News 24 Television
चुनावी प्रचारमा आक्रामक रास्वपा, रवि–बालेनको सक्रियता बढ्यो

काठमाडौँ । आम निर्वाचन नजिकिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आक्रामक रुपमा मैदान उत्रिएको छ । रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह यतिबेला चुनावी मैदानमै खटिरहेका छन् । सभापति रवि अहिले आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवनको कार्यक्रम सकेर रुपन्देही पुगेका छन् । रविले आज एकैदिन रुपन्देहीका ५ निर्वाचन क्षेत्रका मतदाता भेटे । बिहान ८ बजेदेखि मतदाता भेटघाटको कार्यक्रम थालेका उनी साँझसम्म नै रुपन्देहीमा रहने कार्यक्रम छ । मतदाताहरुसँगको भेटमा रविले आगामी निर्वाचनमा देशले जित्नेगरीको मत प्रकट गर्न आग्रह गरिरहेका छ् । उनी पटक पटक नेता र पार्टीले जितेको भन्दै आगामी निर्वाचनमा भने रास्वपालाई भोट दिएर देशलाई जिताउन आग्रह गरिरहेका छन् । 

केही समय अस्वस्थ भएर अस्पताल बसेका रवि अब भने आक्रामक रुपमै देशव्यापी चुनावी अभियानमा दौडिएका छन् । रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र छन् ।  उनले सोमबार नै  सबै क्षेत्रका लागि २६ स्थानमा कार्यक्रम गरे । सोमबारको यो कार्यक्रम सकेर रवि कपिलवस्तुतर्फ लाग्ने कार्यतालिका छ । 

बालेनको दौडधुप उस्तै  

उता पार्टी वरिष्ठ नेता बालेन शाह पनि निर्वाचनमा रास्वपालाई बहुमत दिलाउन र आफ्नो पनि जित सुनिश्चित गर्न उत्तिकै मेहनत गरिरहेका छन् । माघ ६ गते झापा पुगेर उम्मेदवारी दर्ता गरेका उनी त्यसपछि पूर्वी पहाडदेखि पश्चिमी क्षेत्रका जिल्लाहरुमा पुगेका थिए । यसपछि फेरी झापा पुगेर मोरङ, सुनसरी, रामेछाप हुँदै दोलखा पुगेर फेरी काभ्रे हुँदै काठमाडौं आएका बालेन त्यसलगत्तै फेरी झापा नै पुगेका छन् । पछिल्लो समय आफ्नै निर्वाचन क्षेत्रमा खटिएका बालेन अहिले पनि घरदैलो अभियानमै छन् । उनी झापा– ५ का मतदाताहरुसँग प्रत्यक्ष संवाद, भेटघाट र परामर्शमै निरन्तर खटिँरहेका छन् । 

बालेन र ओलीको आ–आफ्नै पारा

भावी प्रधानमन्त्रीका उम्मेदवारहरुसमेत रहेका बालेन शाह र केपी शर्मा ओली झापा – ५ का उम्मेदवार बन्दा यो क्षेत्र चुनावको इपीसेन्टर नै बनेको छ । त्यहीमाथि अहिले ओली र बालेन दुवैजना आफ्नो क्षेत्रमा मतदाताहरुसँगै भेटघाट गरिरहेकाले झापा – ५ थप चर्चाको केन्द्रमै रहेको छ । यस्तैमा उनीहरुले चुनावका गरिररहेको गतिविधि र अपनाइरहेको तरिकालाई लिएर विभिन्न कोणबाट चर्चा भइरहेका छन् । झापा – ५ को पछिल्लो दृष्यमा एमाले अध्यक्ष केपी ओली गाउँगाउँमा विभिन्न आश्वसनसहित आफूलाई मत दिन आग्रह गरिरहेका छन् । उनी बृद्ध, युवा तथा स्कुले बालबालिकाहरुसँग समेत झुमिरहेको देखिन्छन् । जसले उनको चुनावी रणनीति विगतको भन्दा फरक रहेको टिप्पणी गरिएको छ । 

अर्कोतर्फ बालेन शाह पनि  आफूलाई जिताउन भन्दै ग्रामिण बस्तिसम्म पुगेर बृद्ध, युवा तथा बालबालिकाहरुसँगै रमिरहेका छन् । अर्कोतर्फ रोचक विषय के पनि बनेको छ भने, बालेन शाह आईतबार चुनावी दौरानका क्रममा ओलीको प्रचारका लागि खोलिएको सम्पर्क कार्यालयमासमेत प्रवेश गरे । सो क्रममा एमालेका झण्डा र ब्यानर मुनि बसेका कार्यकर्ताहरूसँगसमेत बालेनले हात मिलाउन भ्याएका छन् । एमाले कार्यकर्ताहरुले पनि बालेनको प्रवेशले खुसी लागेको प्रतिकृया दिएका छन् । 

ओली र बालेनले गरिरहेको चुनावी प्रचारको यी केही दृष्यहरु अहिले सर्वत्र चर्चामै छन् । बालेनको यो चुनावी सौहार्दता र सरलतालाई लिएर धेरैले प्रशंसासमेत गरिरहेका छन् । तर आगामी निर्वाचनमा मतदाताले प्रमुख प्रतिस्पर्धी मानिएका ओली, बालेन वा अरु कस्लाई जिताउँलान् ? यो भने प्रतिक्षाकै विषय बनेको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update