काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस, एमाले, रास्वपा लगायत दलले भावी प्रधानमन्त्रीको रुपमा गगन थापा, केपी ओली र बालेनलाई उम्मेदवारका रुपमा अघि सारेका छन् । भावी प्रधानमन्त्रीका यी तिनै दाबेदाबीच सार्वजनिक बहस गराउने कुरा मिडियामा अघि सारिए पनि ओली र बालेनले फेसबुकमै बाझेर एक–अर्काप्रति उत्तेजक अभिव्यक्ति दिएर प्रतिशोधको राजनीति सतहमा ल्याएका छन् । तर यी दुवैभन्दा बढी भरपर्दा र सुझबुझयुक्त एवं सन्तुलित देखिएका छन्– गगन थापा । कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेका थापाले काँग्रेसमा एकता कायम राख्न संस्थापन (देउवा पक्ष)का नेताहरुप्रति नरम व्यवहार गर्न र उत्तेजक अभिव्यक्ति नदिन नेता–कार्यकर्तालाई निर्देशन नै दिए । निर्वाचनमा पनि उनी अन्य दलका उम्मेदवारविरुद्ध उत्तेजक देखिएका छैनन् ।
आफू उत्तेजनाको राजनीतिमा विश्वास नगर्ने भन्दै फरक सन्देशसहित गगन अहिले मधेस झरेका छन् । उम्मेदवारी दर्ताको ६ दिनपछि सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेर भिडियो सन्देश जारी गर्दै उनले मधेशसँगको सम्बन्धलाई औपचारिक मात्र नभई भावनात्मक रूपमा प्रगाढ बनाउन आफू त्यहाँ आएको बताए । काठमाडौं–४ का मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै उनले मधेसका मुद्दा बुझेर मात्रै देशको समग्र समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरे । मधेशका कुरा काठमाडौंलाई सुनाउन र काठमाडौंका कुरा मधेशलाई बुझाउन आफूले क्षेत्र परिवर्तन गरेको भन्दै उनले उत्तेजनाको साटो राष्ट्रिय एकता र अधिकारको राजनीतिमा जोड दिए ।
विगतका तीन निर्वाचनमा काठमाडौँ– ४ बाट जितेका थापाले यसपटक अचानक मधेस किन रोजे भन्ने प्रश्न सर्वत्र उब्जिएको छ । आफ्नो सजिलो आधार क्षेत्र छोडेर सर्लाही– ४ मा नयाँ उम्मेदवार बन्न जादा उनी जोखिममा पर्नसक्ने विश्लेषण समेत भइरहेछ । किनभने सर्लाही– ४ प्रभावशाली नेता अमरेशकुमार सिंहको क्षेत्र हो, अघिल्लो निर्वाचनमा उनी काँग्रेसबाटै बागी उठेर जितेका थिए । हाल अमरेश रास्वपा प्रवेश गरेका छन्, रवि–बालेनसहित रास्वपाको बढ्दो आकर्षणबीच गगनले अमरेशलाई हराउने चुनौती छ । अमरेशले गगनप्रति उत्तेजक अभिव्यक्ति दिइरहँदा गगन भने नरम र कुटिल सुनिएका छन् । काठमाडौँमा हुर्केको व्यक्ति सिंगो देशको हुनुपर्ने र मधेससँगको सम्बन्ध प्रगाढ बनाउनु आफ्नो मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले गगनले आफूले सधैँ सजिलो बाटो छाडेर अफ्ठ्यारो बाटो रोज्ने गरेको बताए । पार्टीभित्र सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोज्दा पार्टीबाट पाँच वर्षका लागि निष्काशनमा परेको बताउँदै तर पनि विशेष महाधिवेशनमा बहुमत कार्यकर्ताले दिएको साथले नै आफू पार्टीभित्रै रहन सफल भएको दाबी गरे । आगामी निर्वाचनमा पनि काठमाडौं– ४ आफ्ना लागि सहज भए पनि जानाजानी अफ्ठ्यारो बाटो रोजेको बताए । काठमाडौं बाहिर जानुपर्छ भन्ने आफ्नो अठोटले यसपटक सर्लाही– ४ रोजेको उनको भनाइ छ । राष्ट्रिय नेता बन्नको लागि सिंगो राष्ट्रलाई आफूभित्र समेट्न सक्नुपर्ने उनको धारणा छ ।
गगनले आफूले संसदमा मधेसको मुद्दालाई फरक ढंगले उठान गर्ने बताउँदै त्यहाँका मतदाताले आफूलाई जिताएमा पछुतो मान्नुपर्ने अवस्था आउन नदिने बताए । सिंगो मधेस र सर्लाहीका जनताका मुद्दा अब संघीय संसद र सिंहदरबारमा नयाँ तरिकाले उठ्ने उनको दाबी छ । आफू पार्टीको जिम्मेवारीका कारण सधैँ सर्लाहीमा बस्न नसक्ने बताउँदै उनले तर पनि आफूलाई मतदाताले पुर्ण रुपमा विश्वास गर्ने बताए । आफ्नो उम्मेदवार बलियो छ भनेर अरूलाई कमजोर आँकलन नगर्न र निर्वाचन प्रचारमा अहोरात्र खटिन समेत उनले नेता–कार्यकतालाई आग्रह गरे ।
यसरी पार्टीभित्र र बाहिर सजिलोभन्दा अफ्ठ्यारो बाटो रोजेर काँग्रेस र सिंगै देशको नेतृत्व लिन तम्सेका नेता गगन लामो अनुभव, संघर्ष, अडान र साहसको प्रतीक समेत बनेका छन् । मधेसका मुद्दा स्वयं मधेसी दलहरुले प्रभावकारी रुपमा उठाउन नसकेको परिवेशमा गगनले सर्लाही र मधेसका लागि के कति गर्लान्, त्यो समयले देखाउँला । अहिले भने उनीप्रतिको आकर्षण मधेसमा समेत बढ्दो देखिएको छ ।
