News 24 Television
स्थानीयता र मौलिकतालाई जोड्ने बालेन प्रयास, सम्बोधन पनि सभ्य !

काठमाडौँ । चुनाव नजिकिँदै जाँदा रास्वपा वरिष्ठ नेता बालेन शाह देशव्यापी अभियानमा छन् । चुनावी अभियनकै क्रममा फागुन ६ गते धनगढीको सभालाई सम्बोधन गरेका बालेनले त्यसपछि सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरिय सभालाई सम्बोधन गरे । यसपछि मंगलबार इटहरीमा आयोजित सभालाई बालेनले सम्बोधन गरेका छन् । त्यसअघि उनले सबैभन्दा पहिले माघ ५ गते जनकपुरमा आयोजित सभालाई सम्बोधन गरेका थिए । बालेनले प्रायजसो सबै भम्बोधनमा स्थानीय उत्पादन, स्थानीय भाषा, धर्मसंस्कृति, पर्यटन  र प्रकृतिक सम्पदालाई नै प्राथमिकता दिएका छन । 

इटहरी सम्बोधनमार्फत दिन खोजेको सन्देश  

बालेनले इटहरीको सभामार्फत कोशीको कृषि उत्पादन र मुलुकको आत्मनिर्भरताबारे चर्चा गरेका छन् । उनले झापा, मोरङ, सुनसरीको धान र पूर्वी पहाडी जिल्लाका तरकारी उत्पादन तथा बजारीकारणको सम्भावनालाई दर्शाए । उनले उत्पादन मात्रै होइन, स्थानीय समुदायका धार्मिक आस्था र संस्कृतिमा आधारित चर्चित पाथीभारा मुकुम्लुङ र खुवालुङको पनि चर्चा गरेका छन् । यसका अलावा उनले कोशीको पर्यटन र उद्योग विकासका योजना पनि सुनाए । जसले बालेनमा आत्मनिर्भरता र सांस्कृतिक चेत रहेको प्रष्ट बुझाउँछ । 

इटहरीमा मात्रै होइन, मधेश, सुदुरपश्चि र कर्णालीमा पनि स्थानीयतालाई नै केन्द्रमा राखेर बालेन पेश भएका थिए । बालेनले धनगढीको सम्बोधनमा सुदुरपश्चिमका पर्यटकीय संभावना  तथा विकासका चर्चा गरे । जहाँ बालेनले भनेका थिए – ‘रामारोशन यहीँ छ, खप्तड नेशनल पार्क यहीँ छ किन बनाउनु प¥यो स्विटजरल्याण्ड ?  

यस्तैगरी बालेनले सुर्खेतको सम्बोधनमा पनि कर्णाली नदीको लम्बाइ र रारा तालको गहिराईको चर्चा गरेका थिए । कर्णालीका प्राकृतिक सौन्दर्यसँगै स्याउ र मार्सी धानको व्यावसायिक उत्पादनलाई प्राथमिकता दिने एजेण्डा पस्किएका बालेनले सुन्दा सामान्य लाग्ने तर जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरु उठान गरिरहेका छन् । 

बालेन–रविका फरक रणनीति !

रास्वपा भित्रका सहकर्मी नै भएपनि सभापति रवि लामिछाने र वरिष्ठ नेता बालन शाहको सम्बोधनमा फरकपना देखिन्छन् । जुन रणनीतिक पनि हुनसक्ने व्याख्यासमेत भइरहेका छन् । रविले सम्बोधनमार्फत अन्य दलका नेताहरुलाई जवाफ सहित तीखो टिप्पणी गर्दै आएपनि बालेनले भने अहिलेसम्म कुनै नेताप्रति सिधै आलोचना गरका छैनन् । र, कुनै जवाफ पनि फर्काएका छैनन् । हरेक सम्बोधनमा बालेन आफ्नो योजना र धारणा मात्रै पेश गरिरहेका सुनिन्छन् । तर रवि भने अन्य दलका नेताहरुको आलोचनामा पनि उत्रिँदै आएका छन् । जस्तैकी रविले झापा पुगेर एमाले उम्मेदवार देवराज घिमिरे तथा काँग्रेसकै सभापति गगन थापामाथि पनि विभिन्न आलोचनासहित प्रश्न उठाए । 

रविको प्रश्नले एमाले र काँग्रेस पङ्ति नै तरगित बनेको छ । तर सँगैमा बालेन भने कुनै व्यक्ति विषेशको टिप्पणीमा नभइ मुख्य मुद्धामा केन्द्रीत रही सभ्य र सुसंस्कृत सम्बोधन गरिरहेका छन् । यो कदम रास्वपाको रणनीति हो वा दुई नेताका यथार्थ चित्रण ? यो भने प्रष्ट हुन बाँकी छ । 
 

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update