News 24 Television
नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड हो : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताएका छन् । बिहीवार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को २२ औँ वार्षिकोत्सवमा उनले दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म टेलिकमले सञ्चारको पहुँच विस्तार गर्दै आएको बताएका हुन् ।

प्राकृतिक विपद्, महामारी तथा अन्य आपतकालीन अवस्थाहरूमा टेलिकमले खेलेको भूमिका स्मरणीय र प्रशंसनीय रहेको गृहमन्त्री अर्यालको भनाइ छ । हाल दूरसञ्चार सेवा व्यवसाय मात्र नभई मानव जीवनको आधारभुत आवश्यकता तथा शैक्षिक, सामाजिक र आर्थिक विकासको महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित भइसकेको उनले बताए ।

नविनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएको भन्दै उहाँले त्यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने उनकाे भनाइ छ । सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकास र स्थायित्वको आधारस्तम्भ भएको उनको भनाइ छ । गृहमन्त्री अर्यालले आगामी दिनमा पनि ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखी अत्याधुनिक सेवा प्रवाह हुनेमा आफू विश्वस्त रहेको बताए ।

प्रतिष्पर्धी बजारमा नेपाल टेलिकमले आफ्नो सार्वजनिक दायित्व, सेवा गुणस्तर र प्रविधिगत नवप्रवर्तनलाई सन्तुलनमा राख्दै ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । कम्पनीको बहत् सञ्जाल, पूर्वाधार, दक्ष मानव संसाधन र बजार सम्भावनाको कुशल व्यवस्थापनमार्फत प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्न उनले आग्रह गरे ।

गृहमन्त्री अर्यालले भने, ‘नेपाल टेलिकम एक केवल दूरसञ्चार कम्पनी मात्रै होईन, यो राज्यको डिजिटल मेरुदण्ड हो । दुर्गम हिमालदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच पुर्याएर यस संस्थाले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापलाई मजबुत बनाउँदै आएको छ । प्राकृतिक विपद्, महामारी वा अन्य आपतकालिन अवस्थामा नेपाल टेलिकमले खेलेको भुमिका स्मरणीय र प्रशंसनीय रहेको छ । टेलिकमले सेवा विस्तारका साथै डिजिटल डिभाईट न्युनिकरण, डिजिटल साक्षरता विस्तार, विधुतीय सरकारको अवधारणाको कार्यन्वयन र ज्ञानमा आधारित समाज निर्माणको माध्यामबाट राष्ट्र निर्माणमा योगदान पु¥याउँदै आएको छ । आज दूरसञ्चार सेवा व्यवसाय मात्र होईन, मानवजीवनको आधारभुत तत्व र शैक्षिक, सामाजिक एवं आर्थिक विकासको पूर्वाधार बनिसकेको छ । समाजको विकासको लागि दूरसञ्चार सेवा अत्यन्त आवश्यक भएको पृष्ठभुमीमा नविनतम् प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको हक र अधिकार भएकोले कम्पनीले यसमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । सन्तुष्ट ग्राहक नै कम्पनीको दीगो विकास र स्थायित्वको आधार स्तम्भ हुन भन्ने विषयलाई आत्मसाथ गर्दै कम्पनीले आगामी दिनमा समेत नयाँ नयाँ प्रविधिमा आधारित अत्याधुनिक सेवा प्रवाह गरी ग्राहक सन्तुष्टीलाई केन्द्रमा राखी सेवा प्रवाह गर्नेछ भन्नेमा विश्वस्त रहेको छु ।’ 

उनका अनुसार टेलिकमले सेवा विस्तारसँगै डिजिटल साक्षरता प्रवर्द्धन, विद्युतीय सरकारको अवधारणा कार्यान्वयन तथा ज्ञानमा आधारित समाज निर्माणमार्फत राष्ट्र निर्माणमा योगदान दिँदै आएको छ । सार्वजनिक सेवा सरकार र नागरिकलाई जोड्ने सेतु भएको उल्लेख गर्दै गृहमन्त्री अर्यालले नागरिक र सरकार सम्बन्धलाई थप प्रगाढ बनाउन नेपाल टेलिकमको भूमिका महत्वपूर्ण रहने बताए ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update