काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमाले अघिल्लो सरकारका सत्ता साझेदार दल । उनीहरुकै नेतृत्वमा सरकार रहेका बेला जेनजी आन्दोलन भयो । यो आन्दोलनले राजनीतिलाई नै उथलपुथल पार्दा ओली नेतृत्वको सरकार ढल्यो भने, निर्वाचनमार्फत नयाँ म्याण्डेटको तयारी छ । तर काँग्रेस तथा नेकपा एमाले भने नयाँ निर्वाचनको साटो संसद पुनस्र्थापनाको माग गर्दै सर्वोच्च गए । उनीहरुले खुल्ला रुपमै निर्वाचन मिति घोषणा र संसद विघटनलाई असंवैधानिक भनिरहेका छन् । खासगरी काँग्रेस भित्रपनि शेरबहादुर देउवा पक्ष र सिंगो एमाले पार्टीले नै संसद पुनस्र्थापनाको प्रयासलाई अझै जोड दिइरहेको छ ।
तर सर्वोच्चले भने फागुन २१ अघि संसद विघटन सम्बन्धी मुद्धा हेर्न नै नभ्याइने जवाफ दिइरहेको छ । यस्तै सरकार पनि निर्वाचनको विकल्प नै नभएको भनेर कुनैपनि हालतमा फागुन २१ मा निर्वाचन गराउने पक्षमा छ । यही निर्वाचनको प्रयोजनका लागि नेकपा एमाले भने अन्य दलहरुसँग गठबन्धन लागि हात फैल्याइरहेको छ । यद्यपि उसको गठबन्धन प्रस्तावलाई कुनै पनि दलले स्वीकार गरेको छैन । तत्कालीन सत्ता साझेदार दल नेपाली काँग्रेससँग पनि ओलीले गठबन्धनको प्रयास गरे । तर नेतृत्वमा गगन थापा आइसकेकाले एमालेसँग गठबन्धनका गर्न काँग्रेस तयार छैन । ओलीले देउवासँग भने गठबन्धनका लागि पटक–पटक प्रस्ताव लगेको बताइँदै आएको छ ।
देउवालाई प्रभावित पार्न ओलीले ढाँटे मतदाता !
भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा विभिन्न दलका नेताहरुको घरमा आगजनी भएको थियो । सो क्रममा विभिन्न नेताहरुको घरबाट पैसाका नोटहरु जलेको भिडियो सार्वजनिक भए । जसक्रममा काँग्रेस सभापति शेरबहादुर देउवको घरमा पनि ठूलो मात्रामा पैसाका नोटहरु जलेको भिडियोहरु बाहिरिएका थिए । यो भिडियोलाई लिएर सभापति शेरबहादुर देउवाको सचिवालयले उक्त भिडियोमा कुनै सत्यता नभएको भन्दै प्रविधिको दुरुपयोग गरेर एआईबाट बनाइएको भनेर खण्डन ग¥यो ।
सो विषयमा देउवाले समेत एआईबाट भिडियो तयार गरेर आफूमाथि प्रहार गरिएका भन्दै खण्डान गरे । देउवाको यही भनाइलाई नै थप जोड दिदै केपी शर्मा ओलीले पनि एआईमार्फत सृजित भिडियो देखाएर देउवामाथि बदनाम गर्न खोजिएको दावी गरेका छन् । झापास्थित आफ्नै क्षेत्रमा रहेका ओलीमाथि मतदाताले राखेको जिज्ञासमा ओलीले भनेका छन्, ‘देउवाको घरमा जलेको भनिएको भिडियोमा सत्यता छैन, त्यो एआईबाट सृजित भिडियो हो ।’
तर ओलीको यो दावी भने तथ्यमा आधारित देखिँदैन । भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी हुँदा काँग्रेसकै नेता दीपक खड्का तथा सभापति शेरबहादुर देउवाकै निवासमासमेत पैसाका नोट जलेका थिए । प्रत्यक्षदर्शी तथा विभिन्न मिडियाहरुले समेत उक्त भिडियो कैद गरेका छन् । केही पक्षबाट फेक भिडियो पोष्ट भएपनि देउवा निवासमा पैसा जलेको भनेर पोष्ट भएका सबै भिडियोहरु फेक होइनन् । जुन तथ्यलाई विभिन्न मिडिया र पत्रकारहरुलेसमेत पुष्ट्याइ गरिसकेका छन् । यद्यपि केपी ओलीले भने आफ्नो मतदाताहरुलाई देउवा निवासको भिडियो एआईबार्ट सृजित भएको भनेर सरासर ढाँटेको देखिएको छ । ओलीको यो अभिव्यक्ति अझै देउवालाई फकाउने रणनीतिको रुपमा लिइएको छ ।
