News 24 Television
चुनावी मैदानमा रवि, बालेनको जस्तै चितवनमा क्रेज

काठमाडौँ । केही समयको मौनतापछि रास्वपा सभापति रवि लामिछाने पनि चुनावी मैदानमा ओर्लिएका छन् । स्वास्थ्यमा आएको समस्याको बाबजुद रवि चुनावी तयारीका लागि बिहीबार चितवन पुगे । रवि यसअघि खुट्टाको चोटका कारण अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका थिए । तर अब भने उनी चुनावी तयारीकै लागि चितवन पुगेका हुन् । उनी अझै केही दिन चितवनका मतदाताहरुसँगै रहने जनाइएको छ ।

रास्वपाका कार्यक्रमहरुमा रवि नदेखिँदा पछिल्लो समय कार्यकर्ताहरुले उनको खोजी गरिरहेका थिए । यही माघ ५ गते बालेनसँगै रवि जनकपुरको सभामा देखिए । यसपछि भने रवि कुनै सार्वजनिक कार्यक्रममा सरिक हुन सकेनन् । यसपछि पार्टीका वरिष्ठ नेतासमेत रहेका बालेन शाह एक्लै देश दौडामा निस्किए । बालेनले देशव्यापीरुपमा मतदाता भेटिरहँदा रवि ओझेलमा परेको चर्चा भइरहेका छन् । तर अब भने यो टिप्पणी असन्दर्भिक हुने देखिन्छ । उनले चितवन २ मा आफ्नो चुनावी अभियान थालिसकेका छन्् । अब चाँडै रवि पनि बालेनसँगसँगै देशव्यापी चुनावी अभियानमा निश्कने तयारीमा रहेको बताइएको छ । 

हुनतः रास्वपामा बालेनको मात्रै होइन, रविको क्रेज पनि उस्तै छ । रवि अघिल्लो संसदमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित हुने सांसदका रुपमा रेकर्ड बनाएका नेता हुन् । मतदाताहरुबाट अझै यो समर्थन प्राप्त हुने उनमा आत्मविश्वास झल्किन्छ । 

सिद्धान्त र एजेण्डामा प्रश्न 

रास्वपाप्रति देशभर लहर चल्दा पार्टीको एजेण्डा र सिद्धान्तबारे भने प्रश्न उठिरहेका छन् । मुख्यतः ठूला र पुराना दलहरुले रास्वपामाथि देश बनाउने एजेण्डा के छ ? पार्टीको भिजन के हो ? जस्ता प्रश्न उठाइरहेका छन् । उनीहरुले रास्वपालाई लोकप्रियतावादीको ट्यागसमेत लाइरहेका छन् । तर रविले भने यो विषयमा यसअघि नै सामाजिक संजालमार्फत जवाफ फर्काएका छन् । जवाफमा रविले पुराना दलहरुबाट जनसेवाभन्दा पनि राजनीतिलाई सिद्धान्त  र वादको भारी बोकाइएको आरोप लगाएका छन् । 

आलोचकहरुलाई रविले थप भनेका छन्, 

–    रास्वपाको नीति र एजेण्डा स्पष्ट छन्, बुझ्नका लागि पार्टीको घोषणापत्र हेर्नु 
–    पुराना दलहरुले सिद्धान्त र वाद भिराएर राजनीतिलाई शाब्दिक भारी बोकाए, रास्वपा राजनीतिलाई सरल बनाउन चाहन्छ 
–    रास्वपा लोकतन्त्र बचाउने प्रण गर्छ, नसके जनताको साथ लिन्छ
–    पुराना दलहरु भ्रष्टारमा लिप्त भए, तिनै पक्षले रास्वपालाई लोकप्रियताबादी भनेर आरोप लगाइरहेका छन् 
–    जनताको बलमार्फत नै विकास–कुटनीति र अर्थ राजनीतिको युगको आरम्भ गछौँ
–    जुनसुकै पार्टीहरु गठबन्धन गरेर आएपनि रास्वपाले एकै पटक हार चखाउँछ, निर्वाचनमा पुरानाविरुद्ध सुनामी ल्याउँछौँ
–    फागुन – २१ को आम निर्वाचनपछि रास्वपा सत्तामा जान्छ, प्रतिपक्षी पनि नयाँ अनुहार नै भएको राम्रो

रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र सम्पत्ति सुद्धिकरणको मुद्धालेसमेत थलिएका छन् । अघिल्लो ओली सरकारका पालामा कारागार बसेका उनी अन्तरिम सरकार बनेपछि मात्रै कारागारमुक्त भएका थिए । वर्तमान सरकारले रविविरुद्धका संगठित अपराध र सम्पत्ति सुद्धिकरणको मुद्धासमेत फिर्ता गर्ने निर्णय गरेको छ । यद्यपि रुपन्देही जिल्ला अदालतले रविविरुद्धको मुद्धा फिर्ता लिन अस्वीकार गरेको छ । यहीबीच निर्वाचनमा होमिएका रवि र रास्वपाको पक्षमा कस्तो मत परिणाम आउँला ? यसको जवाफ पाउन भने निर्वाचन परिणामकै प्रतिक्षा गर्नुपर्नेछ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update