News 24 Television
निर्वाचन एकै चरणमा र निष्पक्ष हुनुपर्ने माग, धाँधली भए प्रतिवाद

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार पुगेर अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसँग दोस्रोपटक महत्वपूर्ण भेटवार्ता गरेका छन् । सरकारले आगामी फागुन २१ गते हुने निर्वाचन निष्पक्ष गराउन नसक्ने र पुराना दलप्रति वैरभाव राखेको आरोपका बीच ओलीले बिहीबार प्रधानमन्त्रीसँग करिब २ घण्टा छलफल गरे । छलफलका क्रममा पनि ओलीले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएको बताइन्छ । ओलीले निर्वाचनलाई भयरहित, स्वच्छ र स्वतन्त्र बनाउन सुरक्षा चुनौती कायमै रहेको भन्दै चासो व्यक्त गरेका थिए । निर्वाचन सार्ने वा हिमाली जिल्लामा दोस्रो चरणमा गर्ने विषयमा प्रधानमन्त्रीबाट आएका अभिव्यक्तिहरूबारे समेत ओलीले चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाका लागि ८० हजार सेना परिचालन भइसकेको जानकारी दिँदै निष्पक्षता र सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइन् । हिमाली जिल्लामा हिमपात भएमा मात्रै केही प्रभावित हुन सक्ने नत्र निर्वाचन नसर्ने प्रधानमन्त्रीको जवाफ थियो । यसअघि प्रधानमन्त्री कार्कीसँग ओलीले गत पुस २४ गते बालुवाटारमै लामो छलफल गरेर निर्वाचनमा होमिएका थिए । 

ओली लगायत प्रमुख दलका नेताहरुले मुलुकभर एकै चरणमा निर्वाचन सम्पन्न गर्न माग गर्दै आएका छन् । बिहीबारै झापावासीहरुसँगको भेटका क्रममा ओलीले प्रतिनिधि सभा निर्वाचन दुई चरणमा हुन नहुने बताए । उनले दुई चरणमा निर्वाचन हुने परिस्थिति हो भने निर्वाचनको मिति सार्न आग्रह गरे । निर्वाचनमा धाँधली र अनियमितता हुन नदिन सरकारसँग आग्रह समेत गरे । मतपेटिकालाई उम्मेदवार वा उनीहरूका प्रतिनिधिको आँखाबाट एक सेकेन्ड पनि ओझेल हुन नदिनुपर्नेमा जोड दिँदै ओलीले राज्य कुनै एक पक्षलाई जिताउन र अर्कोलाई हराउन लागेमा राम्रो नहुने चेतावनी समेत दिए । त्यसले ठूलो अनिष्ट पैदा गर्ने उनको चेतावनी थियो ।  हिमाली भेगमा हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन गर्न नहुने बताउँदै ओलीले राज्यका सबै अंग तथा निकायहरू निष्पक्ष हुनुपर्नेमा पनि जोड दिए । धाँधली भएमा एमालेले प्रतिवाद गर्ने समेत उनको चेतावनी छ ।

बुधबार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि मुलुकभर एकै चरणमा र स्वच्छ, निष्पक्ष तथा धाँधलिरहित वातावरणमा निर्वाचन हुनुपर्ने बताएका थिए । प्रचण्डले समेत ओलीकै भाषामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा हाहा र हुहु गरेर केही पनि नहुने टिप्पणी गरे । उनले राष्ट्रलाई एकताबद्ध गर्दै भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा उभिने तथा आर्थिक विकासलाई अगाडि बढाउन सक्ने नेता र पार्टीलाई नेपाली जनताले चिनिसकेको बताए । फागुन २१ मै निर्वाचन हुने भन्दै उनले कसैलाई पनि शंका नगर्न आग्रह गरे । तर निर्वाचन सबै क्षेत्रमा एकै दिन हुनुपर्ने उनको माग छ ।

जेनजी आन्दोलनपछि विशेषगरी सामाजिक सञ्जाल र युवापुस्ता रास्वपाका नेताहरु रवि, बालेनलगायतको पक्षमा ढल्किएका छन् । यसले पुराना र स्थापित काँग्रेस, एमाले, नेकपाजस्ता पार्टीलाई अवश्यै झस्काएको छ र भित्रभित्रै निर्वाचनको तालमेल गर्ने लगायत चर्चा पनि चलेको छ । अर्कोतिर सरकारको झुकाव युवापुस्ता तथा नयाँ दलहरुप्रति देखिएको भन्दै पुराना दलका नेताहरुबाट निर्वाचनको निष्पक्षता तथा स्वच्छतामाथि प्रश्न उठ्ने क्रम बढ्दो छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update