News 24 Television
अमेरिका र भारतबीच ऐतिहासिक व्यापार सम्झौता : ट्रम्पद्वारा भन्सार महशुल घटाउने घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार भारतसँग नयाँ व्यापार सम्झौता भएको घोषणा गरेका छन् । यस सम्झौताअनुसार संयुक्त राज्य अमेरिकाले भारतमाथि लगाउँदै आएको २५ प्रतिशतको तथाकथित ‘पारस्परिक भन्सार महशुल’ लाई घटाएर १८ प्रतिशतमा झार्ने भएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीसँगको मित्रता र सम्मानका कारण यो निर्णय लिएको बताएका छन् । सम्झौताको बदलामा भारतले पनि अमेरिकाविरुद्धका भन्सार र गैर–भन्सार अवरोधहरूलाई शून्यमा पुर्याउने सहमति जनाएको छ ।

यसका साथै, प्रधानमन्त्री मोदीले ऊर्जा, प्रविधि, कृषि र कोइला लगायतका क्षेत्रमा ५०० अर्ब डलरभन्दा बढीका अमेरिकी उत्पादनहरू खरिद गर्ने बाई अमेरिकन नीतिप्रति प्रतिवद्धता जनाएका छन् । ट्रम्पकाअनुसार भारतले रुसी तेल खरिद गर्न बन्द गर्ने र त्यसको सट्टा अमेरिका र सम्भावित रूपमा भेनेजुएलाबाट तेल खरिद गर्ने सहमति गरेको छ ।

यसअघि रुसी तेल खरिद गरेको भन्दै अमेरिकाले भारतमाथि अतिरिक्त २५ प्रतिशत भन्सार शुल्क लगाएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update