काठमाडौँ । कञ्चनपुरका तीन वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरुबीच प्रत्यक्ष संवाद (ककस) कार्यक्रम सम्पन्न भएको छ । महेन्द्रनगर जेसिज र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को संयुक्त आयोजनामा फागुन २१ को निर्वाचनको पूर्वसन्ध्यामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागी उम्मेदवारहरुले आफ्नो चुनावी एजेन्डा, प्रतिबद्धता तथा क्षेत्र विकासका लागि दीर्घकालीन भिजन प्रस्तुत गरेका थिए । उनीहरुले पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा–स्वास्थ्य सुधार, विपद जोखिम न्युनिकरण र सुशासनलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए ।

संवादका क्रममा सहभागी नागरिकहरुले उठाएका जिज्ञासा र प्रश्नहरुको उम्मेदवारहरुले प्रत्यक्ष जवाफ दिएका थिए । मतदाता र उम्मेदवारबीचको दूरी घटाई योग्य र सक्षम प्रतिनिधि छनोटमा टेवा पुर्याउने उद्देश्यले प्रत्यक्ष संवाद कार्यक्रम आयोजना गरिएको महेन्द्रनगर जेसिजका अध्यक्ष लक्ष्मण पन्त ले बताए । पन्तले लोकतन्त्रलाई बलियो बनाउन मतदातासँग उम्मेदवारको प्रत्यक्ष संवाद अनिवार्य भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले जनमतलाई सशक्त बनाउने विश्वास व्यक्त गरे ।
मतदाता र उम्मेदवारबीच विश्वासको सेतु निर्माण गर्न तथा योग्य नेतृत्व छनोटमा सहजीकरण गर्ने लक्ष्यसहित प्रत्यक्ष संवाद गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले बताए । विकास र सामाजिक न्यायका सवालमा उम्मेदवारहरुको स्पष्ट धारणा सार्वजनिक रुपमा बुझ्न यस्तो संवाद प्रभावकारी माध्यम भएको उनले बताए । कञ्चपुरबाट निर्वाचित भएर जाने प्रतिनिधिले जनताको आधारभूत आवश्यकता शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार, विपद जोखिम न्युनिकरणको मामिलामा कानून बनाउने र बनेका कानूनलाई कार्यान्वयलाई गराउन प्राथमिकताका साथ पहल गर्नुपर्ने धारणा उनले राखे ।

५५ उम्मेदवार चुनावी मैदानमा, के–के छन् एजेन्डा ?
कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसले तीन पटक, माओवादी केन्द्र र एमालेले दुई/दुई पटक चुनाव जितेको इतिहास छ । यसपटक यस क्षेत्रमा १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट पूर्वमन्त्री तारा लामा तामाङ, नेपाली कांग्रेसबाट गोपीप्रसाद उपाध्याय र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट पूर्वमन्त्री बीना मगरलाई मैदानमा उतारेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट जनक धामी उम्मेदवार बनेका छन् । उपाध्याय र धामी पहिलो पटक चुनावी प्रतिस्पर्धा उत्रिएका छन् ।
यस क्षेत्रमा कुल मतदाता १ लाख एक हजार ७ सय २४ मतदाता रहेका छन् । सीमावर्ती क्षेत्र भएकाले बाढी–डुबान, तटबन्ध निर्माण र सीमा सुरक्षा यस क्षेत्रका प्रमुख समस्या हुन् । कृषि र सिँचाइ अभावले किसान प्रभावित छन् । मतदाताले बाढी नियन्त्रण, सीमासँग जोडिएको व्यापार सहजीकरण र रोजगारी सृजनाको अपेक्षा गरेका छन् ।

त्यस्तै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा १९ जना उम्मेदवार छन् । नेपाली कांग्रेसका एनपी साउद यस क्षेत्रबाट पटक–पटक प्रतिनिधि सभामा पुगिसकेका छन् । नेकपा एमालेले बचन सिंह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दीपक बोहरा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले माधव पन्तलाई उम्मेदवार बनाएका छन् । यस क्षेत्रमा १ लाख ९ हजार ५ सय ७४ मतदाता रहेका छन् । यस क्षेत्रमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडितहरुको पुनस्र्थापना हुन सकेको छैन् । वर्षोदेखि लालपुर्जा नपाएका जनता निराश छन् ।
त्यस्तै महाकाली पारीको दोधारा चाँदनी नगरपालिकासँगै भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकाको ८ नम्बर वडा समेट्ने क्षेत्र नं ३ मा भने १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसअघिका निर्वाचनमा प्राय रमेश लेखक नै उम्मेदवार हुने गरेको यस क्षेत्रमा कांग्रेसले यसपटक हरिप्रसाद बोहोरालाई उम्मेदवार बनाएको छ । त्यस्तै एमालेबाट डा. दिपकप्रकाश भट्ट, नेपाली कम्युनिष्ट पार्टीले मानबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञानेन्द्र महता चुनावी मैदानमा छन् । यस क्षेत्रमा १ लाख ३ हजार ८७ मतदाता रहेका छन् ।

यस क्षेत्रमा दोधारा चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाह, महाकाली नदीको कटान, मझगाउँ विमानस्थललगायतका योजना चुनावी एजेन्डा बनेका छन् । कञ्चनपुरमा तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार र मतदाता एउटै मञ्चमा आमनेसामने भएको यस कार्यक्रमलाई नौलो प्रयासका रुपमा लिइएको छ । यस्तो प्लेटर्फममा उठेका मतदाताका प्रश्न र उम्मेदवारका योजना, दृष्टिकोण तथा प्रतिबद्धतासहितको जवाफले पनि फागुन २१ मा हुने निर्वाचनको फैसलामा फरक पार्ने विश्वास लिइएको छ ।


