सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र जोगाउने जिम्मा जनताको भएको बताएका छन् । बिहीवार सुर्खेतमा आयोजित कार्यक्रममा उनले लोकतन्त्रको ठेक्का कुनै नेता वा दलले लिन नपर्ने बताएका हुन् ।
एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै लोकतन्त्रकाे खतरा हेलिकप्टरबाट भागेसँगै टरेर गएको बताए । उनले भागेको हेलिकप्टर फेरि सिंहदरबारमा ल्यान्ड नभएसम्म लोकतन्त्र सुरक्षित हुने दाबी गरे । लोकतन्त्रको धेरै चिन्ता लागेमा सबै एकजुट भएर रास्वपासंग प्रतिष्पर्धामा उत्रिन पनि उनले आग्रह गरे ।
लामिछानेले रास्वपा लोकतन्त्रप्रति प्रतिवद्ध रहेको भन्दै शान्तिपूर्ण निर्वाचनको प्रत्याभुति दिन सरकारसँग माग गरे । निर्वाचनबाटै देशको भाग्य बदल्ने काममा आफूहरु लागेको उनको भनाई छ । उनले निर्वाचनले निकास नदिने भएकोले सार्नुपर्छ भन्ने आवाज सुनेको भन्दै चुनावले निकास दिँदैन भने के ले निकास दिन्छ ? भनी प्रश्न समेत गरे । उनका अनुसार लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति नै जनताको मताधिकार हो ।
सभापति लामिछानेले भने, ‘अहिले चुनाव गर्न हुँदैन, चुनाव सार्नुपर्छ भन्ने कुराहरु पनि कता कता सुनेको छुँ । चुुनावले निकास दिदैन भन्ने कुरा सुनेको छु, चुनावले निकास दिँदैन भने के ले दिन्छ निकास ? लोकतन्त्रको सबैभन्दा ठूलो तागत भनेको जनताको तागत हो । जनताले भोटबाट आफ्नो तागत देखाउने यो निर्वाचनले निकास दिन्न भने के ले दिन्छ, निकास ? आन्दोलनले ? म कर्णालीबाट एउटा अफर दिन्छु, रोडबाट भए रोडबाट, भोटबाट भए भोटबाट आउनुस् । हामी चाहन्छौँ भोटबाट फेर्न । रगतको एउटा थोपा चुहाउन चाहँदैनौँ । लोकतन्त्रलाई खतरा हुन्छ, भनिरहेका छन् मान्छेहरु, जनता जागेपछि तपाईहरुलाई लाग्यो लोकतन्त्रलाई खतरा छ । यतिवेला जनता जागेका छन्, जनतले बुझेका छन्, लोकतन्त्र जोसबाट खतरा थियो, त्यो खतरा हेलिकप्टर चढेर भागेको छ । लोकतन्त्रलाई खतरा तब हुन्छ, जब त्यो हेलिकप्टर सिंहदरबार या बालुवाटारमा ल्याण्ड हुन्छ । जता ल्याण्ड हुन्छ, होस् हामीलाई भन्नु केही छैन, तर जनताको भाग्य फेर्ने र बनाउने सिंहदरबारमा ल्याण्ड नहोस्, त्यतिभए पुग्छ । जनताको परिवर्तनको यो आगोलाई कसैले चुनौती नदियोस् । लोकतन्त्रलाई खतरा छैन, हामी जोगाउँछौँ । कुनै नेताले ठेक्का लिनुपर्छ, लोकतन्त्रको ? यो देशको लोकतन्त्रको ठेक्का कुनै नेताले, कुनै पार्टीले लिनुपर्दैन, लोकतन्त्र जोगाउने जनता छन् । लोकतन्त्र जोगाउने जिम्मा जनताको हो, लोकतन्त्रप्रति हाम्रो विश्वास छ ।'
आफूहरु निर्वाचनबाट जनताकाे भाग्य बदल्ने काममा लागिरहेकाे दाबी गर्दै लामिछानेले जनता जागेकाे बेला कचकच गर्न नपाएने समेत बताए । उनले भने, 'शान्तिपुर्ण निर्वाचनको प्रत्याभुति सरकारले देओस्, रास्वपा लोकतन्त्रको विधि मानेर लोकतान्त्रिक मूल्य र मान्यतामा अडिक रहेर काम गर्छ । रास्वपासंग डराउनुपर्ने जो होस्, उही मात्रै डराओस्, जनता डराउनुपर्दैन ।'
उनले पछाडी परेको कर्णाली प्रदेशबाट वाचापत्र सार्वजानिक गरेर नयाँ सन्देश दिएको पनि दाबी गरे । अब कुनै क्षेत्र पनि पछाडि नपर्ने उनको भनाई छ ।
