News 24 Television
जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभूत मूल्य-मान्यतामा सम्झौता गरिँदैन : ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता र दलहरूबीचको सहकार्य अनिवार्य रहेको बताएका छन् ।  साथै जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता नगर्ने पनि उनले बताए ।

भदौ २४ को घटनालाई राष्ट्रिय अस्तित्वमाथिको प्रहार भन्दै उनले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र शान्ति-सुव्यवस्था कायम गर्न एमाले नेतृत्वको आवश्यकता औंल्याए । अध्यक्ष ओलीले पछिल्लो समय राजनीतिक दलहरूबीच देखिएको सहकार्यलाई अस्थिरता अन्त्य गर्ने प्रयासको रूपमा व्याख्या गरेका छन् । ठूला दलहरू मिल्नु संकटको कारण नभई बरु अस्थिरताको चक्र रोक्न गरिएको कदम भएको उनको दाबी छ ।

ओलीले  भने, 'संविधान जारी हुनुअघि मात्र होइन त्यस पछि पनि दलहरु बीच कटुता र बेमेल रहिरह्यो । सरकार बनाउने र ढाल्ने अस्वस्थ दौडले जनतामा निराशा बढायो। त्यो निराशा अन्त्य गर्न दलहरु बीच सहकार्यको प्रक्रिया थालिएको थियो । पछिल्लो पटक ठूला पार्टीहरु मिलेका कारण समस्या आएको हो कि भन्ने धेरैको प्रश्नमा म यहाँ स्पष्ट पार्न चाहन्छु । ठूला पार्टी मिलेकै कारण आजको संकट आएको होइन । संकट त एकता फुटाउन र अस्थिरताको चक्र फेरि चलाउन निम्त्याइएको हो । संवैधानिक प्रक्रियाबाट स्थिर सरकार नढल्ने भए पछि खोजिएको अर्को बाटो भदौ २३ र २४ गतेको घटना हो । हामीले बारम्बार एउटै कुरामा जोड दिँदै आएका छौं नीति र राजनीतिमा स्थिरता चाहिन्छ । स्थिरता नभए विकासको गति रोकिन्छ र अर्थतन्त्र प्रति भरोसा रहँदैन । देशलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने बाटोमा सबै भन्दा ठूलो तगारो राजनीतिक अस्थिरता नै हो । त्यसैले वैधानिक सीमा भित्र रहेर स्थिरताको लागि सक्दो प्रयास गर्नु गलत थिएन होइन । निराशा हटाउन समृद्धिको सपना देख्नु अपराध थिएन र होइन । जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता हुँदैन गरिँदैन ।'

विगतका घटनाक्रमहरूको विश्लेषण गर्दै ओलीले भदौ २४ गतेको घटनालाई नेपालको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमणको संज्ञा दिए । उनले अपराधी तत्वहरूले ‘नयाँ शक्ति’को मुखुण्डो लगाएर देशविरुद्ध अपराध गरिरहेको आरोप समेत लगाए । त्यस्ता शक्तिहरूलाई समयमै चिन्नुपर्नेमा उनकाे जोड छ । नयाँ भनिएका पात्रहरूले स्थानीय र संघीय तहमा आफ्नो क्षमता देखाइसकेको भन्दै उहाँले एमालेको ट्रयाक रेकर्ड सुशासन र विकासका लागि प्रमाणित भएको बताए । उनले सिंहदरबार, अदालत र संसद भवन लगायतका क्षतिग्रस्त संरचनाहरूको तत्काल पुनर्निर्माण गर्नुपर्ने जिम्मेवारी रहेको पनि बताए । 

उनले भने, 'मित्रहरु, अहिले नयाँ कि पुरानो भन्ने बहस पनि गर्ने गरिन्छ तर आम मतदाताले देखि नै सक्नुभएको छ नयाँ भनिएका धेरै पात्रहरुले स्थानीय वा संघीय सरकारमा बसेर आफ्नो क्षमता र हैसियत देखाइसकेका छन् । एमालेसँग विगतका कामका अभिलेखहरु छन् । आन्दोलनमा मात्र होइन नीति, सुशासन र विकास निर्माणमा पनि हाम्रो कार्यशैली पनि जनताले चिनेका छन्। लक्ष्य तोक्ने, समय सीमा तोक्ने, काम शुरु गर्ने र काम पूरा गर्ने । कागजमा होइन व्यवहारमा आज हाम्रा सामु अर्को जिम्मेवारी थपिएको छ । सिंहदरबार, अदालत, संसद भवन र अन्य जलाइएका संरचनाहरुको पुनः निर्माण गर्नु छ । निजी र व्यावसायिक क्षेत्रको ढलेको मनोबल उठाउनु छ। शान्ति सुव्यवस्था प्रति भरोसा फर्काउनु छ । यो काम भावनाले मात्रै होइन अनुशासन, योजना तर्जुमा र त्यसको कार्यान्वयनले हुन्छ । विगतका ट्र्याक रेकर्डले बोल्छ यी काम एमालेले मात्रै गर्न सक्छ । दिदीबहिनी तथा दाजुभाइहरु, एकचोटि दोहोर्याएर भन्छु भदौ २४ गतेको महाविनाश अप्रत्याशित घटना होइन । नेपाल राष्ट्रको सार्वभौम सत्ता र अस्तित्व माथिको योजनावद्ध आक्रमण हो। राष्ट्रका विरुद्ध यति ठूलो अपराधको अनुहार छोप्न, यो महाअपराधको अनुहार छोप्न त्यस घटनामा सामेल केही तत्वहरुले नयाँ शक्तिको मुखुण्डो लगाएका छन्। हामीले तिनलाई चिन्न ढिलो गर्नु हुँदैन ।' 

ओलीले निजी र व्यावसायिक क्षेत्रको गिरेको मनोबल उकास्न र समाजमा शान्ति सुव्यवस्थाको प्रत्याभुति दिलाउन एमालेले ठोस योजना र अनुशासनका साथ काम गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । उनले लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा कुनै पनि सम्झौता गर्न नसकिने स्पष्ट पारे । राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षाका लागि उत्तेजनामा नभई निर्माणको पक्षमा उभिन सबैलाई आह्वान समेत गरे ।

प्रकाशित मिति: बिहीबार, फागुन ७, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update