काठमाडौँ । नेपाली काँग्रेसलाई रुपान्तरित पार्टीका रुपमा अघि बढाउँदै सिंगो देश बनाउने संकल्पसहित गगन थापा अहिले चुनावी मैदानमा छन् । देशका विद्यमान राजनीतिक र सामाजिक चुनौतीहरूलाई सम्बोधन गर्दै आगामी ५ वर्षलाई मुलुक रूपान्तरणको अवधि बनाउने उनको घोषणा छ । विगतका आन्दोलनहरूबाट प्रेरणा लिँदै र नयाँ पुस्ताको आवाजलाई आत्मसात गर्दै बदलिएको काँग्रेसले भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य बीमाको सुदृढीकरण र प्रशासनिक खर्च कटौतीलाई मुख्य एजेण्डा बनाएको छ । सिरहामा चुनावी सभालाई सम्बोधन गर्दै काँग्रेस सभापति थापाले पार्टीको गौरवमय इतिहासबाट प्रेरणा लिँदै आगामी ५ वर्षलाई नेपालको रूपान्तरणको वर्ष बनाउने उद्घोष गरेका हुन् । आफूहरू पुरानो इतिहासको जगमा उभिएको भएपनि नयाँ सोच र संकल्पका साथ अगाडि आएको उनको दाबी छ । भ्रष्टाचारलाई नेपालको ‘महारोग’ संज्ञा दिँदै थापाले यसको अन्त्य माथिबाटै शुरु हुनुपर्नेमा जोड दिए । आफू स्वास्थ्य मन्त्री बन्दाको अनुभव सुनाउँदै उनले ‘चटक’भन्दा पनि ‘सिस्टम’ मा विश्वास गर्ने बताए ।
मान्छेलाई उचाल्ने कुरा सबैभन्दा सजिलो रहेको तर सबैलाई मिलाएर देश बनाउने कुरा सबैभन्दा गाह्रो रहेको थापाको भनाइ छ । काँग्रेस मिलाउने र सम्हाल्ने बाटोमा हिँड्न चाहेको बताउँदै उनले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने बताए । अबको राजनीति ५ वर्षे योजनामा मात्र सीमित नभई दैनिक कार्यसम्पादन र जवाफदेहितामा आधारित हुनुपर्नेमा उनको जोड छ । थापाले प्रस्तावित नयाँ सरकारी मोडेलका बारेमा चर्चा गर्दै फागुनमा चुनाव र चैतमा सरकार बनेपछि वैशाख १ गतेदेखि नै प्रधानमन्त्रीले जनताका नाममा जवाफदेहिताको नयाँ अध्याय शुरु गर्ने दाबी गरे । काँग्रेसको सरकार बन्दै गर्दा प्रधानमन्त्रीले ५ वर्षको अमूर्त कुरा नगर्ने स्पष्ट पार्दै उनले हरेक ३० दिनमा प्रधानमन्त्री देशवासीको सामु उभिएर महिनाभरि के काम भयो र के हुन सकेन भन्ने स्पष्ट हिसाब दिने पनि उनले बताए । काठमाडौंको आफ्नो सुरक्षित मानिने निर्वाचन क्षेत्र छाडेर मधेसको भित्री भेग सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिनुको कारण प्रस्ट्याउँदै थापाले मधेस नबुझी देशको सफल नेतृत्व गर्न असम्भव रहेको दाबी पनि गरे ।
‘गल्ती स्वीकार्ने र सच्याउने नै बहादुर’
सभापति थापाले भदौ २३ र २४ का घटनाबारे कसैलाई आक्षेप र धारे हात नलगाई त्यसलाई नागरिकहरूको वर्षौंदेखिको हैरानी र असन्तुष्टिको परिणाम बताएका छन् । ती घटनाहरूलाई केवल सुरक्षाको दृष्टिकोणबाट मात्र नहेरी त्यसको गहिराइ बुझ्नुपर्ने उनको भनाइ छ । नागरिकले दैनिक जीवनमा खेप्नुपरेका सास्तीका बारेमा बोल्दै थापाले पासपोर्टको लाइन, लाइसेन्सको झन्झट, मलको अभाव र शिक्षित युवाहरूको बेरोजगारीले जनतालाई दिग्दार बनाएको बताए । थापाले हालको राजनीतिमा दुई थरी घातक प्रवृत्ति देखिएको टिप्पणी गरे । पहिलो– ‘सबै ठीकठाक छ, यो सबै षड्यन्त्र मात्र हो’ भन्ने सत्तारुढ मानसिकता । दोस्रो– ‘आगोमा घिउ थपेर आफ्नो राजनीतिक झन्डा उठाउने’ अवसरवादी प्रवृत्ति । उनले भने– ‘जसले गल्ती र कमजोरी गरेको कुरालाई स्वीकार्दैन, त्यो कायर हो । जसले स्वीकार्छ र सच्याउने हिम्मत गर्छ, त्यो बहादुर हो ।’
मधेसको मुद्दा उठाउने अन्य दलहरूले विगतमा काम नगरेको भन्दै थापाले मधेसको अधिकार र दुःख काठमाडौंको सत्ता र प्रशासनलाई बुझाउने काम आफू र काँग्रेसले मात्र गर्ने जिकिर समेत गरे । ५ वर्षका लागि काँग्रेसलाई मत दिएकोमा कसैले पछुताउनु नपर्ने उनको भनाइ छ ।
