काठमाडौँ । भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारिएका रास्वपाका वरिष्ठ नेता बालेनले सार्वजनिक बहस र प्रश्नहरु बहिष्कार गर्ने गरेका छन् । चुनावी प्रचारका क्रममा देश दौडाहामा रहेका बालेनले कैयौँपटक सञ्चारकर्मीका प्रश्नको जवाफ नदिई टार्ने मात्र हैन, माइक र क्यामेरा खोस्ने वा पन्छाउने हर्कत गरेको भन्दै आलोचना भइरहेको छ । यसै परिप्रेक्षमा नेपाली काँग्रेसका सहमहामन्त्री एवं ललितपुर निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार उदय शमशेर जबराले बालेन लगायत भावी प्रधानमन्त्रीका उम्मेदवारहरुलाई टुँडिखेलमा खुल्ला बहस गर्न चुनौती दिएका छन् ।
जबराले प्रधानमन्त्रीका उम्मेदवारहरूबीच राष्ट्रिय बहस हुनुपर्नेमा जोड दिए । उनले बालेनलाई लक्षित गर्दै फेसबुक र ट्विटरको भित्तामा मात्र सीमित नभई सार्वजनिक स्थल (टुँडिखेल) मा आएर पार्टीको नीति, अर्थतन्त्र, परराष्ट्र, कृषि, पर्यटन र जलस्रोतका विषयमा बहस गर्न चुनौती दिए । रास्वपाका नेताहरुप्रति लक्षित गर्दै राणाले उनीहरू नयाँ नभई पुरानै अनुहार भएको दाबी समेत गरे । रास्वपा दुईपटक सरकारमा गइसकेको र त्यसका सभापति दुईपटक गृहमन्त्री बनिसकेको बताउँदै राणाले प्रश्न गरे– उनीहरू कसरी नयाँ भए ? रास्वपा सभापति रवि लामिछानेमाथि लागेका कानूनी मुद्दातर्फ इंगित गर्दै विवादित नेतृत्वले परिवर्तन ल्याउन नसक्ने ठोकुवा समेत गरे । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय बहसका लागि तयार छु भन्दा अहिलेका युवा उम्मेदवारहरूले त्यसलाई किन स्वीकार गर्न सकेनन् ? राणाको प्रश्न छ ।
भावी प्रधानमन्त्रीका सम्भावित उम्मेदवारहरुबीच सार्वजनिक बहस गराउने मिडियाहरुको प्रस्तावमा ओली सकारात्मक देखिएका थिए । कांग्रेसबाट प्रधानमन्त्रीका रुपमा अघि सारिएका गगन थापा पनि बहसका लागि तयार नै थिए । तर रास्वपाले अघि सारेका बालेनले ओलीकै स्टाटमा कमेन्ट गर्दै ‘जेन–जी आन्दोलनका हत्यारा’सँग बहस नगर्ने टिप्पणी गरेका थिए । पछिल्लो निर्वाचन सिंहदरबार लगायत देश जलाउने र देश बनाउनेहरुबीचको लडाइँ रहेको ओलीले बताउँदै आएका छन् । तर रास्वपाका नेता बालेन लगायतले भदौ २३ मा भएको जेनजी युवाहरुको हत्यामा ओली दोषी रहेको भन्दै उनीसँग बहस गर्न नसकिने बताउने गरेका छन् । गगनले चाहिँ नागरिकमाथि गोली चलाउने र सिंहदरबार जलाउने दुवै काम काँग्रेसबाट नहुने बताएका छन् । शनिबार गगनले फेरि सिंहदरबार जल्दैन भन्ने कुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गरे । भदौ २३ र २४ को घटनाको चित्रण गर्दै आगामी निर्वाचनपछि सरकारले गोली चलाउने र अर्कोले सिंहदरबार जलाउने काम हुँदैन भन्ने कुराको ग्यारेन्टी काँग्रेसले गर्ने उनको जिकिर थियो । उनले युवा, बुढापाका सबै नागरिकसँग संवाद गरेर काँग्रेसले निर्वाचनपछि देश विकासको नयाँ अध्याय शुरु गर्ने दाबी गरेका छन् ।
रास्वपाका नेताहरुलाई ‘अराजक’को संज्ञा दिँदै पछिल्लो समय सबै पुराना पार्टीका नेताहरुले अनेक व्यंग्य र टिप्पणी गरिरहेका छन् । पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक प्रचण्डले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने र उत्पीडित वर्गको हक–अधिकार सुनिश्चित गर्ने आफ्नो पार्टी नै मुलुकको सबैभन्दा नयाँ र प्रगतिशील शक्ति भएको दाबी समेत गरेका छन् । नेकपाका नेता माधव सापकोटाले पछिल्लो समयमा राजनीतिक वृत्तमा सिर्जना गर्न खोजिएको ‘सबै पार्टी र उम्मेदवारहरू उस्तै हुन्’ भन्ने भाष्यको खण्डन गर्दै ‘मनग्य पैसा कमाएर, धन दौलत जम्मा गरेर, केवल पद र प्रतिष्ठाको आशक्तिमा आएका घण्टी बजाउनेहरू’ र आफूहरु एउटै नभएको बताएका छन् ।
काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले समेत मुलुकको प्रधानमन्त्री नै करारमा बनाउन खोजेको भन्दै रास्वपाप्रति व्यंग्य गरेका छन् । मुलुकको प्रधानमन्त्री बन्ने कुरा चानचुने कर्मचारी नियुक्त गरेजस्तो नहुने भन्दै शर्माले त्यसको लागि राजनीतिक जग बलियो हुनुपर्ने तर्क गरे । यसरी बहस र नागरिकका प्रश्नहरुबाट भाग्ने तर रहस्यमय रुपमा अघि सारिएका पात्र मुलुकको प्रधानमन्त्री बन्न नसक्ने नेताहरुको टिप्पणी छ ।
