News 24 Television
पार्टी र मुलुक हाँक्ने अभिभारा बोकेका गगन : अवसर र चुनौती

काठमाडौँ । नेपाली काँग्रेसको पुरानो पुस्ता तथा संस्थापन पक्षको बाधा–विरोधका बीच विद्रोही शैलीमा विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति, नेतृत्व र नीति चयन गरेका काँग्रेस सभापति गगन थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका छन् । काँग्रेसलाई गतिशील, समयसापेक्ष र युवामैत्री बनाउने तथा मुलुकको भावी नेतृत्व गर्ने दाबीसहित सभापतिमा निर्वाचित भएका गगनको असली परीक्षा बल्ल सुरु भएको छ । काँग्रेसले थापालाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गरेर फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा होमिँदैछ । 

नवनिर्वाचित सभापति थापासँगै काँग्रेस हाँक्ने उनको नयाँ पदाधिकारी टिमले शुक्रबार सानेपा पुगेर पदभार ग्रहण गरेको छ । उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरु घिमिरे तथा सहमहामन्त्रीहरुले पदभार ग्रहण गरे । त्यसलगत्तै शुरु भएको केन्द्रिय समितिको बैठकले गगनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणासहित अन्य एजेन्डामा छलफल गरेको छ । 

महामन्त्री प्रदीप पौडेलले पार्टीको केन्द्रिय कार्यसमिति बैठकले निर्वाचन केन्द्रित केही ठोस र ऐतिहासिक निर्णय गर्ने बताए । बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने ऐतिहासिक निर्णय गर्न लागिएको जानकारी दिँदै उनले यसलाई लोकतान्त्रिक अभ्यासको विकासको नयाँ अध्याय भएको बताए । संसदीय निर्वाचनमा पार्टीका उम्मेदवारले प्रधानमन्त्री को बन्ने भन्ने स्पष्ट आधारसहित मत माग्ने व्यवस्था स्थापित गर्न काँग्रेसले यो अभ्यास शुरु गर्न लागेको उनको भनाई छ । 

नेता अर्जुनरसिंह केसीले काँग्रेस आगामी निर्वाचनबाट फेरि पनि पहिलो पार्टी बन्ने दाबी गरे । विशेष महाधिवेशनपछि पार्टी र समग्र देशवासीमा नयाँ उत्साह र भरोसा छाएको बताउँदै उनले पार्टीमा सबैलाई समेटेर एकीकृत रुपमा अगाडि बढ्नुपर्ने चुनौती औँल्याए । उनले सभापति गगन थापा एकै निर्वाचन क्षेत्रबाट पटकपटक उम्मेद्वार हुन नहुने मान्यता राखेर यसपटक सर्लाही–४ बाट उम्मेद्वार बनेको बताए । काँग्रेस र लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको मधेशलाई प्राथमिकतामा राखेर उम्मेद्वारी दिएको उनको भनाई छ । 

सर्लाहीमा पूर्वकाँग्रेस, अघिल्लो निर्वाचनमा बागी उठेर जितेका र हाल रास्वपाबाट उम्मेदवार बनेका अमरेशकुमार सिंहसँग गगनको प्रतिस्पर्धा हुनेछ । यस भीडन्तलाई पनि रोचक रुपमा हेरिएको छ । मधेशबाट जितेर देशको प्रधानमन्त्री बन्ने अवसरका साथै रास्वपाप्रति युवा लहर बढिरहेको बेला अमेरशलाई हराउने चुनौती गगनका सामु छ ।

गगनका सामु अवसर

लामो समयदेखि पुराना नेताहरुको एउटै अनुहार र कार्यशैलीबाट वाक्क भएका मतदाता, विशेषगरी युवा पुस्तामा गगनको नेतृत्वले नयाँ उत्साह भरेको छ । यसले ‘नो नट अगेन’ को लहरलाई केही हदसम्म मत्थर बनाएको छ । थापाले नीति र कार्यक्रममा जोड दिँदै आएका छन् । उनी लामो राजनीतिक संघर्षबाट खारिएर आएका अनुभवी, परिपक्क, युवाजोश र नवीन नीति अघि सार्ने तथा पुरानो ढर्राबाट पार्टीलाई समयसापेक्ष बनाउने नेताका रुपमा चिनिएका छन् । 

निर्वाचन आयोगले उनको नेतृत्वलाई आधिकारिकता दिनु र उनी पक्षमा बहुमत महाधिवेशन प्रतिनिधि देखिनुले उनीसँग पार्टीलाई नयाँ दिशामा लैजाने वैधानिक शक्ति र जनमत दुवै छ । आगामी निर्वाचनबाट जितेर आए भने गगनको शक्ति अझै बढ्नेछ । विश्वप्रकाश शर्मा, प्रदीप पौडेल जस्ता प्रभावशाली युवा नेताहरूको साथ हुनुले थापालाई सांगठनिक र रणनीतिक रूपमा बलियो बनाएको छ ।

गगनका सामु चुनौती

गगनका सामु काँग्रेसको विभाजन रोक्नु सबैभन्दा ठूलो चुनौती हो । संस्थापन पक्ष (देउवा समूह) को असहयोग र बहिस्कारका बीच पार्टी चलाउनु उनको प्रमुख चुनौती देखिएको छ । पार्टीभित्रको गुटबन्दीलाई व्यवस्थापन नगरी निर्वाचनमा जाँदा अन्तर्घातको ठूलो जोखिम रहन्छ । सभापतिको कार्यभार सम्हालेको केही हप्ताभित्रै प्रतिनिधिसभा निर्वाचनमा जानु पर्ने हुँदा उनलाई संगठन सुदृढ गर्ने र मतदाता रिझाउने समय कम छ । 

साथै, देउवा पक्षले विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालतमा मुद्दा हालेको अवस्था छ, जसको फैसला गगनकै पक्षमा आएन भने थप चुनौती सृजना हुनेछ । एकातिर एमाले जस्तो संगठित शक्ति र अर्कोतिर रास्वपा जस्ता उदीयमान दलहरूसँग प्रतिस्पर्धा गर्दै कांग्रेसलाई पहिलो शक्ति बनाउनु र बहुमत जुटाउनु फलामको चिउरा चपाउनु सरह छ । 

यी यावत चुनौतीका बीच गगनको परीक्षा सुरु भएको छ । विगतमा अरुलाई धेरै प्रश्न गरे, अब उनी आफैं उत्तर दिने ठाउँमा छन् । आफ्नो निर्वाचन क्षेत्र (सर्लाही ४) सुरक्षित गर्दै देशभरि पार्टीलाई जिताउने र प्रधानमन्त्रीको दाबीलाई न्याय गर्ने चुनौती उनकै काँधमा छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update