काठमाडौँ । तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली जेन–जी आन्दोलनको बलमा सत्ताच्युत भए । त्यसलगत्तै बनेको अन्तरिम सरकारले उनलाई स्थानहद र यात्रा प्रतिबन्ध लगायो । हालै मात्र उक्त प्रतिबन्ध फकुवा भएसँगै गृहजिल्ला झापा पुगेर जेन–जी आन्दोलनका क्रममा जलाइएका, तोडफोड गरिएका संरचना अवलोकन गरेका छन् । आगामी निर्वाचनको मुखमा एमालेले उक्त आन्दोलनको क्रममा (भदौ २४ गते) भएको आगजनी र विध्वंशलाई चुनावी एजेन्डा बनाएको देखिन्छ ।
उता ओलीलाई चुनौती दिन झापाबाटै उम्मेदवारी दर्ता गराएका तत्कालीन काठमाडौँ महानगरका मेयर बालेन र उनको दल रास्वपाले पनि भदौ २३ गते तत्कालीन ओली सरकारबाट भएको आन्दोलनमाथिको दमन तथा कलिला विद्यार्थीमाथि गोली प्रहारको घटनालाई केन्द्रमा राखी प्रचार गरिरहेका छन् । आगामी निर्वाचनमा तत्कालीन सत्तापक्ष (केन्द्रमा ओली) र जेनजी आन्दोलनका समर्थक (केन्द्रमा रास्वपा) शक्तिबीच प्रतिशोधमय प्रतिस्पर्धा हुने देखिन्छ । यसको लक्षण उम्मेदवारी दर्ताकै क्रममा देखिइसकेको छ । झापामा मंगलबार बालेन र ओलीको उम्मेदवारी दर्ताका क्रममा एमाले र रास्वपा कार्यकर्ताबीच झडप समेत भएको थियो ।
सोमबार झापा पुगेका ओलीले आफ्नो निर्वाचन क्षेत्र नम्बर ५ मा भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी भएका संरचनाहरूको अवलोकन जारी राखेका छन् । दमक र आसपासका क्षेत्रमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका स्थानीय तहका भवन, प्रहरी कार्यालय, भ्यूटावर, सार्वजनिक संरचना र निजी सम्पत्ति अहिले पनि भग्न अवस्थामै देखिन्छन् ।
ती संरचनाहरुको अवलोकनका क्रममा ओलीले क्षति भएको सम्पत्तिको पुनर्निर्माण र प्रभावितहरूलाई राहत उपलब्ध गराउन आवश्यक पहल गर्ने बताए । शान्ति र विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका ओलीले हिंसात्मक घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न सरकारसँग माग पनि गरे । उम्मेदवारी मनोनयन दर्तापछि ओलीले आगो लगाउनेहरुबाट देश जोगाउनु नै अहिलेको आवश्यकता भएको बताएका थिए । बुधबार पनि ओलीले सार्वजनिक सम्पत्ति जलाउनेहरुलाई कारबाहीको दायरामा ल्याउने बताउँदै आपराधिक गतिविधि गर्नेहरुलाई प्रोत्साहन गर्न नसकिने बताए ।
एमालेका उपाध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ले रास्वपालाई भदौ २४ गते सिंहदरबार लगायत सार्वजनिक संरचना जलाउने ‘स्टेकहोल्डर’को संज्ञा दिँदै त्यस्तो पार्टीले आगामी निर्वाचनमा जित्ने आधार नरहेको र उक्त पार्टीको भविष्य पनि नरहेको जिकिर गरे । मंगलवार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले कुनै वैचारिक र राजनीतिक स्पष्टता नभएको रास्वपाले स्थापित राजनीतिक दलहरुको विरोध गरेर केही दिनका लागि चर्चा कमाएका भन्दै जनतामा भ्रम छरेर धेरै दिन नटिक्ने दाबी गरे ।
जेनजी आन्दोलनका क्रममा तत्कालीन ओली सरकारकै अभियोजनमा रास्वपा सभापति रवि लामिछाने जेलमा थिए । वर्तमान अन्तरिम सरकारले उनलाई बिगोबराबर धरौटी बुझाएर रिहा गरेपछि लामिछाने समेत आगामी निर्वाचनमा होमिएका छन् । मंगलबार चितवन– २ बाट वारेशमार्फत उम्मेद्वारी दर्ता गराएका लामिछाने आफू भने पर्सा जिल्ला अदालतमा थिए । पर्सा अदालतले रविको थुनछेक बहसमा रु १ करोड धरौटी माग्यो ।
आफूमाथि ओली सरकारले प्रतिशोध साँधेको बताउँदै आएका लामिछानेले मंगलबार पनि फेसबुकमा आक्रोशमय अभिव्यक्ति दिएका थिए । अदालतकै कारण आफू चितवन–२ मा शुभचिन्तक र मतदातासामु उपस्थित हुन नसकेको भन्दै उनले आफूमाथि गरेको ‘पाप र अत्याचार’को हिसाबकिताब जनताले फागुन २१ मा घण्टी बजाएर दिने बताए । ‘देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर ममाथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ,’ उनले भनेका छन् ।
यसरी एमालेले भदौ २४ को विध्वंशलाई चुनावी एजेन्डा बनाएर प्रतिशोधमय अभिव्यक्ति दिइरहँदा रास्वपाका नेताहरुले समेत तत्कालीन सरकारबाट भएको ज्यादति स्मरण गराउँदै प्रतिशोधकै अभिव्यक्ति दिइरहेका छन् ।
