काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अब ११ दिन मात्रै बाँकी छ । सरकारले निर्वाचनको सबै प्रवन्ध पनि मिलाइसकेको छ । यद्यपि मुलुकमा अझै निर्वाचन हुन नसक्ने भनेर हल्ला मच्चिएका छन् । मुख्यतः केही निर्वाचन विरोधी दल र पूर्वराजाको सम्बोधनले निर्वाचन नहुने चर्चालाई थप बल पुगेको हो । यद्यपि भवितव्य ठूलै घटनाबाहेकको अवस्थामा निर्वाचन नहुने अवस्था छैन । तर निर्वाचको वातावरण बनिरहेकै अवस्थामा पनि किन निर्वाचन हुन नसक्ने चर्चा चलिरहेको छन् ? यो निकै पेचिलो बनिरहेको छ ।
निर्वाचन नचाहने शक्ति को ?
मुख्यतः वर्तमाना राजनीनितिक प्रणाली र व्यवस्थाले मुलुकलाई निकास दिँदैन भन्ने धारका राजनीतिक दलहरु निर्वाचन हुँदैन भन्ने हल्ला मच्चाइरहका छन् । जुन समूहलाई निर्वाचन आवश्यकता छैन र उनीहरुको राजनीतिक एजेण्डाले नै पनि निर्वाचनलाई आवश्यकता ठान्दैन । अर्कोतर्फ राजावादी संगठन र समर्थकहरुले पनि निर्वाचन नहुने हल्ला मच्चाइरहेका छन् । मुख्यतः प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वजारा ज्ञानेन्द्र शाहले निर्वाचनले मुलुकको वर्तमान समस्या हल नगर्ने भनेर निर्वाचन नै स्थगन गर्नुपर्ने धारणा राखेका थिए ।
पूर्वराजाको यो सन्देशपछि निर्वाचनको विपक्षमा उभिने शक्तिहरु नै अहिले निर्वाचन हुनै नसक्ने हल्ला मच्चाइरहेका छन् । राप्रपाले त पूर्वराजाको अभिव्यक्तिलाई नै समर्थन गर्दै आगामी निर्वाचन स्थगन नै गर्ने प्रस्ताव अघि सारेको छ ।
एमालेको पनि अनिच्छा !
सिधा हिसावमा नेकपा एमाले पनि निर्वाचनको पक्षमा देखिँदैन । सुरुका दिनमा निवार्चन नै हुन नसक्ने भनेर दावी गर्दै आएका एमाले अध्यक्ष केपी शर्मा ओली बाध्यात्मक रुपमा निर्वाचनमा होमिइरहेका छन् । जिम्मेवार दल भएकै कारण पनि ओलीले नैतिक रुपमा निर्वाचन स्वीकार गर्नुपर्ने बाध्यता आइपरेको छ । ओली सुरुमा निर्वाचनको पूरापुर विपक्षमै थिए । पछिल्लो समय पनि ओलीमा अझै निर्वाचन हुनैपर्छ भन्ने अडान देखिँदैन । बरु ओली अझै निर्वाचनको अनिश्चय प्रकट गर्दै आएका छन् ।
एमाले नेतृत्वकै सरकार रहँदा जेनजी आन्दोलन भएका कारण अनेकौँ प्रश्न र आलोचना रहनुले पनि ओली तत्काल निर्वाचन हुन नहुने पक्षमा जोड दिँदै आएका छन् । सुरुका दिनमा ओलीले ससद पुनस्र्थापनामा जोड दिएपनि सर्वोच्चले तत्काल यसबारे फैसला गर्न चाहेको छैन । आम नागरिकहरु पनि संसद पुनस्र्थापना भन्दा नयाँ म्याण्डेटको मागमा छन् ।
रास्वपामाथि खनिँदै ओली !
पछिल्लो समय एमालेका लागि थ्रेट बनेको रास्वपाप्रति अध्यक्ष ओली निर्मम बन्दै आएका छन् । ओलीले पछिल्लो केही अराजक गतिविधिहरुलाई जोडेर रास्वपा चुनाव भाँड्ने खेलमा लागेको आरोप लागाइरहेका छन् । शनिबार गृहजिल्ला झापा पुगेका ओलीले रास्वपा मुलुकमा अप्रिय घटना घटाएर निर्वाचान भाँड्ने षड्यन्त्र गरिरहेको भन्दै पटक पटक अभिव्यक्ति दिइसके ।
तर वर्तमान अवस्थामा ओलीले नै भनेजस्तो निर्वाचन नै रोकिनसक्ने खालका कुनै ठूला अप्रिय घटना भएका छैनन् । निर्वाचनको पूर्वसन्ध्यामा दलिय र वैचारिक टसल हुनु सामान्य नै मानिन्छ । यही समस्यालाई देखाएर निर्वाचन नै नहुने षड्यन्त्र भयो भन्ने ओलीको अभिव्यक्ति व्यवहारिक देखिँदैन ।
