काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभन देखाई नेपाली नागरिकलाई दक्षिण–पूर्वी एशियाका विभिन्न देशमा पुर्याएर ‘अनलाइन स्क्यामिङ’ (ठगी) कार्यमा फसाउने कार्य भयवह रुपमा बढ्दै गएको छ ।
मुलुकमा रहेको बढ्दो बेरोजगारीको फाइदा उठाउँदै नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभनमा विभिन्न गिरोहले दक्षिण–पूर्वी एसियाका थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस, भियतनामलगायत देशमा पुर्याएर ठगी धन्दामा लगाउने गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बुधवार मन्त्रालयमा आयोजित प्रेस बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीले नेपाली नागरिकहरु दक्षिण–पूर्व एशियाका लाओस, म्यानमार, थाइल्याण्ड तथा कम्बोडियाका विभिन्न क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा पुग्ने वन्धक तथा शोषणमा पर्ने गरेको बताए । उनका अनुसार कम्प्युटरसम्बन्धी ज्ञान भएका संयुक्त अरब इमिरेट्स तथा मलेसियामा लामो समयदेखि कार्यरत नेपालीहरु यस्ता गिरोहको निशानामा पर्ने गरेका छन् ।
आकर्षक तलव र सुविधाको आश्वासन दिई उनीहरुलाई अनलाइन बेटिङ, क्यासिनो, गेमिङ, फिसिङ तथा क्रिप्टो ठगीसम्बन्धी गतिविधिमा संलग्न गराउने र तोकिएको लक्ष्य पूरा गर्न नसकेको अवस्थामा शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको अधिकारीले जानकारी दिए ।
ठगीको जालोमा पर्ने पीडितहरुलाई निश्चित कार्यलक्ष्य (टार्गेट) तोकिने र पूरा गरे पारिश्रमिक दिने तर लक्ष्य पूरा गर्न नसके विभिन्न किसिमले यातना मन्त्रालयमा प्राप्त उजुरीमा उल्लेख गरिएको बताए । उनले अनलाइन ठगी केन्द्रमा फसेका नेपालीहरुको उद्धारका लागि थाइल्याण्ड र म्यानमारस्थित नेपाली राजदुतावासमार्फत सक्रिय पहल भइरहेको समेत जानकारी दिए ।
अधिकारीकाअनुसार सम्बन्धित देशका सरकारी निकायसँग समन्वय गर्दै यस्ता आपराधिक गतिविधि निरुत्साहित गर्न कूटनीतिक प्रयास भइरहेको छ । हालसम्म थाइल्याण्ड र म्यानमारका स्क्यामिङ केन्द्रबाट ३ सय २ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । थप ३०९ जना उद्धार प्रक्रियामा रहेका रहेको त्यसमध्ये ३० जना म्यानमारस्थित एक स्क्यामिङ सेन्टरमा पर्खाइमा रहेको उनले बताए ।
यस्तै, गैरकानूनी रूपमा म्यानमार प्रवेश गरेका १८ जना नेपालीलाई त्यहाँको अदालतले एक वर्षको जेल सजाय सुनाएको तथा उनीहरुलाई रिहा गराउन औपचारिक पत्र पठाउने प्रक्रिया अगाडि बढाइएको अधिकारीले जानकारी दिए ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले कम्बोडियामा मात्रै २ सय ४८ जना नेपालीहरू हाल उद्धारको पर्खाइमा रहेको बताए । उनका अनुसार सन् २०२२ यता हालसम्म ३ सय ९२ जना नेपालीको उद्धार गरिसकिएको भएपनि ती देशहरूमा अझै कति नेपाली फसिरहेका छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन । मन्त्रालयले यस अवधिमा ५ वटा ट्राभल एडभाइजरी र १२ वटा विज्ञप्ति जारी गरिसकेको समेत क्षेत्रीले जानकारी दिए । उनले २० देखि २५ वर्ष उमेर समूहका र कम्प्युटर तथा अंग्रेजी भाषाको ज्ञान भएका युवाहरूलाई लक्षित गरी गिरोहले ठगीका कार्यहरु गर्ने गरेको बताए । अधिकांश पीडितहरू गाउँघरका आफन्त वा चिनजानकै व्यक्तिबाट स्क्यामिङ सेन्टरमा पुग्ने गरेको पाइएको उनकाे भनाइ छ ।
वैदेशिक रोजगारीको नाममा हुने यस्ता अनलाइन ठगी र साइबर दासताबाट जोगिन युवाहरूलाई विशेष सचेत रहन सरकारले आग्रह गरेको छ ।
