर्ने अठोटका साथ अघि सर्नुले राष्ट्रिय राजनीतिमै नयाँ तरंग पैदा गरेको छ । यद्यपि ओलीका मतदाताले तलमाथि गरेनन् भने बालेनलाई जित्न चुनौती नै देखिन्छ । झापा– ५ मा ओलीको पकड दशकौँदेखि बलियो छ । २०७९ को निर्वाचनमा ओलीले करिब ५२ हजार मत ल्याएर निकै फराकिलो मतान्तरले जित हासिल गरेका थिए । दमक र आसपासका क्षेत्रमा भएका भौतिक पूर्वाधार विकास तथा तथा सरकारमा हुँदा निरन्तर ठूलो बजेट आफ्नो क्षेत्रमा पारेर मतदाता रिझाउने काम नै ओलीको आगामी चुनावी शक्ति हो । एमालेको भुइँ तहसम्मको संगठन यो क्षेत्रमा निकै चुस्त छ, जसलाई तोड्न जोकोही ‘टुरिस्ट’ उम्मेदवारलाई कठिन हुन्छ ।

यद्यपि परिवर्तनशील समयमा जेसुकै पनि सम्भव छ । भदौको ‘जेन–जी’ आन्दोलनपछि नेपालको राजनीतिमा युवाहरूको भूमिका निर्णायक बनेको छ । बालेन शाहले यही युवा लहर र परिवर्तनको एजेन्डालाई मुख्य हतियार बनाएका छन् । बालेनले रास्वपामा प्रवेश गरी आफूलाई आगामी ‘प्रधानमन्त्रीको उम्मेदवार’ का रूपमा प्रस्तुत गरेका छन् । यसले रास्वपाको घण्टी चिन्ह र बालेनको व्यक्तिगत क्रेजलाई एकाकार गरेको छ भने पुराना दलप्रति वाक्क भएका युवाहरुको मत तान्ने सम्भावना बलियो बनाएको छ । काठमाडौँमा जस्तै झापाका शहरी क्षेत्रका युवा मतदाताहरूमा बालेनप्रतिको आकर्षण उच्च देखिएको छ । सामाजिक सञ्जाल र काठमाडौँमा उनले गरेको कामको प्रभाव यहाँका युवाहरूमा परेको छ ।

यसपटकको चुनाव अघिल्ला चुनावजस्तो एकपक्षीय नहुने संकेतहरू देखिएका छन् । ओलीले आफ्नो संगठन र पुराना मतदाता जोगाउनुपर्ने चुनौती छ भने बालेनले सामाजिक सञ्जालको क्रेजलाई ‘मत’ मा बदल्नुपर्नेछ । नेपाली कांग्रेस र अन्य दलका असन्तुष्ट मतदाताहरूको झुकाव कता रहन्छ भन्ने कुराले पनि निर्णायक अर्थ राख्छ । यदि कांग्रेसले बलियो उम्मेदवार नउठाएमा बालेन र ओलीबीच सिधै ‘हेड–टु–हेड’ प्रतिस्पर्धा हुने देखिन्छ । यो एक प्रकारको पुरानो सत्ता, पुराना नेता र नयाँ युवा जोशबीचको जनमत संग्रहजस्तै हुने छ । तर यहाँको नतिजा पूर्वानुमान गर्न गाह्रो छ । 
 

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update