काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्यालले प्रतिनिधिसभा पुनःस्थापना सम्बन्धि मुद्दा चाँडो फैसला गर्न सर्वोच्च अदालतको ध्यानाकर्षण गराएका छन् ।
तोकिएको मितिमा निर्वाचन हुने कुरामा त्यसले पनि आशंका बढाएकाले सर्वोच्चले सो सम्बन्धि मुद्दा छिटो किनारा लगाउनुपर्ने उनको तर्क थियो । मंगलवार नेपाल कानून समाजले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वमुख्यसचिव अर्यालले राज्यका अंगहरुले आफ्नो जिम्मेवारी समयमा पूरा नगर्दा पनि मुलुकमा विभिन्न खालको समस्याहरु आउने गरेको तथ्य पनि स्मरण गराए ।
उनले भने, ‘चुनाव तोकिएकै समयमा गर्नुपर्छ । तर यसो भनिरहँदा सुप्रिम कोर्टमा जुन कुराहरु छ, त्यो पनि समयमै टुंग्याईदिएको राम्रो । किनभने निर्वाचनको कार्यक्रम अघि बढी सक्यो । त्यो त भनिदिएर टुंंग्याइ दिई भइगयो नि । हामीले त्यस्ता निर्णय धेरै गरिसकेका छौ । किन डाउट गर्नलाई राख्ने । राज्यका अंगहरुले पर्पर फङशन नगर्दाखेरी विभिन्न समयमा विभिन्न समस्याहरु आएको छ । त्यो गभर्नेन्समा देखिएको विषय हो । यो कुराहरु आउनु पर्यो ।’
पूर्वमुख्यसचिव अर्यालले निर्वाचनको मिति सार्ने नभई तोकिएको मितिमा नै सबै क्षेत्रको निर्वाचन गराउनुपर्नेमा जोड दिए ।
