News 24 Television
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताएका छन् । उनले यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग नेपालले मिलेर काम गर्न चाहेको स्पष्ट पारे । जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री तकाइची सनायले मंगलबार गरेको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

    “हामीप्रति जापान सरकारको निरन्तर सहयोग,  सद्भावना र समझदारीका लागि आभारी छौँ, दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गर्न हामी आगामी दिनमा जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहन्छौँ”, भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने । 

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हामीबीच स्थापित द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा रहेकाे भन्दै पौडेलले यसप्रकारको उच्चस्तरीय भ्रमणको आदानप्रदानले सम्बन्धलाई थप मजबुत तुल्याउने बताए । 

    नेपालको सामाजिक र आर्थिक विकासमा जापान महत्त्वपूर्ण विकास साझेदार रहेको बताउँदै उनले द्विपक्षीय व्यापार विस्तारका साथै नेपालको विकास प्राथमिकताका क्षेत्रमा अहिले जापानी लगानी आकर्षित गर्ने प्रचुर सम्भावना रहेको बताए । “यसका लागि नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेको छ”, राष्ट्रपति पौडेलले भने । 

rrr-1770125962.jpg
 

    जापानले द्विपक्षीय अनुदान, ऋण, बहुपक्षीय सहायता र प्राविधिकलगायतका गर्दै आएको सहयोगले नेपालमा मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्ना गर्ने कार्यमा महत्वर्पूण योगदान पुगेको उनको भनाइ थियो । 

    “नेपाल अतिकम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नति हुने क्रममा नेपालले जापानबाट, सदाझैँ सहयोग र सद्भाव प्राप्त गर्ने नै छ भन्ने विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भने । विश्व शान्ति, स्थायित्व र भाइचाराजस्ता बुद्धको दर्शनमा विश्वास गर्ने दुवै देशका लागि बुद्ध जन्मभूमि लुम्बिनीले दुवै देशका जनताबीच बलियो पुलको काम गरेको उनको भनाइ थियो । उनले जापानमा चाँडै हुन लागेको आम निर्वाचनको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गरे । 

    सो अवसरमा जापानका प्रधानमन्त्री तकाइची सनायले नेपालको स्थायित्व जापानको लागि र यस क्षेत्रकै लागि महत्त्वपूर्ण भएकाले नेपालमा आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन सफल होस् भन्ने जापानको कामना रहेको बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।

सो अवसरमा राष्ट्रपति पौडेललाई जापान सरकारका तर्फबाट ‘गार्ड अफ अनर’ प्रदान गरियो ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update