News 24 Television
मतदाता फागुन २१ को व्यग्र प्रतिक्षामा, सबैभन्दा बढी मतदान हुने आयोगको दाबी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाताहरु मतदान गर्ने दिनको व्यग्र प्रतिक्षामा रहेको बताएका छन् ।

१० औँ निर्वाचन दिवसका अवसरमा बिहीवार आयोजित कार्यक्रममा उनले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा बढी मतदान हुने बताएका हुन् । उनले आसन्न निर्वाचनमा सबैभन्दा बढी मतदान हुने र मत बदरको संख्या पनि सबैभन्दा कम हुने दाबी गरे । खसेको मतमध्ये लगभग सबै सदर हुने आयोगको अपेक्षा रहे पनि केही प्रतिशत बदर हुनसक्ने उनको भनाई छ । अघिल्ला निर्वाचनको तुलनामा निकै कम मत बदर हुने उनले बताए ।

आयोगले सञ्चालन गरिरहेको मतदाता शिक्षा कार्यक्रमले पनि मत बदर नहुने गरी मतदान गर्ने तरिका सिकाइएको उनको भनाइ छ । तर मतदातालाई मतदानस्थल वा मतदान केन्द्रसम्म लैजाने वातावरण बनाउन भने सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनले बताए । राजनीतिक दल, दलका उम्मेद्वार, नेता तथा कार्यकर्ताहरूले मतदातामैत्री वातावरण सिर्जना गर्न विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

भण्डारीले भने, ‘राजनीतिक दल, दलका उम्मेद्वार, दलका नेता कार्यकर्ता सबैले मतदातामय वातावरण बनाउनुपर्छ । मतदाताहरु मतदान गर्न मतदातास्थलमा पुग्ने वातावरण सृष्टि भएन भने मतदान प्रक्रियामा आउनुहुने मतदाताहरु पनि नआएर चुप लागेर बस्दिन सक्ने हुन्छ । हाम्रो आयोगको के रिसर्च छ भने यसपटकको निर्वाचनमा सबैभन्दा बढी मतदान हुन्छ । मतप्रतिशत धेरै खस्छ र मत बदरको प्रतिशत पनि साह्रै कम हुन्छ । खसेको मत लगभग सबै सदर हुन्छ, बदर हुँदैन भन्ने हामी विश्वास लिएर बसेको छौँ । केही प्रतिशत बदर होला तर पहिलाको तुलनामा यसपटक मतदाताहरु पनि असाध्यै चनाखो भएर बस्नुभएको छ । कतिबेला मतदानको दिन आउँला र मतदान गरौँला भनेर व्यग्र प्रतिक्षामा हुनुहुन्छ । हाम्रा स्वयंसेवकहरुले पनि मतदाता शिक्षा संचालन गर्दा मत बदर नुहनेगरि गर्न सिकाउनुभएको छ ।’ 

निर्वाचन आयोगले विहीवार एक कार्यक्रमको आयोजना गरी १० औँ निर्वाचन दिवस मनाएको हो । सो अवसरमा आयोगले स्मारिका समेत सार्वजानिक गरेको छ । आयोगले निर्वाचन दिवसको अवसरमा प्रदान गर्ने पुरस्कार भने आगामी वैशाख १ गते विशेष कार्यक्रमको आयोजना गरी सार्वजानिक गर्ने जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update