News 24 Television
बालेनका नयाँ-नयाँ ट्रिक, पत्नीको खटनदेखि धर्मगुरुको आशीर्वादसम्म !

काठमाडौँ । रास्वपा वरिष्ठ नेता बालेन शाह कम बोल्छन् । २०७९ सालमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएपछि पनि उनले धेरै आश्वसन देखाएनन्, आम रुपमा सम्बोधन पनि कम नै गरे । सो बेला बालेनले केही प्रमुख मिडियाबाहेक कुनै सभामामार्फत चुनावी प्रचार नगरी अनपेक्षित नजिता निकाल्दै मेयर पदमा जित हासिल गरेका थिए । उनीमाथि नबालेल्ने व्यक्तिका रुपमा थप अरोप पनि लाग्दै आएका छन् । 

मेयरमा ५ वर्षको लागि मत मागेर अहिले कार्यकाल पूरा नागरिकन नै विदा भएको भन्दै उनीमाथि आलोचना पनि भइनै रहेको छ । बालेन अहिले प्रतिनिसभा सदस्यकोको निर्वाचन जित्दै प्रधानमन्त्री बन्ने दौडमा छन् । यसरी नै बालेनले अहिलेको निर्वाचनमा पनि सबै  जिल्लामा पुग्नेगरी देश दोडाहा गरे । तर उनले कुनै पनि सभालाई सम्बोधन भने गरेका छैनन । रास्वपाले अहिलेसम्म करारपत्रमार्फत आफ्नो धारणा मात्रै पेश गरेको छ । अझ भनौँ रास्वपा र बालेनले अहिलेसम्म कम बोल्ने रणनीतिलाई नै अबलम्बन गरिरहेको छ । 

झापामा बालेनको अनेक ट्रिक !

बालेनका लागि निर्वाचन जित्न सिद्धान्त र बलियो पार्टी संगठन नभएपनि आम रुपमा व्यापक समर्थन रहँदै आएको छ । बालेन सभा, सम्मेलन र मञ्चमा कम बोलेपनि आफ्नो रणनीतिलाई भने बढी भन्दा बढी उपयोग गरिरहेका छन् । झापामा मनोनयनका लागि पुग्दा होस् वा देश दौडाहामा पुग्दा नै किन नहोस् उनको पक्षमा उल्लेख्य लहर देखियो । तर यो लहरले मात्रै निर्वाचन नतिजा आफ्नो पक्षमा आउने ग्यारेन्टी छैन । यही बुझेका बालेन देशव्यापी दौडाहा पछि अहिले आफ्नै निर्वाचन क्षेत्र झापा पुगेका छन् । सो क्रममा उनले गाउँगाउँमा पुगेर विदेशमा रहेका मतदाताका आफन्तसँगसमेत कुराकानी गरिरहेका देखिएका छन् । साथै उनले स्थानीय मतदाताको समस्याका सवालमासमेत प्रत्यक्ष संवाद थालेका छन् । 

निर्वाचन आयोगले सोमबार देखि नै खुला रुपमा पार्टी र उम्मेदवारको प्रचार गर्न सुविधा दिएको छ । यसको पहिलो दिन नै झापा पुगेर बालेनले आफ्नो पक्षमा मतदान गर्न आह्वान गरिरहेका हुन् । प्रमुखतः बालेनले मतदाता आकर्षित गर्न अनेकाँै तौरतरिका अपनाइरहँदा पत्नी सविना काफ्लेले समेत उनलाई सहयोग गरिरहेकी छन् । बालेन देश दौडाहामा रहँदा पत्नी सविना ढुक्कै झापा – ५ मा खटिइन् । सबिनाको यो सक्रियताले महिला सशक्तिकरण र न्यायिक दृष्टिले मतदाताहरु प्रत्यक्ष रुपमा आकर्षित हुने विश्लेषण गरिएको छ । 

अर्कोतर्फ बालेनको जन्म मधेशमा र काठमाडौंको बासिन्दा भएकाले झापामा टुरिष्ट उम्मेदवारको आरोप खेपिरहेका छन् । सबिनाको सक्रियताले यो आरोपलाई केहिहदसम्म मत्थर बनाउन सहयोग गरेको छ । किनकी बालेनपत्नी सविना मोरङकी बासिन्दा हुन् । सविनाले मतदाताहरुलाई आफू यहीको बासिन्दा भनेर परीचय दिइरहेकी छन् ।

किराँत अनुयायी आकर्षित गर्ने रणनीति पनि !

झापा– ५ किराँत धर्मवालम्बीहरुको लागि प्रख्यात स्थल पनि हो । यहाँ किरात धर्मवालम्बीहरुको उल्लेख्य बसोबास छ । अर्कोतर्फ यो क्षेत्र इलामसँग समेत जोडिएकाले यहाँको निर्वाचन मत परिणामलाई किराँत धर्मवालम्बी र गुरुको प्रभावसँग पनि जोडेर हेर्ने गरिएको छ । यसर्थ यही मतदातालाई आकर्षित गर्न बालेन पत्नी इलामस्थित किराँत धर्मगुरु आत्मनन्द लिङ्देनको दर्शनका लागि पनि पुगेकी छन् । हुनत विगतमा ठूलै दलका नेताहरुसमेत निर्वाचन अघि धर्मगुरुको आर्शिर्वाद थाप्न पुग्ने गरेका थिए । यस्तैमा अहिले बालेनपत्नी सबिना पनि इलामको माङ्सेबुङ पुगेको देखिन्छ । 

इलामको कतिपय निर्वाचनमा धर्मगुरुसँग नै निर्णायक मत रहने भनेर विश्लेषण गर्ने गरिएकामा झापा–५ को सवालमा पनि यो विश्लेषण केहीहदसम्म मिल्न जान्छ । तसर्थ यही प्रयोजनका लागि पनि बालेनले सबिनामार्फत किराँत धर्मवालम्बीहरुको मत आकर्षित गर्न खोजेको व्याख्या गरिन थालेको छ । काठमाडौं महानगरको निर्वाचनमा कम बोलेरपनि अत्याधिक मत प्राप्त गर्दै विजयी प्राप्त गरेका बालेनले यसपालि झापामा पनि भित्रिरुपमा अनेकौँ रणनीतिक कदम चालेर जित निकाल्ने प्रयास गरिरहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update