काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी निर्वाचनपछि एकल सरकार निर्माणका लागि चुनावी रफ्तारमा छ । मुलुकको माहोल र मतदाताको लहर हेर्दा पनि रास्वाप्रति जनआकर्षण उत्तिकै देखिन्छ । यही लहरलाई पार्टीको शक्तिको रुपमा परिणत गरेर रास्वपा भावी सरकारको नेतृत्व सम्हाल्ने योजनामा अघि बढिरहेको छ । यदी रास्वपाले मुलुकको नेृतत्व सम्हाल्ने अवसर प्राप्त गरेमा पार्टी वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने सहमतिसमेत भइसकेको छ ।
यही योजना अनुसार नै रास्वपाले देशव्यापी चुनावी सभा र मतदाता भेटघाटको कार्यक्रम फरक ढंगले तीव्रता दिइरहेको छ । यस्तैमा उम्मेदवारी दर्ता गर्नुअघि नै रवि र बालेनले मधेशमा संयुक्त सभा गरेर मतदाता र पूरै देशको ध्यान खिचे । यसपछि आ–आफ्नै ढंगले चुनावी प्रचार गरिरहेका बालेन रविले अब फेरी संयुक्त सभा गरेर मतदाता आर्षित गर्न खोजिरहेका छन् । यही क्रममा रवि बालेन बुधबार सुदुरपश्चिमको धनगढिमा संयुक्त सभाको आयोजना गरेका छन् । उनीहरुले एकै स्टेजमार्फत जनतालाई सम्बोधन गर्दै रास्वपालाई बहुमत दिलाउन आग्रह गरेका छन् । धनगढीको यो कार्यक्रम नै रवि–बालेनको दोस्रो संयुक्त कार्यक्रम हो ।
तर रास्वपाले जनता आकर्षित गरिरहेपनि सभापति रविमाथिको मुद्दाले भने पार्टीको रफ्तारमा धक्का पुग्ने खतरा पैदा भएको छ । यसअघि चितवनबाट २ पटकसम्म जित हासिल गरिसकेका रवि दुई पटक नै गृहमन्त्री भए । तर पनि रविमाथिको सम्पति सुद्धिकरण, संगठित अपराध र सहकारी ठगी प्रकरणको मुद्दा अझै किनारा लागेको छैन । जसले रास्वपा र रविमाथि थप आशंका कायमै राखेको छ ।
मुद्दा किनारा लगाउन अदालत बाधक
रविविरुद्धका सम्पत्ति सुद्धिकरण र संगठित अपराधका मुद्दा फागुन २१ को निर्वाचनअघि फिर्ता नुहने भएका छन् । यसअघि सरकारको निर्देशन अनुसार महान्यायधिवक्ताको कार्यालयले रविविरुद्धका सम्पत्ति सुद्धिकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेको थियो । तर कास्की जिल्ला अदालत र रुपन्देही जिल्ला अदालतले उक्त मुद्दा फिर्ता गर्ने निर्णय कार्यान्वयन गर्न अस्वीकार गरेका छन् ।
महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध नै सर्वोच्चमा मुद्दा रहेकाले उक्त फैसला नाहुन्जेलसम्म रविविरुद्धको मुद्दा फिर्ता नलिन कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले आदेश दिएको छ । यसअघि जिल्ला अदालत रुपन्देहीले रविविरुद्धको सोही प्रकृतिको मुद्दा फिर्ता लिन अस्वीकार गरेको थियो ।
बालेनको नागरिकतामाथि पनि प्रश्न !
रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका नेता बालेन शाहको नागरिकतामा राखिएको विवरणको विषयलाई लिएर पनि विभिन्न टिप्पणी भइरहेका छन् । बालेनले नागरिकताको प्रतिलिपि लिँदा मेधेशी पहिचानको ‘साह’लाई मोडेर ठकुरी वा अन्य जातिको पहिचानको ‘शाह’ बनाएको भन्दै उनीमाथि विभिन्न टिप्पणी भइरहेका हुन् । बालेनले २०६३ पुस ६ मा लिएको नागरिकतामा मधेशी पहिचानकै थर ‘साह’ लेखिएको भएपनि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०७९ असार १९ गते प्रथम प्रतिलिपि लिँदा उनले अन्य पहिचानको शाह बनाइएको दावी गरिएको छ । यही विषयलाई लिएर बालेनमाथि पनि नागरिकता र्कीर्ते गरेको भनि आशंका गरिँदै आएको छ ।
मुख्यतः बालेनले भावी प्रधानमन्त्रीको दावीसहित मधेशमा गएर मैथिली भाषामै सम्बोधन गरेपछि उनको नागरिकता विवरणमाथि पनि प्रश्न उठ्न थालेका हुन् । यदी उजुरी र अनुसन्धान भएमा बालेनको थर विवादको थप रहस्य खुल्ने नै छ । अर्कोतर्फत बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार नै बनेर हिँडिरहँदा उनले सार्वजनिका प्रश्न र बहसलाई छल्दै आएको भनेर पनि उनीमाथि अनेकौँ प्रश्न उठिरहेका छन् । गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा माहोललाई भड्काउने स्टाटस लेखेको भनेर बालेनमाथि गम्भीर प्रश्न पनि उठ्दै आएका छन् । तर बालेनले यो विषयसहित भावी राजनीतिक एजेण्डाबारेमा खुला बहस गर्न चाहिरहेका छैनन् । रविविरुद्धको मुद्दासँगै बालेनको यो चरित्रले पनि रास्वपामाथि अन्योलता र आशंका जन्मिरहेका हो ।
