काठमाडौँ । नेपालमा चुनावको समयमा मूल्य वृद्धि र कृत्रिम अभाव हुने विषय नयाँ हैन । अहिले पनि आगामी प्रतिनिधिसभा निर्वाचनलाई देखाएर समाजमा महँगीको त्रास फैलाइँदैछ । नेपाल आयल निगमले ग्यास आयातमा कमी नरहेको बताइरहँदा पनि बजारमा खाना पकाउने ग्यासको हाहाकार देखियो । कैयौ ग्यास पसल डिपोमा अभाव देखिएपछि आयल निगमले आफ्नै डिपोबाट प्रत्यक्ष ग्यास बिक्री सुरु गरेको छ । निगम भन्छ– आपूर्तिमा समस्या छैन, तर बजारमा उपभोक्ताले ग्यास पाएका छैनन् । यो सिधै ‘कृत्रिम अभाव’को संकेत हो । महँगी बढ्ने वा थप राजनीतिक उथलपुथल हुने आकलनका बीच व्यापारी तथा उपभोक्ताहरुले स्टक थुपारेर राख्न थालेका छन् । चुनावको मुखमा व्यापारीहरूले स्टक लुकाउने र उपभोक्ताहरूले पनि भविष्यमा अभाव हुने डरले आवश्यकताभन्दा बढी सिलिन्डर तथा खाद्यान्न सञ्चय गर्नाले अभाव र महँगी बढेको देखिन्छ ।
बजारमा खाद्यान्न, खानेतेल र अन्य दैनिक उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ । पछिल्ला केही हप्तामा खानेतेलमा प्रतिलिटर ४० देखि ५० रुपैयाँ र चामलमा प्रतिबोरा १०० देखि २०० रुपैयाँसम्म मूल्य वृद्धि भएको रिपोर्ट आएका छन् । यस विषयमा बुधबारको राष्ट्रिय सभा बैठकमा समेत प्रश्न उठेको छ । नेकपाका सांसद घनश्याम रिजालले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बजारमा कालाबजारीहरु सक्रिय भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । चुनावी समयमा आपूर्ति प्रणाली अस्थिर पार्ने र अनावश्यक नाफा कमाउने उद्देश्यले केही व्यवसायीले कृत्रिम अभाव देखाएको उनको आरोप छ ।
के भन्छन् सरोकारवाला ?
बजारमा पछिल्ला दिनमा खानेतेल, चामल र दालमा अत्यधिक मूल्यवृद्धि भएको व्यवसायीहरू नै स्वीकार्छन् । नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले केही दिन यता बजारमा दाल, चामल, तेलमा भाउ बढेर आएको बताएका छन् । उनका अनुसार एमआरपी (अधिकतम खुद्रा मूल्य) नै बढेर आएका कारण दैनिक उपभोग्य वस्तुहरु खुद्रा व्यापारीहरुले बढाएर बेच्नुपरेको छ । मुल्य वृद्धिको कारण बुझ्दा उत्पादक, आयातकर्ताले डलरको भाउ बढेर भनिरहेका छन् । कच्चा पदार्थको मूल्य बढ्दा पनि केही खाद्यपदार्थको भाउ बढेको उनको भनाइ छ ।
बजारमा ब्यापारीले दाल, चामलजस्ता वस्तुको मुल्य वृद्धि गरिरहँदा सरकारी संस्थाले भने भाउ बढाउन नपरेको बताएको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले अझै आफूहरुले बिक्री गर्ने समानमा मूल्यवृद्धि नगरेको प्रष्ट पारेको छ । कर्पाेरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेशकुमार झाका अनुसार अहिले स्टकमा १ लाख २७ हजार ४६३ मेट्रिक टन नुन छ । यो स्टकले ६ महिनाभन्दा बढी थेग्छ । यसमा कुनै पनि मूल्यवृद्धि हुनेछैन । साल्ट टेड्रिङको काठमाडौँ कार्यालय अन्तर्गत चिनी अहिले स्टकमा ६ हजार ४४३ क्विन्टल रहेको छ । यो स्टकमा मूल्यवृद्धि भएको छैन र पुरानै मूल्यमा बिक्री भइरहेको छ । बजारबाट साल्ट ट्रेडिङले खरिद गरेर ल्याउने खाद्यवस्तुहरुमा मूल्यवृद्धि भए आगामी दिनमा भाउ बढ्ने सम्भावना रहेको उनी स्वीकार्छन् ।
सरकारले बढायो अनुगमन
बजारमा दैनिक उपभोग्य वस्तुसहित निजी कम्पनीहरुले ग्यास अभाव गरेपछि सरकारले अनुगमन बढाएको अधिकारीहरुले बताएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक नरहरि तिवारीले दाल, चामल, तेलमा मूल्यवृद्धि गरेको गुनासोपछि अनुगमन बढाइएको बताए । उनले बजारमा कुनै पनि वस्तुको सहज आपूर्ति र सोको व्यवस्थापन गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लागिपरिरहेको बताउँदै उपभोक्ताले वस्तुहरु सहजरुपमा पाएको अवस्था छ वा छैन भन्ने सन्दर्भमा अनुगमन बढाइएको जानकारी दिए ।
उपभोक्ताहरूमा भने चुनावपछि महँगी झनै बढ्ने त्रास छ । चुनावमा बजारमा ठूलो मात्रामा ‘अनौपचारिक पैसा’ प्रवाह हुने भएकाले बजारमा तरलता बढ्छ र वस्तुको माग बढी हुँदा मूल्य वृद्धि (मुद्रास्फिति) हुने गर्दछ । चुनावका बेला राजनीतिक दलहरूले उद्योगी–व्यापारीबाट ‘चन्दा’ असुल्ने गर्नाले समेत व्यापारीहरूले उक्त चन्दाको भार वस्तुको मूल्य बढाएर उपभोक्ताबाटै असुल गर्छन् । चुनावपछि बन्ने नयाँ सरकार तथा राजनीतिक वातावरण र आगामी बजेट, कर नीति र आर्थिक योजना कस्तो हुने भन्ने कुराले पनि बजार र आर्थिक गतिविधिलाई प्रभाव पार्नेछ ।
