काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन केवल जनप्रतिनिधि पठाउने प्रक्रिया मात्र नभई नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बनाउनुपर्ने बताएकी छन् ।
राष्ट्रिय सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन प्रक्रिया सम्पन्न भइसकेको उल्लेख गर्दै राज्यका स्रोत तथा साधन निर्वाचनमा केन्द्रित गरिएको बताइन् । स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत पारिएको बताउँदै उनले जेन–जी विद्रोहका क्रममा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको जानकारी दिइन्। उनले सार्वजनिक निकायका काम-कारबाहीलाई पारदर्शी र उत्तरदायी बनाउँदै भ्रष्टाचार न्युनीकरणमा पूर्ण प्रतिबद्धताका साथ सरकार अघि बढिरहेको दाबी समेत गरिन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘सार्वजनिक निकायका कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाई भ्रष्टाचार न्यूनिकरणमा पूर्ण प्रतिबद्धताका साथ सरकार लागिपरेको छ । भ्रष्टाचार न्यूनिकरणसम्बन्धी रणनीतिक योजना तथा प्रविधिमा आधारित सुशासनको मार्गचित्र तयारीको कार्य अन्तिम चरणमा पुगेको छ । अगामी २१ फागुनमा हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारको मनोनयन सम्पन्न भएको छ । राज्यका स्रोत साधन निर्वाचनमा केन्द्रित भएका छन् । जेनजी विद्रोहका क्रममा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ । एकीकृत निर्वाचन सुरक्षा योजना सुदृढ गरी कार्यान्वयनमा ल्याइएको छ । सबै सुरक्षा निकाय परिचालित गरिएको छ । यो निर्वाचन सदनमा जनप्रतिनिधि पठाउने प्रक्रिया मात्र होइन । यो नेपालको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्दछ भन्ने मेरो सविनय आग्रह छ ।’
निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सहयोगका लागि उहाँले राजनीतिक दलहरुलाई अपिल समेत गरिन् ।
