News 24 Television
नेपाल–भारत सम्बन्धको नयाँ मार्गचित्र : सुरक्षा, सामुन्द्रिक पहुँच र रणनीतिक स्थिरता

काठमाडौँ । नेपाल–भारतका सुरक्षा विज्ञहरुले निर्वाचनले मात्रै स्थिरता नदिने बताएका छन् । नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेण्टको दशौं वार्षिकोत्सव समारोहमा बोल्दै विज्ञहरुले नेपालको आगामी निर्वाचन र यसले निम्त्याउने सामरिक कथ्यहरुको विश्लेषण गरेका हुन् ।

निर्वाचनले मात्रै स्थिरता नदिने तर्क गर्दै वक्ताहरुले अनुभवी राष्ट्रवाद, सुधारवादी युवा नेतृत्व, उदाउँदो नयाँ शक्ति र राजतन्त्र पुनस्र्थापनाको पक्षधरका बीचमा निर्वाचन भइरहेको बताए । युरोपका भू–परिवेष्ठित राष्ट्रहरुको उदाहरण दिँदै भूगोलले मात्र राष्ट्रको नियति निर्धारण नगर्ने उनीहरुको भनाइ छ ।

स्विट्जरल्याण्ड र अस्ट्रिया जस्ता देशहरु ‘भूगोलले मात्र ल्याण्डलक’ हुन् तर दक्षिण एशियामा भने देशहरु ‘राजनीति र सुरक्षा’ ले पनि ल्याण्डलक हुन पुगेका भारतीय नौसेनाका पूर्वनिर्देशक सञ्जय जसजीत सिंहले बताए । सुरक्षा सहयोग र रक्षा सहयोग बीचको भिन्नता बुझ्न जरुरी रहेको उनको भनाइ छ ।  

जब एक देशको नागरिकले अर्कोको रक्षाका लागि रगत बगाउँछ, त्योभन्दा प्रगाढ सुरक्षा सम्बन्ध अर्को हुन नसक्ने उनको भनाइ छ । सिंहले बिमस्टेकको महत्वबारे चर्चा गर्दै नेपालको संलग्नताले हिन्द महासागरको भू–राजनीतिमा ठूलो अर्थ राख्ने बताए । दूरीलाई अब किलोमिटरमा मात्र नभई ‘समय’ मा नाप्नुपर्ने र कनेक्टिभिटीले त्यो समय घटाउँदै लगेको उनको धारणा छ । 

विज्ञहरुले खुला सीमानाका चुनौतीहरुबारे बोल्दै १ हजार किलोमिटरभन्दा लामो सीमानालाई स्क्यानर वा तारवारले मात्र सुरक्षित गर्न नसकिने बताए । उनीहरुले म्यानमारमा जारी द्वन्द्वका कारण बढेको लागुपदार्थ (नारकोटिक्स) को ओसारपसार र अफगानिस्तानबाट हुने अफिमको अवैध व्यापारले दक्षिण एशियाली क्षेत्रलाई जोखिममा पारेको उल्लेख गरेका छन् ।

सुरक्षा सहयोगलाई दुई देशबीचको सम्बन्धको ‘मेरुदण्ड’ को रुपमा परिभाषित गरेका छन् । वक्ताहरुले नेपालको आन्तरिक राजनीतिक उत्तारचढाव र निर्वाचनले मात्र सामरिक स्थिरता नदिने तर्क समेत गरेका छन् । युरोपका ९ वटा भू–परिवेष्ठित राष्ट्रहरु (जस्तै स्विट्जरल्याण्ड र अस्ट्रिया) को उदाहरण दिँदै उनीहरुले भूगोलले मात्र राष्ट्रको नियति निर्धारण नगर्ने बताए ।

युरोपेली देशहरु राजनीतिले नभई भूगोलले मात्र ‘ल्याण्डलक’ भएको तर दक्षिण एशियामा भने राजनीति र सुरक्षा चासोले देशहरुलाई बढी प्रभाव पारेको बताएका छन् । सुरक्षा सहयोगलाई प्रायः रक्षासँग मात्र जोडेर हेरिने भएपनि यो त्योभन्दा व्यापक रहेको विज्ञहरुको ठहर छ ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update