News 24 Television
माघयता मात्रै तेस्रोपटक झापामा ओली, डर बालेनकै !

काठमाडौँ । झापा– ५ मा कडा प्रतिस्पर्धा हुने देखिँदा एमाले अध्यक्ष केपी शर्मा ओली तनावमा परेका छन् । विगतमाजस्तो सहजै जित निश्चित नहुने मूल्याङ्कनपछि केपी शर्मा ओली आईतबार फेरी निर्वाचनकै तैयारीका लागि तेस्रो पटक झापा पुगेका छन् । मुख्यतः रास्वपा वरिष्ठ नेता बालेन शाहको झापा आगमनकै कारण ओलीलाई तनाव बढेको हो । पछिल्लो समय मतदातामा देखिएको चेतना र मत परिवर्तनको क्रासकै कारण केपी शर्मा ओली आफ्नो जितलाई सुनिश्चित गर्न पटक पटक ओली झापा पुगिरहेका हुन् । 

महिनादिनमा ओली ३ पटक झापामा 

एमाले अध्यक्ष केपी शर्मा ओली गत माघ ६ गते उम्मेदवारी दर्ताका लागि झापा पुगेका थिए । उक्त समय पनि ओलीले आफ्ना मतदाताहरुसँग भेट गरेर आफूलाई मतदान गर्न आग्रह गरेका ओली त्ययसता अझ सक्रिय रुपमा निर्वाचन गतिविधि गरिरहेका छन् । ओली दोस्रो पटक माघ २३ गते झापा पुगेर ७ दिनसम्म मतदाताहरुसँगै भेटघाटमा रहेका थिए । निर्वाचन जित्न थप चुनौती देखेपछि ओली तारान्तर मतदातासँग नजिकिरहेका देखिन्छन् । 

दोस्रोपटक ७ दिनसम्म झापामा रहँदा ओलीले आफ्नो निर्वाचन क्षेत्रका ८० भन्दा बढी बस्तीमा घरदैलो गरेका छन् । धेरै कार्यकर्ताबाट तीखो प्रश्नको सामनासमेत गरेका ओली माघ २९ गते काठमाडौं फर्किएर आईतबार फेरि झापातर्फ नै हानिएका हुन् । सोमबार झापा पुगे लगत्तैबाट ओली फेरी मतदाता भेटघाटमै लागिसकेका छन् । यो पटक ओली फागुन ६ गतेसम्म झापामै रहने जनाइएको छ । 

किन झापामै सीमित भए ओली ?

ओली ३ पटकसम्म प्रधानमन्त्री भइसकेका शीर्ष दलका शीर्ष नेता नै हुन् । उनको लक्ष्य फेरी प्रधानमन्त्री बन्नुतर्फनै केन्द्रीत छ ।  तर उनले एमालेलाई शक्तिशाली बनाउने देशव्यापिरुपमा सभा र सम्मेलन भने गर्न सकेका छैनन् । विगतमा देशभरका उम्मेदवारलाई जिताउन देशव्यापी कार्यक्रम गर्ने ओली अहिले भने आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत गतिविधिमा मात्रै सिमित देखिएका छन् । यसको अर्थ आफ्नै निर्वाचन क्षेत्रमा जित हासिल गर्न ठूलो मिहेनत गर्नुपर्ने आवश्यकता नै हो ।  

झापा – ५ मा अहिले पनि ओलीप्रति मतदाता सन्तुष्ट छैनन् । उनी मतदाताकहाँ पुग्दा सँधै पेचिलो प्रश्न र आलोचनाले घेरिने गरेका छन् । यस्तै देशव्यापी रुपमा एमालेमाथि असन्तुष्टि बढ्नुले पनि ओलीलाई आफ्नै निर्वाचन क्षेत्रमा मात्रै खुम्चन बाध्य पारेको छ । 

कडादेखि नम्रतर्फ ओली 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सुरुमा आफ्ना प्रतिस्पर्धीहरुलाई खरो टिप्पणी गर्दै आएका थिए । ओलीले सुरुका दिनमा रास्वपा उम्मेदवार बालेनदेखि नेकपा उम्मेदवार रञ्जित तामाङसम्मलाई केटाकेटीको संज्ञा दिएका थिए । ओलीले बालेन लक्षित टिप्पणी गर्दै देशमा आगो लगाउनेसँग कुनै प्रतिस्पर्धा नै नुहने भनेर कडा टिप्पणी गरेका थिए । यद्यपि पछिल्लो समय भने ओली आफ्नो प्रतिस्पर्धीहरु प्रति नम्रता प्रकट गरिरहेका छन् । बढ्दो आलोचना र अलोकप्रियताले एक महिनामौ प्रतिस्पर्धीहरुप्रति ओलीको बोली फेरिएको देखिन्छ । 

ओलीले पछिल्लो अभिव्यक्तिमा नाति पुस्ताका भएपनि आफ्ना प्रतिस्पर्धी उम्मेदवारहरुलाई स्वीकार गरेको देखिन्छ । यो स्वीकारोक्ति प्रकटसँगसँगै ओलीले निर्वाचन मत परिणाम पनि आफ्नो पक्षमा आउनेमा विश्वस्तता प्रकट गरिरहेका छन् । अहिलेसम्मको स्थितिमा ओलीले आफ्ना मतदातालाई थोरै भएपनि कन्भिन्स गरेर आफूप्रति आकर्षित गरिरेका छन् । तर उता बालेन शाहको यो क्षेत्रमा थप मतदाता भेटघाटको कार्यक्रम तय हुन बाँकी नै छ । यदी बालेन फेरि कार्यक्रमसहित निर्वाचन क्षेत्रमा आएमा कार्यकर्ताको मुड रास्वपा र बालेनतर्र्फ नै मोडिने खतरा पनि उत्तिकै देखिन्छ । 

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update