काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आठौँ पटकको निर्वाचन जित्न चुनौती पर्ने देखिएको छ । केपी शर्मा ओलीले २०४८ सालदेखिको धेरैजसो निर्वाचन जित्दै आएका छन् । उनले झापाका विभिन्न क्षेत्रमा उम्मेदवारी दिँदा अहिलेसम्म ७ मध्ये मा ६ जित निकालेका छन् । ओलीलाई २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने माओवादीका उम्मेदवार विश्वदिप लिङ्देनले पराजित गरेका थिए ।
त्यसबाहेकका सबै निर्वाचन ओलीले जित्दै आएका छन् । तर अब ओलीलाई आफ्नो आठौँ पटकको निर्वाचन जित्न भने सकस पर्ने देखिन्छ । किनकी ओलीले यो पटक काठमाडौं महानगरको मेयरबाटै राजीनामा दिएर आफूविरुद्ध चुनावी प्रतिस्पर्धामा आएका बालेन शाहविरुद्ध जित निकाल्नुपर्नेछ । पछिल्लो समय मतदाताको रोजाइमा नयाँ पुस्ता पर्दै गएकाले पुरानालाई विस्थापित गर्ने खतरा रहँदा ओलीको जित संभावना न्यून रहेको विश्लेषण हुन थालेका छन् ।
ओलीको चुनावी इतिहास
२०४८ मा झापा –६ बाट पहिलो पटक विजयी
२०५१ मा झापा –२ बाट विजयी
२०५६ मा झापा –६ बाट विजयी
२०६४ को पहिलो संविधानसभाको निर्वाचनमा पराजित
२०७० मा झापा – ७ बाट विजयी
२०७४ मा झापा – ५ बाट विजयी
२०७९ मा झापा – ५ बाट विजयी
२०८२ मा – ५ परीक्षण हुन बाँकी
झापा– ५ को दृश्य !
दशकौँदेखि संसदमा प्रतिनिधित्व गर्दै आएका केपी ओलीका लागि झापा नौलो रहेन, एमालेको संगठन बलियो हुनाले पनि झापामा ओली लोकप्रियता कम छैन । तर अर्का उम्मेदवार बालेनका लागि नौलो ठाउँ भए पनि झापामा उनको क्रेज कम देखिएन । मंगलबार उम्मेदवारी दर्ता गर्न पुगेका बालेनलाई स्वागत गर्न हजारौँ मर्थक सडकमा ओर्लिए । जुन भिड नियन्त्रणकै लागि सकस परेको थियो । उक्त भिड निर्वाचन कार्यालय नै पुग्न खेजेपछि बालेन शाह आँफै नियन्त्रणका लागि खटिनु प¥यो ।
तर यो दृष्यलाई कतिपयले बालेनको चरित्र र शैलीसँग दाँजेर टिप्पणी गरेका छन् । यद्यपि यो दृष्यको वास्तविकता भने निर्वाचन आचारसंहिता परिपालनासँग जोडिएको छ । बालेन निकट स्रोतकै अनुसार बालेन मनोनयनका लागि दमक पुग्दा समर्थकहरुले नारा जुलुस लगाएर घेरिएपछि प्रहरीले निर्वाचन कार्यालयको सय मिटर परै रोक्यो । तर समर्थकको भिड रोकिएनन् । यसपछि उक्त भिडलाई रोक्न बालेन आँफै अघि सरेको बताइएको छ । निर्वाचन आचारसंहितामा उम्मेदवारी दर्ता गर्न जाँदा २५ भन्दा बढी संख्यामा जान नपाइने उल्लेख छ । उता एमाले अध्यक्ष केपी शर्मा ओलीले भने बालेनको समर्थनको भिडलाई नजरअन्दाज गरेका छन् । ओलीले रास्वपा र बालेनको जनाआकषर्णप्रति लक्षित गर्दै युवाहरुमा भ्रम पैदा भइरहेको टिप्पणी गरे ।
निर्वाचनको मुखमा ओलीलाई धक्का !
झापा –५ मा तुलनात्मक रुपमा मुख्य मतदाता रहको क्षेत्र दमक नगरपालिका नै हो । तर निर्वाचनको मुखमै युवा संघ दमक नगर कमिटिका अध्यक्ष छबि खतिवडा र उपाध्यक्ष विजय तामाङले नै पार्टी छाडेको घोषणा गर्दै बालेनको पक्षमा खुलेका छन् । अध्यक्ष खतिवडाले सामाजिक संजालमै बालेनसँगको तस्बीर राखेर युवा सङ्घ दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा समर्थन जनाउने घोषणा गरेका हुन् । उता नेपाली कांग्रेसको दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले पनि मंगलबार नै पार्टी परित्याग गरेर बालेनलाई नै निर्वाचनमा सघाउने घोषणा गरेका थिए । उनले पनि सामाजिक संजाल फेसबुकमा स्टाटस लेखेर आफू परिवर्तनको पक्षमा उभिएको बताएका थिए ।
बालेन–ओली रणनीति !
झापा – ५ मा औपचारिक रुपमै मुख्य प्रतिस्पर्धी भएपछि बालेन र ओलीले अहिले आफ्ना मतदाताहरुसमक्ष भेटघाट र छलफल थालिसकेका छन् । ओली र बालेनले बुधबार बिहानैदेखि आफ्ना मतदाताहरुसँग भेटघाट थालेका छन् । चुनावी प्रतिस्पर्धा कडा हुने अनुमान हुन थालेपछि उनीहरुले युवा पुस्तालाई नै केन्द्रमा राखेर अभियान गरिरहेका छन् । चुनावी अभियानको सुरुवातमै ओलीसँग युवा नेता सुहाङ नेम्वाङ पनि देखिएका छन् । उता बालेनले पनि मुख्यतः युवा पुस्ताहरुलाई केन्द्रमा राखेर चुनावी प्रचारप्रसार गरिरहेका देखिएका छन् । परिवर्तित राजनीतिक चेत र युवा पुस्ताको जनआकर्षणले अहिलेको निर्वाचन जित्न ओलीलाई सकस छ । जेनजी आन्दोलनको दमन र बारम्बारको राजनीतिक असफलताका कारण पनि ओलीका लािग यो आठौँ पटकको निर्वाचन खड्कोको रुपमा खडा भएको देखिन्छ ।
