काठमाडौँ । सरकारलाई पुनः राजावादी संगठन र समूहहरु भारी परेको छ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आउनेक्रममा राजावादी दल र संगठनहरुले भव्य स्वागतको तयारी गर्दै शक्ति प्रदर्शन गर्दा सरकारलाई पुनः सुरक्षा चुनौती थपिएको छ । आउँदो निर्वाचनलाई नै लक्षित गरेर राजावादी दलहरुले ज्ञानेन्द्रको स्वागतका नाममा आफ्नो शक्ति प्रदर्शन गर्न खोजेका छन् । यसको उदेश्य प्रमुखतः निर्वाचन र मतदाता प्रभावित पार्नु नै हो ।
गत वर्ष फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यपछि राजावादीहरुको ह्वीम बढेको थियो । जसले देशव्यापी तरङ्ग नै पैदा गरायो । गत वर्षकै फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं आउँदा पनि विमानस्थलमा भव्य स्वागत गरिएको थियो । जहाँ हजारौँ समर्थ सडक ओर्लिएका थिए । राजवादीहरुले यो पटक पनि निर्वाचनकै सम्मुखमा आफूहरुप्रति आर्षण बढाउने रणनीतिकासाथ ज्ञानेन्द्रको स्वागतको आयोजना गरेको देखिन्छ ।
राजवादीहरुको प्रदर्शनलाई नै लक्षित गरेर सरकारले त्रिभुवन विमानस्थलसहितका आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै विमानस्थलदेखि प्रवेशद्वार, पार्किङस्थल लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । तर जिल्ला प्रशासन कार्यालयको निर्णयलाई नै अटेर गरेर राजावादीहरु भने ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थल पुगेका छन् । निषेधाज्ञाबीच राजावादी अभियन्ता दुर्गा प्रसाईँसहित राप्रपाका नेता कमल थापाले समेत विमानस्थल क्षेत्रमा पूर्वराजाको स्वागतमा आउन आग्रह गरेका थिए । राजावादीहरुको यो सक्रियताले आगामी निर्वाचनमा थप सुरक्षा चुनौती बढेको देखिन्छ भने, यस्ता गतिविधि रहिनै रहे निर्वाचन सम्पन्न होला त ? भन्ने प्रश्न खडा भएको छ ।
सरकारलाई प्रसाईँको च्यालेन्ज
निर्वाचन नजिकिँदै जाँदा राजसंस्थाको वकालत गर्दै आएका मेडिकल व्यावसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालका संयोजक दुर्गा प्रसाईँ नै सरकारलाका लागि चुनौती बन्दै आएका छन् । निर्वाचन भाँड्ने अभिव्यक्ति दिएको भन्दै प्रहरीले प्रसाईँलाई पटक पटक पक्राउसमेत गरिसकेको छ । उनी अझै निर्वाचन कसरी हुन्छ ? भन्ने प्रश्न उठाउँदै आएको छन् । यसका पछि उनी राजावादी आन्दोलनसँगै तत्काल निर्वाचन गराउन नहुने पक्षसँगको प्रत्यक्ष परामर्शमासमेत रहेको बताइन्छ । उनी एमाले, काँग्रेस लगायतका तत्काल निर्वाचन नहोस् भन्ने पक्षसँगको सम्पर्कमा रहेको आरोपसँगै पक्राउसमेत परेका थिए । प्रसार्इँ अहिले तीनै पक्षको बलमा निर्वाचन सार्ने वा विफल गराउने रणनीतिमा उभिएको दावी गरिएको छ ।
‘डू अर डाई’को अवस्थामा राजावादी !
गणतन्त्र प्राप्तिको लामो समयसम्म पनि मुलुकमा राजसंस्था र राजतन्त्रको माग भइरहेकै छन् । तर यसको निर्णायक मोड भने अझैसम्म कहिल्यै आएन । गणतान्त्रिक व्यवस्थामा चरम राजनीतिक विकृति, कुशासन र भ्रष्टाचारजस्ता प्रवृत्ति पनि देखिए । यद्यपि अनेकौँ प्रयास भएपनि राजसंस्था पुनस्थापना हुन सकेनन् । बरु जेनजी आन्दोलन भयो । जेनजी आन्दोलनले व्यवस्था होइन, नेतृत्व परिवर्तनको आधार तय गर्ने प्रयास गरेको छ । जेनजी आन्दोलनसँगै राजावादी आन्दोलन पनि भएका थिए । तरपनि राजसंस्था व्यूँतिन सकेन । जेनजी आन्दोलनले देश शुन्य अवस्था पुग्दापनि राजसंस्था पुनस्थापनाको पक्षधर बुलन्द हुन सकेन ।
गत भदौ २३ र २४ को आन्दोलनपछि भएको राजनीतिक शुन्यता नै राजसंस्था पुनस्थापनाको पहिलो विन्दू बनाउने अवसर राजावादीहरुसामु थियो । तर पनि उनीहरुले राजसस्था पुनस्थापनाका लागि दरिलो कमम चाल्ने आँट गरेनन् । यसपछिको विकसित राजनीतिमा राजसंस्थाको मुद्धा कमजोर नै बनेको छ । आगामी फागुन २१ को निर्वाचनको तयारी हेर्दा पनि राजसंस्था पक्षधरसँग जनमत देखिँदैन । जसले गर्दा पनि राजवादी पक्षधर अहिले ‘डू अर डाई’को अवस्थामा पुगेका छन् । यसकारण पनि अहिले राजावादी पक्षधर अस्तित्वको लडाइँ र जनताको मनोभावनामा खेल्ने प्रयासमा लागेको देखिन्छन् । निर्वाचनको सम्मुखमा बढेको राजावादी सक्रियताले के मुलुकमा फेरी राजसंस्थापको पक्षमा ह्वीम ल्याउँला ? यो भने प्रश्नकै विषय बनेको छ ।
