काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा सुशासन प्रवाह गर्न निर्वाचनको विकल्प नभएको बताएका छन् ।
विगतका निर्वाचनमा धेरै चासो नदेखाउने र आफ्नै काममा व्यस्त रहने नागरिकहरू समेत यसपटक निर्वाचनप्रति निकै सचेत देखिएको उनको विश्लेषण छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले पहिलेको तुलनामा मतदाताहरूको मनोविज्ञानमा ठूलो परिवर्तन आएको दाबी गर्नुभयो । नागरिकहरू अहिले निर्वाचनको महत्व बुझेर स्वयंस्फूर्त रूपमा तयारीमा लागेको उनको भनाइ छ । युवाहरूले निर्वाचनलाई केवल मतदानको प्रक्रिया मात्र नभई सुशासनको कडीका रूपमा बुझेको भण्डारीको तर्क छ ।
गाउँगाउँ र टोलटोलमा मतदाता शिक्षा
मतदाता नामावलीमा नाम समावेश गर्नेदेखि लिएर गाउँगाउँ र घरघरमा पुगेर मतदाता शिक्षा प्रदान गर्ने कार्यमा युवाहरू अगाडि सरेकोमा आयोगले खुशी व्यक्त गरेको छ । ‘अहिले गाउँगाउँ, टोलटोल र घरघरमा उहाँहरूले मतदाता शिक्षा प्रदान गरिरहनुभएको छ,’ भण्डारीले भने । यो सक्रियताले निर्वाचन आयोगको बोझ कम मात्र गरेको छैन, बरु लोकतन्त्रको जरालाई अझ मजबुत बनाएको छ ।
मतदान प्रतिशत बढ्ने र बदर मत घट्ने आयोगको विश्वास
बढ्दो जनचेतना र सक्रियताका आधारमा यसपटक मतदानको प्रतिशत उल्लेख्य रूपमा बढ्ने र बदर मतको संख्या घट्ने आयोगको अपेक्षा छ ।
कार्यवाहक प्रमुख आयुक्तले भन्नुभयो, ‘मतदानको प्रक्रियामा पहिलाको भन्दा थुप्रै प्रतिशत मतदान पनि बढ्छ र मत बदर हुने क्रम पनि अथवा प्रतिशत पनि घट्छ । सबै मत सदर भएर मतदान हुन्छ भन्ने आयोगले विश्वास गर्छ ।’ यस दाबीलाई पुष्टि गर्ने थुप्रै आधारहरू रहेको समेत उनले स्पष्ट पारे ।
बदर मत घटाउने लक्ष्य
विगतका निर्वाचनको तुलनामा यस पटक मतदानको प्रतिशत बढ्ने र बदर मतको संख्या घट्नेमा आयोग विश्वस्त रहेको छ । स्वयंसेवकहरू घर–दैलोमा पुगेर मतदान प्रक्रिया सिकाउन सक्रिय रहेको र आयोगले दैनिक रूपमा मतदाता शिक्षा प्रदान गरिरहेको उनले जानकारी दिए ।
डिजिटल मिडिया र निर्वाचन प्रचारको बदलिँदो स्वरूप
प्रमुख आयुक्त भण्डारीले परम्परागत सञ्चार माध्यमको तुलनामा अहिले सामाजिक सञ्जालको प्रभाव निकै बढेको बताए । ‘फेसबुक, ट्विटर, युट्युब, टिकटक जस्ता प्लेटफर्महरू निर्वाचन प्रचारका मुख्य माध्यम बनेका छन्,’ उनले भने, ‘अहिले मतदाताको रुचि र व्यवहार विश्लेषण गरेर ‘माइक्रो टार्गेटिङ’ मार्फत प्रचार गर्ने क्रम बढेको छ । यस्तो बेला गलत सूचना र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग हुन सक्नेतर्फ हामी सजग हुनुपर्छ ।’
मौन अवधिको गरिमा र मतदाताको विवेक
निर्वाचन हुनु ४८ घण्टा अगाडिदेखि शुरु हुने ‘मौन अवधि’ (प्रचारप्रसार निषेध गरिएको समय) को विशेष महत्व रहेको बताए । उनले यसलाई मतदाताले आफ्नो अन्तरात्माको आवाज सुन्ने समयका रूपमा व्याख्या गरे । ‘दलहरूको दबाब, भीडको चिच्याहट र सामाजिक सञ्जालको प्रदुषणबाट मुक्त भई मतदाताले स्वतन्त्र निर्णय गर्न पाउनुपर्छ,’ भण्डारीले भने, ‘निर्वाचन केवल जित्ने साधन मात्र होइन, यो जनताको मन जित्ने संस्कारयुक्त प्रक्रिया पनि हो ।’
प्रेस स्वतन्त्रता र आयोगको अडान
पछिल्लो समय आयोग र सञ्चार जगतबीच केही विषयमा देखिएको असमझदारीलाई स्पष्ट पार्दै उनले आयोग प्रेस स्वतन्त्रताको कट्टर हिमायती रहेको बताए । यद्यपि, मतदान हुनुअघि नै गरिने ‘मत सर्वेक्षण’ र हारजितको अनुमानले प्रतिष्पर्धाको वातावरण बिगार्ने भन्दै त्यस्ता कार्य नगर्न उनले अनुरोध गरे ।
उनले भने, ‘स्वतन्त्रताको नाममा निर्वाचनको मर्यादा र मतदाताको गोप्य रूपमा मत दिन पाउने अधिकारको रक्षा गर्नु हामी सबैको साझा संवैधानिक कर्तव्य हो ।’
‘०८४ अगाडिको विद्रोह’ र २१ गतेको निर्वाचनको महत्व
कतिपयले निर्वाचन अगाडि नै ल्याइएको भन्ने जिज्ञासाको उत्तर दिँदै उनले मुलुकको भड्किएको अनुशासनलाई लयमा ल्याउने एक मात्र प्रक्रिया निर्वाचन भएको दाबी गरे । भदौ २३ र २४ गतेको सन्दर्भ जोड्दै उनले भने, ‘मुलुकको शान्ति र अमनचयन भड्कियो भने त्यसलाई लयमा ल्याउने माध्यम निर्वाचन मात्र हो । २१ गतेको निर्वाचन सफल पार्नु हामी सबैको दायित्व हो ।’
युवा र ‘जेन-जी’ को उत्साहजनक सहभागिता
यस पटकको निर्वाचनमा युवा वर्ग, विशेषगरी ‘जेन-जी’ को उपस्थिति र चासो निकै बढेकोमा आयोगले खुशी व्यक्त गरेको छ । भण्डारीकाअनुसार करिव ८ देखि १० लाख नयाँ मतदाता नामावलीमा थपिएका छन् । युवाहरूले मुलुकमा सुशासनका लागि निर्वाचनको महत्व बुझेर गाउँ–गाउँमा मतदाता शिक्षामा सहयोग गरिरहेको भण्डारीले बताए ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन सञ्चार जगत र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको भुमिका अपरिहार्य रहेको बताए । आगामी निर्वाचनको सन्दर्भमा आयोगद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले डिजिटल प्रविधिको युगमा सही सूचना संप्रेषण गर्नु नै अहिलेको मुख्य चुनौती रहेको बताए । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले कलाकारहरूलाई ‘राष्ट्रका गहना’ को संज्ञा दिँदै समाजलाई सही मार्गनिर्देशन गर्न र तथ्यपरक सूचना प्रवाहमा नेतृत्व लिन आग्रह गरे ।
