News 24 Television
रविले वारेशमार्फत दर्ता गराए उम्मेदवारी, चितवनका सबै क्षेत्रकाे अपडेट

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बकर २ बाट उम्मेद्ववारी दर्ता गराएका छन् । उनले रास्वापा भरतपुर महानगर सभापति सीता ज्ञवालीको वारेशनामा मार्फत उमेद्वारी दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत देवीराम भण्डारीले वारेस नामा मार्फत उम्मेद्धारी दर्ता भएको जानकारी दिए । लामिछानेको प्रस्तावकमा विक्रम श्रेष्ठ र समर्थकमा रामजी ठकुरी रहेका छन् । लामिछानेको सहकारी ठगी मुद्दामा जिल्ला अदालत पर्सा रहेका कारण आउन ढिला भएपछि वारेस नामा मार्फत उम्मेदवारी दर्ता गरिएको हो । यस संगै चितवन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसबाट मिना खरेल, नेकपा एमालेबाट अश्बिन घिमिरे र नेपाली कम्युनिष्ट पार्टीबाट प्रताप गुरुङ्ले उम्मेद्धारी दर्ता गराएका छन् ।

यस्तै चितवन क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका राजेन्द्र प्रसाद बुर्लाकोटी, एमालेका दावा दोर्जे लामा, नेपाली कम्युनिष्ट पार्टीबाट डा. कृष्णराज पन्तले र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले उम्मेद्धारी दर्ता गराएका छन् । यस्तै क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका टेक प्रसाद गुरुङ्, नेकपा एमालेका शंकरराज थपलिया, नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतमले उम्मेद्धारी दर्ता गराएका छन् ।

आसन्न प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा ४ लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । जसमा २ लाख १७ हजार ३१४ जना पुरुष र २ लाख २४ हजार ७६६ जना महिला एवं २ जना तेस्रो लिङ्गी रहेका छन् ।

जिल्लाका १६२ वटा स्थल र ४९४ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् । निर्वाचन कार्यालय चितवनका प्रमुख भिमशेन कार्कीले प्रतिनिधि सभा निर्वाचन २०७९ को निर्वाचनको तुलनामा यस वर्ष हुने प्रतिनिधि सभा निर्वाचनमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र थप भएको बताए । 

क्षेत्र नम्बर १ मा १ लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन् । जसमा ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदान स्थल र १६८ वटा मतदान केन्द्र रहेका छन् ।

यस्तै क्षेत्र नम्बर २ मा १ लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । ती मध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ वटा स्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् ।

क्षेत्र नम्बर ३ मा १ लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । ती मध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरुले ६३ वटा स्थल र १७४ वटा केन्द्रबाट मतदान गर्ने छन् ।

प्रतिनिधि सभा २०७९ मा जिल्लामा ४ लाख ८ हजार ३४२ मतदाता रहेका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update