News 24 Television
प्रधानमन्त्रीका ४ दाबेदार : गगन, बालेन र ओली चुनौतीमा, सुरक्षित प्रचण्ड !

काठमाडौँ । आगामी फागुन २१ को निर्वाचनलाई लिएर विभिन्न दलहरुले धामधम प्रधानमन्त्रीको दावी र घोषणा गर्दै आएका छन् । साना तथा ठूला सबै दलहले आफ्नो नेताहरुलाई भावि प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरिरहँदा ती उम्मेदवारहरुले नै चुनाव जित्नेमा शंका छन् । केपी शर्मा ओलीलाई नेकपा एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । निर्वाचनको लागि मनोनय हुन अघि नै पार्टीले ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको थियो । जसअनुसार नै ओली मतदातामाझ प्रस्तुत हुने गरेका छन् । ओलीले आफ्ना मतदाताहरुलाई आफू भावी प्रधानमन्त्रीकै रुपमा रहेको र देशलाई थप विकाश र सुशासनमा लैजाने आश्वशन बाँडिरहेका छन् । 

तर ओलीका लागि निर्वाचन नतिजा आफ्नो पक्षमा पार्न भने चुनौती नै छ । उनका लागि अर्का प्रधानमन्त्रीकै उम्मेदवार बालेन शाह चुनौतीका रुपमा उभिएका छन् । ओलीलाई काउण्टर दिन बालेन शाह नै काठमाडौंको मेयर त्यागेर झापा– ५ मा पुगेका छन् । बालेनलाई पनि रास्वपाले भावि प्रधानमन्त्रीकै रुपमा अघि सारिसकेको छ ।  

युवा पुस्ताको बढ्दो क्रेज र राजनीतिक रुपान्तरण पक्षले बालेनलाई रुचाइरहँदा ओलीका लागि बालेन चुनौती बनेका छन् । अर्कोतर्फ झापा – ५ ओलीकै गढ हुनाले बालेनलाई पनि चुनाव जित्न खास सहज छैन । तसर्थ प्रधानमन्त्रीका लागि अघि सरेको ओली र बालेनका लागि झापा – ५ चुनौती बनेको छ । यो क्षेत्रमा प्रधानमन्त्रीका एक मात्रै उम्मेदवारले जित्ने हुँदा ओली र बालेनमध्ये एकजना मात्रै संसद पुग्नेछन् । तसर्थ एकजना प्रधानमन्त्रीको उम्मेदवारलाई झापा – ५ को मत परिणामले नै रोक्नेछ । 

प्रधानमन्त्रीका अन्य उम्मेदवार पनि अफ्ठ्यारोमै 

राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई भावि प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरिसकेको छ । ऐतिहासिक रुपमै यो पटक देशभरका १६५ क्षेत्रमा उम्मेदवारी दिएको राप्रपाले लिङ्देनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । तर लिङ्देन स्वयमलाई नै निर्वाचन जित्न उत्तिकै चुनौति छ । झापा – ३ बाट निर्वाचन लड्दै आएका लिङ्देनले विगतमा एमालेको समर्थनमा जित निकाल्दै आएका थिए । २०७९ को आम निर्वाचनमा लिङ्देनले एमालेकै समर्थनमा काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।  सो निर्वाचनमा लिङ्देनले ४० हजार ६४८ मत प्राप्त गरेका थिए भने सिटौलाले ३७ हजार ३७२ मत पाएका थिए । तर अबको निर्वाचनमा भने कुनैपनि दलले गठबन्धन नगर्ने देखिन्छ । यो अवस्थामा प्रधानमन्त्रीका उम्मेदवार राजेन्द्र लिङ्देनले निर्वाचन संभावना अत्यन्तै न्यून देखिन्छ । 

गगन थापा

नेपाली काँग्रेसमा विद्रोह गरेर नयाँ सभापति बनेका गगन थापा आगामी निर्वाचनपछि पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित छ । अघिल्लो संसदमा संसदीय दलको नेतामा शेरबहादुर देउवासँगै प्रतिस्पर्धा गरेका गगन यो पटक सर्वसम्मत रुपमै प्रधानमन्त्रीको उम्मेदवार बन्ने देखिन्छ । तर उनलाई पनि संसद प्रवेशमा भने सहज छैन । विगतमा काठमाडौंबाटै उठ्दै आएका उनी अहिले चुनाव हार्ने त्रासकै कारण निर्वाचन क्षेत्र परिवर्तन गर्दै सर्लाही– ४ मा मनोनयन दिन पुगेका छन् ।  तर यो क्षेत्रमा पनि गगनलाई निर्वाचन जित्न सहज छैन । उक्त क्षेत्रमा गगनलाई रास्वपा सांसद अमरेश सिंहले चुनौती दिनेछन् । 

अमरेशले विगतमा स्वतन्त्र उम्मेदवारी दिएरै निर्वाचन जित्दै आएका थिए । तर यो पटक उनी रास्वपा प्रवेश गरेर संगठित दलमार्फत नै उम्मेदवारी दिँदा अन्य दलहरुलाई निर्वाचन जित्न सहज हुनेछैन । यसर्थ गगनलाई यो क्षेत्रमा जित निकाल्न सानो मेहनतले पुग्ने छैन । अघिल्लो निर्वाचनमा माओवादीसहित, नेकपा एकीकृत समाजवादी र अन्य लोकतान्त्रिक दलहरुसँग गठबन्धन गर्दापनि यो क्षेत्रमा काँग्रेस उम्मेदवार पराजित भएका थिए । 

प्रचण्ड भने ‘सेफ जोन’मा ! 

भावी प्रधानमन्त्रीकै उम्मेदवारका रुपमा रहेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड भने यो पटकको निर्वाचनमा अन्यको तुलनामा सुरक्षित देखिएका छन् । चुनावैपिच्छे निर्वाचन क्षेत्र परिवर्तन गर्ने प्रचण्डले यो पटक रुकुमपूर्वमा उम्मेदवारी दिएका छन् । 

रुकुम–रोल्पालाई माओवादीको उर्भरभूमी मानिन्छ । त्यसैले पनि प्रचण्डले आफूले सहजै जित निकाल्ने क्षेत्र रुकुमपूर्वमा उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा अघिल्लो पटक माओवादीकै नेता पूर्णंबहादुर घर्तीले जित निकालेका थिए । घर्तीले १२ हजार २६२ मत प्राप्त गर्दा प्रतिस्पर्धी दल एमालेको उम्मेदवारले ७ हजार ४१ मत मात्रै प्राप्त गरेका थिए । हुनतः नेपाली कम्युनिष्ट पार्टीले अहिलेसम्म कसैलाई भावी प्रधानमन्त्री भनेर तोकेको छैन । तर यदी नेपाली कम्युनिष्ट पार्टीलाई अवसर आएमा पार्टीका तर्फबाट प्रचण्ड नै प्रधानमन्त्री बन्नेछन् । 

तसर्थ प्रचण्ड भविष्यमा प्रधानमन्त्री बन्ने अवसर सृजना गर्नकै लागि रणनीतिक रुपमा रुकुमपूर्व पुगेका हुन् । अन्य दलहरुले पार्टीको तर्फबाट प्रधानमन्त्री नै घोषणा गरेर निर्वाचनमा जाँदा ती उम्मेदवारहरु नै ‘रेड जोन’मा देखिएका छन् । यद्यपि अघोषित रुपमा नेतृत्व ताकेका प्रचण्ड भने सरल बाटोबाटै प्रधानमन्त्री बन्ने दाउ कुरेर बसेका देखिन्छन् । 
 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update